१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मीका एक सय ६४ स्थान बाढी र पहिराेको जोखिममा 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o८:oo

अधिकांश स्थानीय तहका आश्रयस्थल विद्यालय, समयमै पुनर्स्थापना नहुँदा पहिरोपीडितको बिचल्ली, जोखिम मोलेरै प्रभावित स्थलमै बसोवास गर्न बाध्य

यस वर्ष धेरै पानी पर्ने भएकाले बाढी र पहिरोबाट मानवीय तथा भौतिक क्षति बढी नै हुने अनुमान गरिएको छ । गुल्मी पनि बाढी र पहिरोको दृष्टिकोणले जोखिमपूर्ण जिल्ला हो । विगतका वर्षहरूकै तथ्यांकका आधारमा पनि सत्यवती र इस्मामा पहिरोको कारण १७ जनाले ज्यान गुमाएका छन् । सयौँ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख भएअनुसार गुल्मीका ४० स्थान बाढी र एक सय २४ स्थान पहिरोको जोखिममा रहेका छन् । मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् ।

छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् । अरू स्थानीय तहका थुप्रै स्थान बाढी र पहिरोको जोखिममा छन् । नयाँ जनप्रतिनिधिका नयाँ नीति कार्यक्रममा पहिरो प्रभावितको पुनर्स्थापना वा जोखिम न्यूनीकरणको विषयमा ठोस योजना समावेश छैनन् ।

उपयुक्त संरचना नहुँदा विद्यालय बन्दै आश्रयस्थल
बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना छैनन् । पहिरोपछि दुई वर्षपहिले सत्यवतीको लुम्पेकमा झन्डै भोकमरी भएन । किनकि पहिरोका कारण लामो समय सडक बन्द भए । तत्काल सञ्चालन गर्ने स्थानीय सरकारसँग पहुँच थिएन । जिल्ला प्रशासन कार्यालय गुल्मीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा मुसिकोट नगरपालिकाका  १० स्थान बाढी र १६ वटा गाउँ पहिरोको जोखिममा छन् ।

तर, आश्रयस्थल सवै विद्यालय भवन छन् । जहाँ विस्थापित परिवार राखे विद्यार्थीको अध्ययन प्रभावित हुन्छ । चन्द्रकोट गाउँपालिकाका ६ स्थान बाढी र दर्जनभन्दा बढी गाउँ पहिरोको जोखिममा छन् । आश्रयस्थलको रूपमा विद्यालय, खेलमैदान, चौर र क्याम्पसहरू रहेका छन् । एकपटक ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको सत्यवती गाउँपालिकाले पनि आश्रयस्थलको रूपमा खेलमैदान र विद्यालय नै बनाएको छ । त्यो बाहेक स्थानीय सरकारसंग उद्धारका लागि जनशक्ति र सामग्रीको पनि अभाव रहेको छ । 

विस्थापित परिवार थप जोखिममा
कैयौँ परिवार अझै पनि जोखिमपूर्ण अवस्थामै पुरानाे ठाउँहरुमा बसिरहेका छन् । सरकारका तीनै तह र निकायहरुबीच राम्रो समन्वय र सहकार्य छैन ।  बिपद् न्यूनिकरण र बिपद्पछिको व्यावस्थापनमा स्थानीय सरकारको सोंच, श्रोत र योजना कम्जोर रहेको पाइएको छ । पछिल्ला दुई पालिकाकै पहिरोको उदाहरण हेर्ने हो भने विस्थापित परिवारले लामो सयम सुरक्षित ओत पाएनन् ।

दुई बर्ष अघि ठूलो माननीय तथा भौतिक क्षति भएको इस्मा गाउँपालिका-१ का विभिन्न परिवारको घर फेरि पहिरोले पुरिन थालेका छन् । हस्तिचौरका ऋषिराम अर्याल, रामु केसी, गुञ्ज बहादुर क्षेत्री, भिमनाथ घिमिरेको घर पहिरोले पुरेपछि परिवार घरमा बस्ने अवस्थामा छैन । दुई बर्षसम्म आफुहरुको बिषयमा सरकारले कुनै ठोस निर्णय गर्न नसक्नु दु:खद् बिषय भएको पहिरो पीडित ऋषिराम अर्यालले गुनासो गरे ।

सत्यवति गाउँपालिकामा तीन बर्ष अघि पहिरोले विस्थापित सवै परिवारलाई अझै पुनर्वासको व्यावस्था सरकारले गर्न सकेको छैन । सत्यवति गाउँपालिका-३ का वडाध्यक्ष जितु तरामुले फेरि गाउँ चर्किएर ठूलो क्षेतिको संभावना रहेको बताए । उनले स्थानीय स्तरबाट बिपदबाट जोगिने, उद्धार र व्यावस्थापनको सक्दो पहल भइरहेको जानकारी दिए ।

मालिका गाउँपालिका-१ कोशिलाबाँझका झण्डै ४० घर दलित परिवार बर्षौदेखि पहिरोको चपेटामा छन् । पानी परेर घर छोड्ने अवस्था दशकौदेखि भएपनि कुनै सरकारको नजर आफुहरु माथि नपरेको स्थानीय युद्धवीर प्रतेलले गुनासो गरे ।

