मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ असार २९ बुधबार ०८:२१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीमा चुनावसम्मै पाण्डे !

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ असार २९ बुधबार ०८:२१:००

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाएर कांग्रेस नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन सांसदहरूको हस्ताक्षरसमेत संकलन गरेका कांग्रेस र माओवादी पछाडि हटेका छन् । यससँगै निर्वाचनसम्म पाण्डेकै निरन्तरताको सम्भावना बढेको छ । 

सरकार परिवर्तनका लागि कांग्रेस र माओवादीका २२–२२ सांसदले मध्यअसारमा हस्ताक्षर गरे पनि मुख्यमन्त्री पाण्डेले केन्द्रको निर्णयअनुसार अगाडि बढ्ने अडान लिएका थिए । त्यसपछि गठबन्धन दलका शीर्ष नेता तत्काल कुनै पनि प्रदेशको मुख्यमन्त्री हेरफेर नगर्ने सहमतिमा पुगेका छन् । यसपछि मुख्यमन्त्री पाण्डेको निरन्तरताको सम्भावना बढेको हो । 

प्रदेशका नेताहरूले पनि पूर्ववत् अडान र अभिव्यक्ति नरम बनाएका छन् । कांग्रेसले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताएको छ । ‘अहिलेसम्म मुख्यमन्त्री राजेन्द्र पाण्डेले कुनै निर्णय लिनुभएको छैन । अहिले हामी पर्ख र हेरको अवस्थामा छौँ,’ बागमती प्रदेश सभामा कांग्रेस सचेतक छिरिङदोर्जे लामाले भने । जब कि हस्ताक्षर संकलन गर्दा बानियाँले एक सातामै सरकार परिवर्तन हुने बताएका थिए । 

माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले आफूहरू सहमति कार्यान्वयनको पक्षमा रहेको बताए । ‘हामी अहिले ठ्याक्कै निर्णयमा पुगिसकेका छैनौँ । सहमति कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘केन्द्रमा शीर्ष नेताहरूबीच पनि छलफल हुन्छ । प्रदेशमा पनि छलफल गरिरहेका छौँ । गठबन्धनलाई अप्ठ्यारो पर्ने गरी निर्णयमा पुग्दैनौँ । मुख्यमन्त्रीले पनि सहमति कार्यान्वयन गर्ने भन्नुभएको छ । हाम्रो जोड सहमति कार्यान्वयनमै छ ।’

मुख्यमन्त्री पाण्डले पहिलाजस्तै केन्द्रीय निर्णयअनुसार आफू अगाडि बढ्ने बताएका छन् । ‘म केन्द्रीय गठबन्धनको निर्णयको आधारमा मुख्यमन्त्री बनेको हुँ । गठबन्धनले निर्णय गरे छाड्न तयार छु । बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले छाडे अन्त कहाँ लिने भन्ने प्रश्न आउँछ,’ मुख्यमन्त्री पाण्डेले भने । 
यो पछिल्लो राजनीतिक घटनाक्रम शीर्ष नेताहरूको निजगढ भ्रमणपछि भएको हो । केही समयअघि गठबन्धन दलका शीर्ष नेताहरू र बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे निजगढ विमानस्थल निर्माण क्षेत्रको निरीक्षणमा निजगढ गएका थिए । 

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल त्यहीँ रहेका वेला बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारको नेतृत्व हेरफेरबारे प्रश्न गरेका थिए । स्रोतका अनुसार देउवा र प्रचण्डले ‘कामलाई निरन्तरता’ दिन भन्दै अहिले मुख्यमन्त्री हेरफेर नहुने जनाउ गरेका थिए । कांग्रेस र माओवादी केन्द्रका सांसदले हस्ताक्षर संकलन गरेपछि पाण्डेले देउवा र प्रचण्डको ध्यानाकर्षण गराएका थिए । 

एउटा प्रदेशमा मुख्यमन्त्री हेरफेर गर्दा पूर्वसहमति भत्किने र अन्य प्रदेशमा समेत सरकार हेरफेरको अवस्था आउने भएपछि शीर्ष नेताहरू तत्काल बागमतीमा झमेला नलिने मनस्थितिमा पुगेका छन् । शीर्ष नेताहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच दुई–दुई र जसपाले एउटा प्रदेशको मुख्यमन्त्री लिने पूर्वसहमति छ । एकीकृत समाजवादीबाट प्रदेश १ र बागमती, कांग्रेसबाट गण्डकी र कर्णाली, माओवादी केन्द्रबाट लुम्बिनी र सुदूरपश्चिम तथा जसपाबाट मधेस प्रदेशमा मुख्यमन्त्री छन् ।

