१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
प्रेम गौतम काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड–नेपालको जोड :  कांग्रेससँग सिट बाँडफाँड अघि समाजवादी केन्द्र 

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१५:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कांग्रेससँग सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्र बनाउने गृहकार्यमा जुटेका छन् । पाँचदलीय गठबन्धनभित्र रहेका कांग्रेसबाहेकका शक्ति र अन्य वाम शक्तिसमेत समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक सिट बाँडफाँड गर्ने उनीहरूको योजना छ ।

मूलतः माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानले समाजवादी केन्द्र निर्माणको गृहकार्य थालेका हुन् । तीन पार्टीबीच एकताको प्रयास गर्ने र तत्काल एकता सम्भव नभए एकता वा तालमेल संयोजन समिति बनाएर निर्वाचनमा जाने गरी छलफल भएको छ । 

एमालेबाहेकको वाम गठबन्धनको प्रयास गर्ने र कांग्रेससँगको गठबन्धनलाई पनि कायमै राख्ने नेताहरूको योजना छ । सिट बाँडफाँड टुंग्याउनुपूर्व समाजवादी केन्द्रले निर्वाचन जित्ने र जिताउन सक्ने क्षेत्रको अध्ययन गर्ने तयारी भएको एक नेताले बताए । ‘यसले कांग्रेसमाथि दबाब बनाउन र सम्मानजनक सिट बाँडफाँड गर्न सहज हुन्छ भन्ने लागेको छ,’ एकीकृत समाजवादीका एक पदाधिकारीले भने ।

झलनाथ खनाल, सम्मानित नेता, एकीकृत समाजवादी
सिंगै राष्ट्रलाई एक बनाउने दिशामा छलफल भइरहेको छ, एउटै समाजवादी केन्द्र बनाउने प्रयासमा छौँ । छलफलमा राम्रो प्रगति भइरहेको छ ।
 

जसपा र जनमोर्चालगायतसँग मोर्चा बनाउने गरी छलफल अघि बढेको छ । जसपाको डा. बाबुराम भट्टराई पक्षलाई पनि यही मोर्चामा सामेल गर्ने तयारी छ । यसरी अगाडि बढ्दा कांग्रेससँग प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडमा सहज हुने नेताहरूको विश्वास छ । ‘कांग्रेसले बहुमत सुरक्षित गर्ने गरी गठबन्धन गर्ने बताएको छ,’ एक नेताले भने, ‘राजनीतिमा जता बढी लाभ हुन्छ, त्यही गर्ने हो । अरू शक्ति सशक्त नभई कांग्रेस लचिलो हुँदैन, त्यसकारण समाजवादी गठबन्धन हुन सक्छ ।’

समाजवादी केन्द्र निर्माणकै सिलसिलामा मंगलबार विभिन्न चरणमा नेताहरूबीच संवाद भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र अभियानका संयोजक वामदेव गौतमबीच समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल भएको छ ।

मंगलबार साँझ माओवादी केन्द्रको संसदीय दल सिंहदरबारमा भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन् । ‘नेकपा कालका बहुमत सचिवालय सदस्य दोस्रोपटक बस्यौँ । कांग्रेस र एमालेले गरेका निर्णयबारे चर्चा भयो । वर्तमान गठबन्धनलाई कायमै राखेर जानुपर्छ भन्नेमा हामी कसैको विमति छैन । स्थानीय तह निर्वाचनको अनुभवलाई समेत ध्यान दिएर कसरी प्रभावकारी बनाउने भन्नेबारे चर्चा भयो,’ बैठकपछि प्रचण्डले भने । 

