१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २१:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करार कर्मचारी हटाउने नगरपालिकाको निर्णय, उपप्रमुखले दिइन् पुनर्बहालीकाे निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २१:४२:oo

सिराहाको गोलबजार नगरपालिकाले करारका कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय सार्वजनिक गरेपछि आइतबार आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको छ । नगरकार्यपालिकाको गत ३० असारको निर्णयको आधारमा करार सेवाअन्तर्गत कार्यरत कर्मचारीहरूको १ साउनदेखि म्याद थप नगरिने सूचना जारी गरेपछि आइतबार आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको हो ।

गोलबजार ८ का ७० वर्षीय लखन मण्डलले आफ्नै गाउँ नजिकैको स्वास्थ्य केन्द्रमा आइतबार दिउँसो जँचाउन पुग्दा कर्मचारी नभएर बन्द रहेकाले त्यतिकै घर फर्किनुपरेको बताए । 

करारमा कार्यरत गोलबजार ४, ५, ८ र १० नं. वडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका कार्यालय सहयोगीसहित १२ जना कर्मचारी हटाइएपछि आइतबार दिनभरजसो सेवा अवरुद्ध रहेको स्थानीयले  बताए । चारवटै केन्द्रमा एक अहेव, एक अनमि र एक कार्यालय सहयोगी गरी १२ जना करारका कर्मचारी रहेको नगरका स्वास्थ्य शाखा संयोजक सरोज कर्णले जानकारी दिए । 

नगरका अन्य स्वास्थ्य संस्थामा करार सेवाका ३० जनामध्ये १२ जना सेवा केन्द्र र बाँकी अन्य स्वास्थ्य चौकीहरूका रहेको संयोजक कर्णले बताए । करारका कर्मचारीको म्याद थप नभएपछि स्वास्थ्य चौकीहरूमा रहेका स्थायी दरबन्दीका कर्मचारीहरूको व्यवस्थापन गरेर आधारभूत स्वास्थ्य सेवा केन्द्रको सेवा सुचारु गरिएको कर्णले दाबी गरे । ‘नगरकार्यपालिकाको आकस्मिक निर्णयले समयमा जनशक्ति व्यवस्थापन गर्न नसक्दा केही कठिनाइ मात्र भएको हो,’ उनले भने । 
। 
करारका कर्मचारी आन्दोलित
आफूहरू बिनाकारण निकालिएको भन्दै गोलबजार नगरपालिकाका करार कर्मचारी संघर्ष समितिले करारका कर्मचारी हटाउने अन्यायपूर्ण निर्णय सच्याउन माग गर्दै प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमुख श्यामकुमार श्रेष्ठलाई आइतबार ज्ञापनपत्र बुझाएको छ । नगर कार्यपालिकाले रातारात गरेको अन्यायपूर्ण निर्णयले आफूहरू रोजगारविहीन भएको भन्दै तत्काल काममा फर्किने वातावरण बनाउनुपर्ने मागसहित उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । संघर्ष समितिका संयोजक कसम लामाले कर्मचारीको माग तत्काल सम्बोधन नभए आफूहरू चरणबद्ध आन्दोलनमा जाने बताए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले करारका कर्मचारीहरूको म्याद नथप्ने निर्णय २४ घण्टाभित्र सच्याउन माग गरेको छ । ‘लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन नै नगरी राजनीतिक पूर्वाग्रह र गलत मनसायले गरेको निर्णयको भर्त्सना गर्दछाैँ,’ नगर अध्यक्ष जीवन यादवले भने, ‘तत्काल पुनर्बहाली गर्न दिइएको अल्टिमेटमको उपेक्षा गरिए कडा आन्दोलन गरिनेछ ।’

पुन: बहाली गर्न अधिकृतलाई पत्राचार 
करारका कर्मचारीको करार म्याद नथप्ने विषयमा आफूसँग कुनै सल्लाह नगरेको भन्दै सिराहाको कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले करारका सबै कर्मचारी पुनर्बहाली गर्न प्रमुख प्रशासकीय अधिकतलाई पत्र काटेकी छिन् । नगर कार्यापालिका बैठकको निर्णयले कसैलाई पनि कामकाजबाट हटाउने निर्णय नगरेको भन्दै उनले करारका सबै कर्मचारीलाई पुनःबहाली गराउन अधिकृतलाई पत्र काटेकी हुन् । 

‘एकलौटी रूपमा कुनै छलफल र कार्यसम्पादन मूल्यांकन नै नगरी नगरपालिकाका १५ जना करारका कर्मचारीलाई मात्र म्याद थप नगर्ने ३१ असारको निर्णय भएको देखिँदा कार्यसम्पादन नभएसम्मका लागि करार सेवाका कर्मचारीहरूलाई कामकाजमा पुनर्बहाली गर्नुहुन जानकारी गराइन्छ,’ उपप्रमुखले लेखेको  पत्रमा भनिएको छ । 
  

ad
ad