१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २८ मंगलबार
  • Thursday, 10 October, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o७९ असार २८ मंगलबार o६:२४:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वैदेशिक अध्ययनमा  ११ महिनामै बाहिरियो ६० अर्ब 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ असार २८ मंगलबार o६:२४:oo

६४ देशमा अध्ययनका लागि यो वर्ष विद्यार्थीले लिए एक लाख १३ हजार नो अब्जेक्सन लेटर

चालू आर्थिक वर्षमा वैदेशिक अध्ययनमा जाने विद्यार्थी संख्या र बिदेसिएको रकममा हालसम्मकै रेकर्ड बनेको छ । जेठसम्मको ११ महिनामा वैदेशिक अध्ययनमा ५९ अर्ब ९९ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ । १ साउन ०७८ देखि २७ असार ०७९ सम्ममा विद्यार्थीले एक लाख १२ हजार पाँच सय २८ नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार वैदेशिक अध्ययनमा यसपालि बाहिरिएको रकम अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढी हो । अघिल्लो आव २४ अर्ब ९५ करोड ९४ लाख बाहिरिएकोमा सुरुका ११ महिनाको हिस्सा २३ अर्ब ४४ करोड ६६ लाख मात्रै थियो । 

कोभिडले दुई वर्षसम्म प्रभावित बनेको वैदेशिक अध्ययन यसपालि सहज भएपछि एनओसी लैजानेको संख्या तेब्बरले बढेको छ । अघिल्लो आवमा २९ हजार चार सय ३२ एनओसी मात्रै जारी भएका थिए । विगतमा ०७५/७६ मा सबैभन्दा धेरै ६३ हजार दुई सय ५९ एनओसी जारी भएका थिए । उक्त वर्ष ४६ अर्ब २४ करोड तीन लाख रुपैयाँ बिदेसिएको थियो । अस्ट्रेलियाका लागि प्रायः विद्यार्थीले दुईवटा एनओसी लिएका हुन्छन्, तर अन्य देशका लागि भने एउटै एनओसी लिएका हुन्छन् ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालू आर्थिक वर्षमा ६४ देशमा अध्ययनका लागि अनुमति लगेका छन् । विद्यार्थीको आकर्षणको केन्द्र अस्ट्रेलिया बनेको छ । जारी कुल एनओसीमध्ये आधाभन्दा बढी अर्थात् ६६ हजार आठ सय ८५ अस्ट्रेलियाका लागि छन् । 

मन्त्रालयका अनुसार पछिल्लो ६ महिनामा जारी गरिएका कुल एनओसीमध्ये ७२.५ प्रतिशत अर्थात् ५९ हजार सात सय ५६ अस्टे«लियका लागि मात्रै छन् । त्यस्तै, जापानका लागि ६ महिनामा जारी कुल एनओसीको ११.४ प्रतिशत अर्थात् नौ हजार चार सय ३० जारी भएका छन् । 

०७७/७८ मा जापान नेपाली विद्यार्थीको आकर्षक गन्तव्य बनेको थियो । जापानका लागि आठ हजार एक सय ४६ र दोस्रो गन्तव्य अस्ट्रेलियाका लागि चार हजार आठ सय ४९ विद्यार्थीले एनओसी लिएका थिए । 

प्रतिविद्यार्थी औसत १३ लाख बाहिरिन्छ, ५० हजारको भिसा लागेको अनुमान
वैदेशिक अध्ययनमा प्रतिविद्यार्थीले औसत १३ लाख खर्च गर्छन् । यो आर्थिक वर्षमा एनओसी लिने विद्यार्थीको संख्या धेरै भए पनि भिसा प्राप्त गर्नेको संख्या ५० हजारको हाराहारीमा रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताए । उनका अनुसार अस्ट्रेलियाका लागि २६ हजार हाराहारीले भिसा आवेदन गरेको र १५ हजार जतिले प्राप्त गरेका छन् । करिब पाँच हजार आवेदन अस्वीकृत भएको र बाँकीले निर्णय कुरिरहेको उनले बताए । 

जापान र अमेरिकाका लागि एनओसी लिएका ९९ प्रतिशतको भिसा लागेको छ । जापानको सिओई (योग्यताको प्रमाणपत्र) पाएकाले र अमेरिकाको भिसा आएकाले एनओसी लिन्छन् । क्यानडाका लागि ६३ प्रतिशतको भिसा लाग्ने गरेको उनको भनाइ छ । अस्ट्रेलियाले भिसा धेरै रिजेक्ट गरेपछि फिर्ता आउन थालेको छ । 