विचार मिल्नेबीच एकताबारे पनि छलफल भएको उनले जानकारी दिए । ‘हिजो हामी एउटै पार्टी (नेकपा)मा थियौँ । हामी हिजोको नेकपाको सचिवालयका बहुमत छौँ । त्यसकारण विचार मिल्नेसँग एकताबारे पनि छलफल गरिराखेका छौँ । त्यो भनेको वर्तमान गठबन्धनविरुद्ध भने होइन,’ प्रचण्डले स्पष्ट पारे । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि अहिलेको गठबन्धन कायमै राखेर अगाडि बढ्ने बताएका छन् । उनले विचार मिल्नेहरू एक हुने प्रयास गरेर अघि बढ्ने बताए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले छलफलमा राम्रो प्रगति भएको प्रतिक्रिया दिए । ‘सिंगै राष्ट्रलाई एक बनाउने दिशामा छलफल भइरहेको छ, एउटै समाजवादी केन्द्र बनाउने प्रयासमा छौँ । छलफलमा राम्रो प्रगति भइरहेको छ,’ उनले भने । 

प्रचण्ड र बाबुरामबीच भेटवार्ता
समाजवादी केन्द्र निर्माणकै विषयमा माओवादी अध्यक्ष प्रचण्ड र जसपा नेता एवं पूर्वप्रधानमन्त्री भट्टराईबीच पनि छलफल भएको छ । माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र भट्टराईबीच छलफल भएको हो । भट्टराईलाई जसपाको उपेन्द्र यादव पक्षले केही दिनअघि संघीय परिषद् अध्यक्षबाट पदमुक्त गरेको थियो । भट्टराईले आफूपक्षीय केन्द्रीय परिषद्को विस्तारित बैठक गरेर विचार मिल्ने शक्तिसँग तालमेल गरेर अगाडि बढ्ने नीति लिएका छन् । 

माओवादी केन्द्रको केन्द्रीय कमिटी 
बैठकमा प्रचण्डले गैरकांग्रेस, गैरएमालेको समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि केन्द्रीय परिषद् बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा समाजवादी विचारधारा बोक्ने दलबीच सहकार्य गर्ने प्रस्ताव गरेका थिए । 

समाजवादी केन्द्र निर्माणकै सिलसिलामा एकता अभियानका संयोजक गौतमले परामर्श थालेका छन् । गौतमले बुधबार नेकपा कालमा आफूनिकट मानिएका केशवलाल श्रेष्ठ र बलराम बास्कोटासँग छलफल गरेका छन् । गौतमले यसअघि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग वाम एकताबारे छलफल गरेका थिए ।

प्रचण्ड र नेपाल वाम एकतामा सकारात्मक रहे पनि ओलीसँग विश्वासको अभाव रहेको गौतमले बताएका छन् । ‘केपी, माधव र प्रचण्डसँग कुराकानी भयो । ओलीसँग विश्वासको अभाव देखियो, त्यसकारण एमालेबाहेकको वाम शक्ति एकता गरेर अगाडि बढ्ने प्रयास भइरहेको छ,’ गौतमनिकट नेता बताउँछन् । 

त्यसैबीच एकीकृत समाजवादीले वर्तमान पाँचदलीय गठबन्धन कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको ३२औँ बैठकले वाम एकताको पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार एमालेबाहेकका शक्तिसँग वाम एकताको निम्ति पहल हुनेछ ।

आगामी निर्वाचनमा एमालेको कसैसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल 

विराटनगर/एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने बताएका छन् । प्रेस चौतरी प्रदेश नं. १ ले विराटनगरमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले राष्ट्रियस्तरको गठबन्धनको पक्षमा एमाले नरहेको बताए । नेता पोखरेलले भने, ‘वामगठबन्धन प्रिय लाग्ने शब्द मात्र हुन् । अहिले नै गठनबन्धन हुन सक्दैन ।’

पूर्वउपप्रधानमन्त्री पोखरेलले प्रदेशको नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको बताए । गभर्नर महाप्रसाद अधिकारीसँग जोडिएको एम अधिकारीको प्रसंगबारे उनले भने, ‘राष्ट्रियतासँग जोडिएका कुराहरू केही गोपनीय हुन्छ । त्यसैले धेरै कोट्याउने नगरौँ ।’ 

ad
ad