मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ३२ शनिबार १७:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुराँस गाउँपालिका घटनाले लियो राजनीतिक रूप, कांग्रेसले आगो लगाउने षड्यन्त्र गरेको गाउँपालिका अध्यक्षको आरोप 

Read Time : > 2 मिनेट
२०७९ असार ३२ शनिबार १७:३१:००

दैलेखको गुराँस गाउँपालिकामा करार कर्मचारी हटाउने विषयलाई लिएर भएको आन्दोलनले राजनीतिक रूप लिएको छ । नेपाली कांग्रेस दैलेखका पार्टी सचिव एवं पूर्वगाउँपालिका अध्यक्ष खेमराज ओली र नेपाली कांग्रेस दैलेखका पूर्वपार्टी सभापति कृष्णकुमार बिसीले सुनियोजित रूपमा करार कर्मचारीहरूलाई उचालेर गाउँपालिका तोडफोडसँगै आगजनी गर्ने प्रयास गरेको गाउँपालिकाको आरोप छ । 

पालिकाको दशौँ गाउँसभाबाट गरिएको निर्णयको विषयमा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालालगायत आन्दोलनरत कर्मचारी सबैको रोहवरमा वार्ता गरी करारका कर्मचारी हटाउने अन्तिम निष्कर्षमा पुगेको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीको भनाइ छ । अन्तिम निष्कर्षमा पुगेर कार्यालयबाट बाहिर निस्कने क्रममा बाहिर रहेका करार कर्मचारीहरूलाई खेमराज ओलीले एक्कासि ढुंगामुँढा गर्न लगाएको अध्यक्ष बिसीको आरोप छ । 

अध्यक्ष बिसीले सम्बन्धित सबै पक्षसँग छलफल गरी निष्कर्षमा पुगिसकेको विषयलाई कांग्रेसका स्थानीय नेताले पुनः विवादित बनाएको बताए । ‘कांग्रेस नेताहरूले निर्णय मान्दैनौ भन्दै आन्दोलन उग्र बनाउने अभियान थाल्नुभयो । प्रहरीले सामान्य रूपमा सिठी फुकेर कार्यालय परिसरबाट बाहिर निकाल्दै थियो । एकाएक केही नेताहरूको निर्देशनमा पालिकामा ढुंगामुढा भयो, नयाँ बनाएको हेल्प डेस्क फुटालियो, स्तनपान कक्ष तोडफोड भयो, अध्यक्ष र उपाध्यक्षको कार्यालयमा धावा बोलियो, तोडफोड गरियो । विगतमा गल्ती गरेका फाइलहरूसमेत जलाउने अभियान रहेछ,’ अध्यक्ष बिसीले भने,‘ लेखापाललाई कार्यालयमा थुनियो। हामीलाई पानी पनि खान दिइएन, सहायक प्रमुख जिल्ला अधिकारीमाथि हातपात भयो । नियोजित रूपमा कांग्रेसका नेताहरूले कार्यकर्ताहरू परिचालन गरेर व्यक्ति हत्या गर्नेसम्मका प्रयास गरिएको रहेछ । हामी असुरक्षित छौँ ।’ 

‘सहायक प्रजिअको सुरक्षाका लागि हवाई फायर’
वार्ताका लागि गएका सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत गाउँपालिकाको कार्यकक्षभित्रै राखेर ढुंगामुढासँगै जलाउनेसम्मको अवस्था आएपछि हवाई फायर खोलिएको अध्यक्ष बिसीले बताए । उनका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग आफू असुरक्षित भएको भन्दै रिपोर्ट गरेका थिए । अवस्था जटिल भएपछि फायर खोल्न प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आदेश दिएका थिए । 

कार्यालय परिसरमा ढुंगामुढा गर्दै निर्वाचित जनप्रतिनिधि र प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि रवरको गोली चलाएको प्रहरीले जनाएको छ । 

२० लाखको क्षति
आन्दोलनमा उत्रिएका करार कर्मचारीहरूले गरेको ढुंगामुडा र कार्यालयमा गरिएको तोडफोडबाट पालिकाको भाैतिक संरचनामा क्षति पुगेको छ । सो क्षति मर्मतका लागि करिब २० लाख बढी रकम लाग्ने वडा नं. ८ का वडाध्यक्ष एवं गाउँपालिका प्रवत्ता दीपेन्द्र ओलीले बताए । 

गाउँपालिकाका अध्यक्ष विसीले घटनामा संलग्न सबैलाई कानुन अनुसार कारबाही गरिने बताए । ‘५४ लाख मात्रै राजस्व संकलन हुने पालिकामा पुर्व जनप्रतिनिधिहरुले मनोमानी रुपमा एक वर्षमा तीन करोड ८६ लाख बजेट तलबभत्तामा खर्च गर्ने प्रवृत्ति नियमसंगत नभएको भन्दै हामिले कारार कर्मचारी हटाउने अभियान थालेका हौ । जनसंख्याको आधारमा कर्मचारी राखिने पालिकाको योजना थियो । उनले भने, तर अहिले गलत रूपमा व्याख्या गरिएको छ । यहाँको कर्मचारी म्याद थप बारेमा दलगत रुपमा विभिन्न भ्रामक प्रचार गरिएको छ ।’ 

उनले गाउँपालिकाका कर्मचारीहरूले निवर्तमान अध्यक्षसँग मिलेमतो गरेर गैरकानुनी काम गरेको पनि दाबी गरे । ‘पालिकाका १० जनालाई कार्यालय सहयोगीको नियुक्ति दिईएको छ । कोहीको १४ हजार कोहीको ४० हजारसम्म तलब तोकिएको नियुक्ति कार्यालय सहयोगीको छ तर, कर्मचारीहरुले कार्डको दुरुपयोग गरेर आफैँले आफ्नो पद सृजना गरेका छन्,’ उनले भने । 

गाउँपालिकाका सबै सेवा ठप्प
शुक्रबार साँझ तोडफोड भएको भवनमा काम गर्न सकिने अवस्था नभएको अध्यक्ष बिसीले बताए ।  प्रहरीले घटनाको विवरण संकलन गरेर शनिवार मुचुल्का उठाउने तयारी थालेको छ । प्रहरी मुचुल्का र अन्य कानुनी कारबाहीको प्रक्रिया अघि नबढेसम्म गाउँपालिकाको काम ठप्प हुने अवस्था देखिएको छ । 
गाउँपालिकाले घटनाको छानबिन गरि दोषीलाई कारबाहीको माग गरेको छ ।