बागमतीमा हेरफेर गर्दा प्रदेश २ बाहेकका पाँच प्रदेशमा पनि चलाउनुपर्ने र त्यसक्रममा समस्या निम्तिन सक्ने शीर्ष नेताहरूको विश्लेषण छ । बागमतीमा हेरफेर हुँदा लुम्बिनी र गण्डकी प्रदेश सरकार पनि ढल्न सक्ने बुझाइ छ । सुदूरपश्चिममा प्रदेशको सबैभन्दा ठूलो दल रहेकाले सुदूरपश्चिमको मुख्यमन्त्री पाउनुपर्ने माग एकीकृत समाजवादीले गर्दै आएको छ । 

बागमतीका मुख्यमन्त्रीले राजीनामा दिने हो भने अरू प्रदेशमा पनि हेरफेर गर्नुपर्ने अवस्था बन्छ । सोही कारण कांग्रेस र माओवादीका शीर्ष नेताले मुख्यमन्त्री हेरफेरमा रुचि देखाएका छैनन् । कांग्रेसको प्रदेश संसदीय दलले बागमतीमा र एकीकृत समाजवादीको प्रदेश संसदीय दलले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गरेका छन् । 

सोमबार सुदूरपश्चिम पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने भए पनि गठबन्धनको निर्णयको आधारमा मात्रै मुख्यमन्त्री हेरफेर हुने बताएका छन् । ‘प्रदेश सभामा एकीकृत समाजवादी ठूलो दल रहेकाले सरकार बन्नु स्वाभाविक हो । तर, हाम्रो एक्लो शक्तिले मात्र नेतृत्व गर्न सम्भव छैन । अरूको सहयोग कहिले प्राप्त हुन्छ, त्यही दिन हाम्रो सरकार बन्छ,’ नेपालले भनेका छन् । 

हस्ताक्षरपछि उत्पन्न राजनीतिक तनाव टार्न मुख्यमन्त्री पाण्डे र कांग्रेस संसदीय दलका नेता बानियाँ शीर्ष छलफलका लागि काठमाडौं आएका थिए । पाण्डे काठमाडौंबाट फर्किसकेका छन् भने बानियाँ काठमाडौंमै छन् । मुख्यमन्त्री पाण्डे चुनावसम्मै रहिरहनेमा ढुक्क छन् । पाण्डेले यस विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपालसँग पनि लामै छलफल गरेका छन् । 

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा पनि प्रदेश सरकार र गठबन्धनको विषयमा लामै छलफल भएको थियो । एकीकृत समाजवादीले पूर्वसहमतिअनुसार दुईवटा प्रदेशको मुख्यमन्त्री हुनुपर्ने बटमलाइन बनाएको छ । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीका उपाध्यक्ष हुन् । 

बुधबार प्रदेश सभाको बैठक 
बागमती प्रदेश सभाको चालू १०औँ अधिवेशनको २५औँ बैठक आगामी बुधबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठकमा नियमित कामकारबाही अगाडि बढ्ने जानकारी दिए ।

बागमती प्रदेश सभाका एक सय १० सांसदमध्ये हाल एक सय सात सांसद छन् । सरकारले विश्वासको मत लिन वा नयाँ सरकार बन्न कम्तीमा ५४ जना सांसद हुनुपर्छ । प्रदेश सभामा सत्तारूढ दलहरू माओवादी २३, कांग्रेस २२, एकीकृत समाजवादी १३ र जसपाको एकसहित ५९ सांसद छन् । प्रमुख प्रतिपक्षी एमालेसँग ४१, विवेकशील साझासँग तीन, राप्रपा र नेमकिपाका दुई–दुई सांसद छन् । एमालेबाट निर्वाचित तीन सांसदको पद रिक्त छ । एमाले सांसद पशुपति चौलागाईंको मृत्यु भएको छ भने केशव स्थापित र विजय सुवेदी राजीनामा दिएर स्थानीय निर्वाचनमा उम्मेदवार बनेका थिए ।