१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नेपाली प्राविधिक र चिनियाँ प्राविधिक टोलीले दैलेखका सम्भावित भूभागहरूमा पेट्रोलियमको पुनः सर्वेक्षण गर्दै । तस्बिर : नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दैलेखमा पेट्रोलियम अन्वेषण सुरु, अन्तिम सर्वेक्षणबाट कहाँ कति परिमाण थाहा हुने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:o६:oo

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम पुनः सुरु भएको छ । दैलेखको कुन भूभागमा कति मात्रामा पेट्रोलियम छ भनेर गरिने अन्तिम ड्रिलिङका लागि चिनियाँविज्ञ सर्भे टोली दैलेख आएको हो । नेपाली प्राविधिक र चिनियाँ प्राविधिक टोलीले दैलेखका सम्भावित भूभागहरूको पुनः सर्वेक्षण गरिरहेको छ । 

खानी तथा भूगर्भ विभागको टोली र चीनको प्राविधिक टोलीले अन्वेषणका लागि दैलेख सदरमुकामसम्म ल्याउने सामग्री ढुवानीका लागि आवश्यक सडकको मापदण्डलगायतका विषयमा पनि अध्ययन र अवलोकन गरेका छन् । विभागको पेट्रोलियम अन्वेषण शाखाका प्राविधिक पनि दैलेखमा आइपुगेका छन् । 

अन्तिम सर्वेक्षणका लागि पुनः क्याम्प खडा गर्नुपर्ने हुन्छ, त्यसका लागि खाद्यान्नको जोहो, स्थानको खोजीलगायतका कामहरू सुरु भइसकेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । अन्तिम चरणको अन्वेषणले दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको टुंगो लगाउने भएको छ । कति मात्रामा भण्डारण छ भन्ने विषय पनि यसपालिको अन्वेषणबाट पत्ता लाग्ने उनले बताए । 

पहिलो चरणमा साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएपछि ०७६ फागुनमा चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुन सक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् । 

अन्तिम अन्वेषणस्थलका लागि ठूला सवारीसाधन लिनुपर्ने हुन्छ । करिब ५० टन क्षमताका सवारीसाधन आवतजावत गर्न सडकको चौडाइको अवस्थामा समस्या हुन सक्ने भएकाले पनि सडकको अवस्था अध्ययनका काम पनि भइरहेका छन् । 

नेपाल र चिनियाँ टोली ढुक्क, जनता उत्साहित
पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको दैलेखकै भूभागमा पेट्रोलियम पदार्थ हुन सक्नेमा नेपाली र चिनियाँ टोली ढुक्क देखिएका छन् । ‘दैलेखकै खोलाहरूमा सदीयौँदेखि पानीमाथि पेट्रोलियम पदार्थ बगिरहेको छ, लगातार बलिरहेको ज्वाला निभेको छैन । भण्डारण मात्रै भएको भए भण्डार सकिनुपर्ने थियो, दैलेखमा उत्पादनसहितको भण्डार रहेको छ,’ एक अधिकारीले भने, ‘चिनियाँ टोली पनि ढुक्क छ, नेपाली टोली पनि ढुक्क छ ।’ यो नेपालको आर्थिक संकट सुधारको महवपूर्ण पाटो हुन सक्छ ।

दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले भने, ‘हामीले सुरुवातीमै भनेका थियौँ, दैलेखबाट रक्सौल ट्यांकर पठाउँछौँ, अब यो कुरा पूरा हुन थालेको छ ।’

वर्तमान अध्यक्ष कुलबहादुर विकले नेपालमा संकट परेका वेलामा नेपालको अर्थतन्त्रमा सहयोग गर्ने काम दैलेखबाट सुरु हुने दिन नजिकिँदै आएको बताए । केन्द्र सरकारले दैलेखलाई प्रभावकारी रूपमा हेरेको अवस्था थिएन, यहाँ रहेको पेट्रोलियम पदार्थको उत्खननको नाममा अन्यत्र खोजी गर्दै झारा टार्ने काम भएको थियो । चीन सरकारले वास्तविक कुरा पत्ता लगाउन थालेपछि यहाँका जनताहरू उत्साहित भएको विकले बताए । 

दैलेखको नाभिस्थान, श्रीस्थान, पादुकालगायतका क्षेत्रलाई आधार मानेर चार सय वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण सम्पन्न भइसकेको छ । जमिनमुनि चार किलोमिटरसम्म छेडेर अन्तिम चरणको सर्वेक्षणको काम गरिनेछ । दैलेखको भैरवी गाउँपालिका, दुल्लु नगरपालिकाका, डुंगेश्वर गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, महाबु गाउँपालिकाका र नारायण नगरपालिकाको केही क्षेत्रलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम टुंग्याइनेछ ।

०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । ०७५ गत माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्यास खानीबारे विस्तृत अन्वेषण गर्न दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो ।

उक्त सहमतिअनुसार ०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा थालनी गरिएको यो कार्यको शुभारम्भ तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे र त्यसपछिका मन्त्री मातृका यादवले दैलेखकै भूभागमा आएर कामको शुभारम्भ गरेका थिए । अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोरिरहेको छ । दैलेखमा अन्वेषण सफल भएमा पाल्पामा पनि चीनको सहयोगमा अन्वेषणको काम सुरु हुने विभागले जनाएको छ ।
 

ad
ad