१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार २९ बुधबार ०७:३६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिगलाई आइसिसीको मान्यता

Read Time : > 1 मिनेट
२०७९ असार २९ बुधबार ०७:३६:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले असोज–कात्तिकमा आयोजना हुने नेपाल टी–२० फ्रेन्चाइज लिगलाई मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता पहिलोपटक हुन लागेको हो । प्रतियोगिता आगामी ८ असोजदेखि ५ कात्तिकसम्म हुनेछ । क्यानले नेपाल टी–२० लिग एकमात्र घरेलु मान्यताप्राप्त लिग हुने जनाएको छ । नेपालमा आयोजना हुने अन्य टी–२० फ्रेन्चाइज लिगलाई मान्यता नदिने क्यानले बताएको छ । 

क्यानले अन्य लिगलाई मान्यता नदिने भनेपछि एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी टोलीका मालिकले आर्थिक रूपमा सहयोग नगर्ने चेतावनी दिएका थिए । क्यानले क्षेत्रीय रूपमा लिग सञ्चालन गर्दा मान्यता प्रदान गर्ने भनेको छ । आइसिसीले नेपाल टी–२० लिगलाई मान्यता प्रदान गरेसँगै इपिएलसँग अन्य प्रतियोगिताको आयोजनासमेत अन्योलमा परेको छ । 

नेपालमा इपिएलसँगै पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग छन् । यद्यपि, पोखरा र धनगढी नियमित रूपमा सञ्चालन हुन सकेको छैन । इपिएलले मात्र निरन्तरता दिइरहेको छ । इपिएलले पनि आफूलाई आइसिसीकै मान्यताप्राप्त प्रतियोगिताका रूपमा दाबी गरिरहेको छ । क्यानले नेपाल टी–२० लिगबाहेक अन्य लिग फ्रेन्चाइज सञ्चालन गर्न नपाइने जनाएको छ । 

यसैकारण, एकै स्वरूपको इपिएललाई क्यानले मान्यता नदिएको हो । क्यानले प्रतियोगिता सञ्चालन गर्न अनुमति नदिएपछि इपिएलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । यो मुद्दा सर्वोच्चमा विचाराधीन छ । विनाप्रतिस्पर्धा भारतीय कम्पनीलाई प्रतियोगिताको अधिकार दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीको विषयमा अख्तियारले अहिले छानबिन गरिरहेको छ ।

पछिल्लो समय नेपाल टी–२० लिगका आयोजना सम्बन्धमा विवादित बनेको छ । यस विषयमा प्रतिनिधिसभाको बैठकमा समेत कुरा उठेको थियो । प्रतिनिधिसभामा नेपाल टी–२० लिगको सम्झौता खारेज हुनुपर्ने एमालेका सांसदहरूले माग राखेका थिए । गत १२ असारमा एमालेका सांसद गोकुल बाँस्कोटाले गैरकानुनी रूपमा क्यानले भारतीय कम्पनीसँग सम्झौता गरेको जनाउँदै खारेजी गर्नुपर्ने माग राखेका थिए । 

 क्यानलाई प्रतियोगिता आयोजना गर्न सहज 
आइसिसीको मान्यताप्राप्त पछि क्यानले नेपाल टी–२० लिग दबाबरहित आयोजना गर्न सक्ने बाटो खुलेको छ । लिगमा ६ टोलीको सहभागिता हुनेछ । क्यानले लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने जनाएको छ । क्यानले गत जेठमा ६ टोली खरिदका लागि टेन्डर आह्वान गरिएको थियो । प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टस् प्रालि रहेको छ । क्यानले आफ्नो आयोजनामा हुने सबै किसिमका क्रिकेट प्रतियोगिताको मुख्य साझेदारीका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई दिएको छ । क्यानले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगितामा खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेको छ । पहिलो श्रेणीका क्रिकेटरलाई १५ लाख रुपैयाँसम्म पारिश्रमिक दिने बताएको छ ।

शीर्ष अन्तर्राष्ट्रिय लिगमा क्यानले नेपाल टी–२० लिग शीर्ष अन्तर्राष्ट्रिय टी–२० क्रिकेट लिगको सूचीमा परेको जनाएको छ । ‘नेपाल टी–२० लिग नेपाल क्रिकेट संघको ड्रिम प्रोजेक्टका रूपमा रहेको छ, यसले प्रत्येक नेपाली क्रिकेट समर्थकको आकांक्षा पनि झल्काउँछ,’ क्यानले जनाएको छ । क्यानले लिग आयोजना गर्नुको मुख्य उपलब्धका रूपमा घरेलु क्रिकेटरले धेरै लाभ प्राप्त गर्नु रहेको जनाएको छ । 

क्यानले सेभेन थ्री स्पोर्टस्लाई पूर्ण लगनशीलता र विस्तृत पृष्ठभूमि जाँच गरेर चयन गरिएको दाबी गरेको छ । ‘क्यानले गरेको उत्कृष्ट कार्यको अर्को ठूलो कोसेढुंगा र उपलब्धि हो, गत महिना आइसिसीले नेपालबाट आर्थिक प्रतिबन्ध हटाएको थियो,’ क्यानको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा क्रिकेट सञ्चालन र प्रवद्र्धनमा आइसिसीले क्यान शीर्ष नेतृत्वको प्रशंसा गरेको छ ।’