Skip This
मध्यतमोर जलविद्युतको सुरुङ निर्माण कार्य पूरा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ असार ३२ शनिबार १३:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यतमोर जलविद्युतको सुरुङ निर्माण कार्य पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार १३:२१:oo

७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमार्ग  निर्माण कार्य पूरा भएको छ। आयोजनाको ड्याम रहने मित्लुङ र पावरहाउस रहने थुम्बाबेँसीसम्मको करिब तीन हजार चार सय मिटर सुरुङमार्ग निर्माण कार्य पूरा भएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रबन्धक मणिराज पोखरेलले दुईवटा कम्पनीमध्ये एकले थुम्बा क्षेत्रबाट र अर्कोले मित्लुङ क्षेत्रबाट सुरुङ खन्दै दुवैतिरबाट जोडेपछि सुरुङमार्ग निर्माणको काम सम्पन्न भएको बताए । सुरुङमार्गको लम्बाइ तीन हजार तीन सय ६७ मिटर, चौडाइ ६ मिटर र उचाइ चार मिटर रहेको प्रबन्धक पोखरेलले जानकारी दिए। यसरी दुईतर्फबाट निर्माण गरिएको सुरुङमार्ग जोडिएपछि आयोजनाको ७१ प्रतिशत काम सकिएको बताइएको छ।

पोखरेलका अनुसार हेडवर्क्सको काम ८० प्रतिशत सकिएको छ भने थिग्राउने पोखरीको काम केही बाँकी छ। तीन सय मिटर लम्बाइ र एक सय मिटर चौडाइको सेटलिङ बेसिनलाई प्राकृतिक विपत्तीबाट जोगाउन अन्डरग्राउन्ड गरिएको छ। फक्ताङलुङ गाउँपालिका–१ सावादिन र मिक्वाखोला गाउँपालिका–२ खोक्लिङमा मुख्य संरचना रहेको विद्युत् आयोजनाको मुख्य कार्यस्थल फुङलिङ नगरपालिका ९ र १० हाङदेवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्रमा रहेको छ।

सुरुमा ५४ मेगावाट क्षमताबराबर विद्युत उत्पादन गर्ने गरी सुरु गरिएको आयोजनाको मुहानस्थल (हेडवर्क्स) केही परिवर्तन भएकाले उत्पादन क्षमता बढेर ७३ मेघावाट पुगेको आयोजना प्रमुख पोखरेलले बताए। निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवर्क्स परिवर्तन गरिएको थियो। 

आयोजनाको फुरुम्बुस्थित मित्लुङनजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण भइरहेको छ। उत्पादिन विद्युत आयोजनाको स्विचयार्डदेखि करिब १२ किलोमिटर लामो २२० केभिए क्षमताको प्रसारण लाइनमार्फत मैवाखोलाको ढुंगेसाँघुमा निर्माणाधीन सबस्टेसनमा पुर्‍याई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको तयारी छ। सबस्टेसनको काम पनि तीव्र गतिमा भइरहेकाले आयोजनाले लक्ष्यअनुसार उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कुनै समस्या नहुने आयोजनाको दाबी छ ।