स्थानीय तहको विपत् बजेट
जिल्ला विपत् व्यावस्थापन कोष र स्थानीय तहसँग राहत तथा उद्धारका लागि बजेट छ । तर, दीर्घकालीन योजनाको अभाव छ । पछिल्लो तथ्यांक अनुसार जिल्ला विपत् व्यावस्थापन कोषमा १४ लाख ४५ हजार पाँच सय, मुसिकोट नगरपालिकामा २३ लाख ६४ हजार सात सय ६४, रेसुंगा नगरपालिकामा चार लाख २५ हजार, मदाने गाउँपालिकामा १२ लाख बिपद् व्यावस्थापन कोष रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले बताए ।

त्यस्तै, मालिका गाउँपालिकामा १० लाख, धुर्कोटमा ३४ लाख ७८ हजार पाँच सय, चन्द्रकोटमा ३३ लाख, रुरु क्षेत्र गाउँपालिकामा ७० लाख, गुल्मी दरबारमा ४० लाख, छत्रकोटमा पाँच लाख र सत्यवति गाउँपालिकामा २३ लाख ६ हजार पाँच सय २३ रुपैयाँ कोष रहेको गिरीले जानकारी दिए । उनले सबै पालिकाको विपत् कोष प्राप्त नभएको बताए । स्थानीय तहसंग बिपद् पुर्व तयारीका सामग्री समेत प्रयाप्त छैनन् ।

जिल्ला प्रशासन कार्यालयको प्रतिवेदनमा उल्लेख भए अनुसार धुर्कोट गाउँपालिकामा दुई स्टेचर र ६ एम्बुलेन्स मात्र छन् । सत्यवति गाउँपालिकामा १० बेल्चा, १० बाल्टी, पाँच त्रिपाल र १५ थान गल छन् । भनेकै बेला पुग्ने सुरक्षाकर्मीको संरचना र जनशक्तिको अभाव छ । गाउँमा बैकल्पिक सडक नभएका कारण घटनास्थलमा पुग्न मुस्किल पर्ने गरेको छ । स्थानीय स्तरमा बिपद्का बेला उद्धार गर्ने तालिम प्राप्त जनशक्ति छैनन् । 

स्थानीय तहलाई बेलैमा चनाखो बनाएका छौँ : प्रजिअ
जिल्ला प्रशासन कार्यालयले प्रत्येक बर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरेर स्थानीय तह र सम्बन्धित निकायहरुमा पठाउने गरेको छ । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलका अनुसार प्रतिकार्य योजनाको उद्देश्य मनसुनजन्य प्रकोपका कारण हुने संभावित घटनाहरुको पहिचान गर्ने र आवश्यक तयारी गरेर मानवीय भौतिक तथा आर्थिक क्षति कम गर्ने, निकायगत जिम्मेवारी प्रष्ट गरेर तत्काल राहत उद्धार र व्यावस्थापन गर्ने हो ।

त्यस्तै बिपद् व्यावस्थापनमा संलग्न निकायको संस्थागत सुदृढिकरण गर्ने र जोखिम स्थानमा बस्ती बसाउन नियन्त्रण गर्ने भएको पौडेलले बताए । उनले आफुहरुले मनसुनजन्य योजना र अवस्थाका बारेमा स्थानीय तहहरुलाई बेलैमा चनाखो बनाएर योजना समेत पठाएकाले सक्रियता पुर्वक कार्यान्वयन गर्नुपर्ने बताए । तर, स्थानीय तह र निकायले प्रतिकार्य योजनाको कार्यान्वयन बिपद्काे समयमा भनेअनुसार गर्दैनन् । अहिलेपनि गाउँका ठूला साना सडक समयमै मर्मत र व्यावस्थापन नगरेका कारण सवारी साधनसंगै पैदलयात्राको लागि जोखिमपूर्ण बनेका छन् । 

बर्षातमा ग्रामीण सडकको बेहाल
पानी परेकाे समयमा इस्मा, मालिका, मदाने, धुर्कोट, मुसिकोट, चन्द्रकोट, सत्यवति र कालिगण्डकी लगायतका स्थानीय तहका अधिकांश ग्रामीण सडकमा अहिले सहज यात्रा गर्न सकिँदैन । ठूला सडक मध्येको पनाहा–रातडाँडा–इन्द्रगौडा सडकको काम तीन बर्षदेखि अलपत्र भएको छ । स्तरबृद्धिको बाँकी काम त भएननै । त्यो बाहेक बिगतमा खेसेका थुप्रै ठाउँका पहिराे पन्छाउने समेतको काम नभएको मुसिकोट नगरपालिका ४ का युवा बिमल छन्तेलले गुनासो गरे ।

उनले केहि ठाउँको पक्की बाटाे पनि काम नलाग्ने भएको र धेरै ठाउँमा पहिरो र खाल्डा समेत नपुरेका कारण निकै जोखिमपूर्ण यात्रा गर्न  बाध्य भएको गुनासो गरे । स्तरउन्नतीको नाममा नाली बिना खनेर छोडिएका कैँयौ साना–ठूला सडक छन् । मुख्य बजारबाट गाउँ पुग्ने थुप्रै गाडी छन् । ठूलो पानी र पहिरो आए बैकल्पिक सडक नहुने हुँदा समस्या हुने गरेको गुल्मी यातयातका काउन्टर प्रतिनिधी बालकृष्ण श्रेष्टले जानकारी दिए । 

 

ad
ad