इक्यान अध्यक्ष पाण्डे विद्यार्थीले नेपाली मुद्रा लगेको मात्रै होइन, रेमिट्यान्स पनि भिœयाएको बताए । पढ्न गएका धेरैले रकम पठाइरहेको उनको भनाइ छ । नेपालबाट पढ्न र काम गर्न जान नपाएका कारण अहिले रेमिट्यान्स कम हुँदै गएकोसमेत उनको मूल्यांकन छ । 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे भने कम उत्पादनशील सेवा क्षेत्रहरू शिक्षा, अन्तर्राष्ट्रिय ट्राभलमा धेरै विदेशी मुद्रा बाहिरिनु गम्भीर विषय भएको बताउँछन् । ‘यी क्षेत्रमा विदेशी मुद्रा आउनेभन्दा जाने धेरै छ । सबै क्षेत्रबाट विदेशी मुद्राको अवस्था साँघुरिएको छ । सरकारले शिक्षाका नाममा रकम जाने क्रमलाई व्यवस्थित गर्नुपर्ने वेला आयो,’ उनले भने, ‘विदेशमा प्राविधिक विषय पढेर सबै नेपालमै फर्केर सेवा गर्ने अवस्था रहेमा देशका लागि राम्रो हुने थियो, तर धेरैजसो उतै रहने योजना देखिन्छ । त्यसैले रकम जाने, नेपाल नआउने हुँदा प्रभाव पार्छ ।’ 

प्रमाणित भएका २० हजार एनओसी लिन आएनन्
शिक्षा मन्त्रालयले ०७७ भदौदेखि एनओसीका लागि अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसयता अनलाइन फारम भरेर एक लाख ४२ हजार ४६ ले एनओसी लगेका छन् । अनलाइनमा फारम भरेकामध्ये २० हजारको भेरिफाइड भए पनि एनओसी नलगेको शिक्षा मन्त्रालयका एनओसी शाखाका उपसचिव हरि निरौलाले बताए । सुरुमा राजस्व नतिरी फारम भर्न पाउने व्यवस्था भएकाले सित्तैमा पाउँदा कतिपयले धेरै ठाउँका लागि आवेदन दिएको, तर भेरिफाइड भएपछि नआउने गरेको उनले बताए । विद्यार्थीले भरेको एनओसी शिक्षा मन्त्रालयबाट भेरिफाइड भएपछि मात्रै शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । ‘सित्तैमा फारम भर्न पाउँदा धेरै ठाउँको भर्छन्, पछि लिन आउँदैनन्,’ उपससचिव निरौलाले भने, ‘२० हजारको डकुमेन्ट हेरेर भेरिफाइड गर्नु भनेको शाखाको दुई महिनाको काम हो, त्यो खेर गयो ।’

यस अवधिमा १३ हजार पाँच सय ८४ आवेदन अस्वीकार भएका छन् । कानुनअनुसार नमिलेका आवेदन रिजेक्ट भएको कर्मचारीको भनाइ छ । करिब एक हजार पाँच सयले एनओसी रद्द गरेका छन् । 

अब शिक्षाको नाममा जाने रकम व्यवस्थित गर्नुपर्ने वेला आयो : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री
अत्यावश्यक सेवामा विदेशी मुद्रा रोक्न सकिँदैन । कम उत्पादनशील सेवा क्षेत्रहरू शिक्षा, अन्तर्राष्ट्रिय ट्राभलमा धेरै विदेशी मुद्रा गएको छ । यी क्षेत्रमा आउनेभन्दा जाने धेरै छ । सबै क्षेत्रबाट विदेशी मुद्राको अवस्था साँघुरिएको छ ।

सरकारले शिक्षाका नाममा रकम जाने क्रमलाई व्यवस्थित गर्नुपर्ने वेला आयो । विदेशमा प्राविधिक विषय पढेर सबै नेपालमै फर्केर सेवा गर्ने अवस्था रहेमा देशका लागि राम्रो हुने थियो, तर धेरैजसो उतै रहने योजना देखिन्छ । त्यसैले रकम जाने, नेपाल नआउने हुँदा प्रभाव पार्छ । सरकारले सिस्टमबाट विदेश पठाएकालाई बैंकबाटै रकम पठाउन आग्रह गर्नेलगायतका सुधारका काम गर्नुपर्ने देखिन्छ । 

धेरै विद्यार्थी पढाइसँगै कमाउने आसमा बिदेसिन्छन्  : हरि निरौला, प्रमुख, वैदेशिक अध्ययन अनुमति शाखा, शिक्षा मन्त्रालय
अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष धेरैले एनओसी लिएका छन् । विदेश अध्ययनमा जानुका धेरै कारण छन् । आफन्त, छिमेकी विदेश गएको र सामाजिक दबाबका कारण विदेश जानुपर्छ भन्ने भावना विद्यार्थीमा देखिन्छ ।

कोभिड महामारीपछि धेरै विद्यार्थी पढाइसँगै कमाउने आसमा बिदेसिएका छन् । कतिपय सरकारी सेवामा प्रवेशको अवसर नभएकाले पनि विदेश जान लागेको बताउँछन् । भर्खरै नागरिकता बनाएका र कक्षा १२ पास गरेकाको संख्या ठूलो छ । कतिपय कहाँ जाने, के गर्ने भन्नेमा अनभिज्ञ देखिन्छन् । अहिले धेरै विद्यार्थी व्यवस्थापन विषय पढ्न जाने गरेका छन् ।

साइन्स, इन्जिनियरिङ, मेडिसिन पढेकासमेत व्यवस्थापन पढ्न जाने गरेको पाइन्छ । कतिपय विद्यार्थीले विदेश गएपछि नेपाल फर्कने चाहना राखेकोसमेत पाइँदैन । समाज बुझ्दै गरेका धेरै विदेश जाँदा भोलि भयावह स्थिति आउन नदिन नयाँ ढंगले सोच्नुपर्ने अवस्था छ ।