१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार २७ सोमबार २०:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आमालाई छोराको ज्ञापन-पत्र 

Read Time : > 1 मिनेट
२०७९ असार २७ सोमबार २०:३६:००

सोमबार बिहान करिब ११ बजे हेटौँडा उपमहानगरपालिका प्रमुखको कार्यकक्षमा एक फरक दृश्य देखियो । सन्दर्भ थियो, शैक्षिक  सुधारको  माग गर्दै ज्ञापन-पत्र बुझाउने कार्यक्रम । दृश्य थियो, आमा र छोराको । छोराले आमासमक्ष उपमहानगर क्षेत्रमा शैक्षिक सुधारको माग राख्दै ज्ञापन-पत्र बुझाएका थिए । आमा थिइन्, हेटौँडा उपमहानगर प्रमुख मीनाकुमारी लामा र छोरा थिए, नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको हेटौँडा उपमहानगर कमिटी अध्यक्ष सुपेन लामा ।

विद्यार्थी नेता छोराले आमासमक्ष आफ्नो व्यक्तिगत समस्या, गुनासो वा कुनै स्वार्थका लागि ज्ञापन-पत्र बुझाएका थिएनन् । उपमहानगर क्षेत्रभित्र शैक्षिक गतिविधिमा विकृति बढ्दै गएको र शैक्षिकस्तर खस्किँदो देखिएकोले तत्काल सुधारका प्रयास अघि बढाउन माग राख्दै सुपेनले आफ्ना सहपाठीसँगै आफ्नी आमालाई गुनासोसहित ज्ञापन-पत्र बुझाएका हुन् । 
आफू मेयर मात्र नभई आमा पनि भएको र आफ्नो छोरा मात्र नभई सुपेन विद्यार्थी नेता पनि भएको भन्दै मेयर लामाले ज्ञापन-पत्र बुझिन् ।

ज्ञापनपत्र बुझाउँदै सुपेनले विद्यार्थीसँग मेयर कार्यक्रम, अंग्रेजी र नेपाली माध्यमका विद्यार्थीहरूलाई फरक–फरक शुल्क निर्धारण व्यवस्थाको खारेजी, हरेक विद्यालयमा एक खेलकुद शिक्षक र एक नर्स अनिवार्य गर्नुपर्ने, शौचालय र धाराको व्यवस्थापन उचित हुनुपर्ने दरिलो माग राखेका छन् । ‘मीनाकुमारी लामा मेरी आमा मात्र होइन, उहाँ हेटौँडाको नेतृत्व हो । उहाँले अब मेरो भविष्य मात्र होइन हेटौँडाका सबै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन योजना बनाउनुपर्छ,’ सुपेनले भने, ‘त्यसकारण यहाँ मेयर हुनुभएको तीन महिना पनि नहुँदै ज्ञापन-पत्र बुझाएर ध्यानाकर्षण गराउँदै शैक्षिक सुधारको माग राखेका हौँ ।’ उनले मागहरू तत्काल सम्बोधनका लागि प्रक्रिया अघि नबढाए अर्को चरणमा छलफल गरिने बताए ।

मेयर लामाले सुमेनलाई छोराभन्दा बढी विद्यार्थी नेताको रूपमा आफूले लिएको बताइन् । उनले सुपेन छोरा मात्र नभई विद्यार्थी नेता पनि भएकोले उनीहरूले उठान गरेको माग विद्यार्थी संगठनको भएको धारणा राखिन् । ‘सुपेनले ज्ञापन-पत्र बुझाउँदा विद्यार्थीको मुद्दा लिएर आएको हो । सक्ने जति सम्बोधन गर्छौं, तत्काल नसक्ने मागहरू विस्तारै सम्बोधन हुन्छ । कार्यालयमा आउँदा पारिवारिक विषयसँग जोडिँदैन, ऊ त संगठनको दलबलसहित आएको थियो,’ मेयर लामाले भनिन् ।