१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असार २६ आइतबार ०५:५१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नजिकिँदै ओली–खनाल 

Read Time : > 3 मिनेट
२०७९ असार २६ आइतबार ०५:५१:००

एमाले र एकीकृत समाजवादीबीच तिक्ततापूर्ण सम्बन्ध हुँदाहुँदै पनि केपी ओली र झलनाथ खनाल एकअर्काप्रति नरम छन् । अहिले अनौपचारिक तहमा उनीहरूबीच संवाद छ र चाँडै नै औपचारिक भेटवार्ताको वातावरण बनाइँदै छ ।

एकीकृत समाजवादीको मूल नीति ‘संविधान र लोकतन्त्रको रक्षा तथा विकास र समृद्धिका लागि अहिलेकै पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ’ भन्ने छ । तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने अबको निर्वाचनमा वाम शक्तिबीच सहकार्य र ध्रुवीकरणका पक्षमा देखिएका छन् । 

एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालभित्र प्रतिशोधपूर्ण आरोप–प्रत्यारोप जारी छ । तर, ओली र खनालबीच एक–अर्काप्रति नकारात्मक टिप्पणी नभएको धेरै भएको छ । अर्थात् दुवै नेता एक–अर्काप्रति ‘नरम’ छन् । 

गत ४ असारमा इलामको जिल्ला समन्वय समिति निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो । एकीकृत समाजवादीका सम्मानित नेता खनालको गृहजिल्लामा जिल्ला समन्वय समिति प्रमुखमा एमालेका जयप्रकाश राई र उपप्रमुखमा एकीकृत समाजवादीकी चित्रकला बराइली निर्वाचित भएका थिए ।

झलनाथ खनालले नयाँ पत्रिकासँग भने–ओली कमरेडसँग केहीबेर जम्काभेट वार्ता भयो, त्यसक्रममा हामीले केहीबेर सौहार्दपूर्ण कुराकानी गर्‍यौँ । उहाँले कुराकानी गर्न मन लाग्दैन भन्नुभो ? मैले मन लागेको छ भनेँ । त्यसो भए थप छलफलका लागि टेलिफोनबाटै कुराकानी गरौँ न त भन्ने समझदारी भएको छ ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले धोका दिएको गुनासो गर्दै आएका नेता खनालले समन्वय समिति निर्वाचनमा एमालेसँग तालमेल गरेका थिए । कांग्रेस नेताहरूले खनालले आफ्नै जिल्लामा गठबन्धन तोडेको र आफूहरूलाई धोका दिएको आरोप लगाएका छन् । त्यसअघि सूर्योदय नगरपालिकाको कार्यपालिका गठनमा पनि एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

शुक्रबारको संसद् बैठकबाट खनाल बाहिरिँदै गर्दा बैठकस्थल प्रवेशका लागि ओली संसद् भवन परिसरमा गाडीबाट ओर्लिएका थिए । त्यहीक्रममा उनीहरूबीच करिब दुई मिनेट जम्काभेट वार्ता भएको थियो । खनालले ओलीसँग धेरै लामो समयपछि त्यसरी जम्काभेट वार्ता भएको सुनाए । 

संस्थागत रूपमा एमाले र एकीकृत समाजवादीबीच तिक्ततापूर्ण सम्बन्ध छ । तर, माथिल्ला घटनाक्रमले भने एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका सम्मानित नेता खनाल नजिकिँदै गएको देखाउँछ । यतिसम्म कि ओली र खनालबीच औपचारिक भेटवार्ताको गृहकार्य भइरहेको छ । स्रोतका अनुसार आगामी निर्वाचनमा सहकार्यलाई लिएर ओली र खनालबीच अनौपचारिक रूपमा केही चरण संवाद पनि भएका छन् । 

एमाले विभाजनको साढे दश महिनापछिको संवादहीनताको अवस्था तोड्दै ओली र खनाल सहकार्यको सम्भावना खोजीका लागि आपसी छलफल गर्न तयार देखिएका हुन् । शुक्रबार संसद् भवन परिसरमा एमाले अध्यक्ष ओलीसँगको जम्काभेट वार्तामा थप छलफल गर्ने विषयमा सकारात्मक कुराकानी भएको खनालले जानकारी दिए । 

आपसमा हालखबर र स्वास्थ्य अवस्थाबारे कुराकानीपछि आफूहरूबीच थप छलफलका लागि टेलिफोन संवाद गर्ने समझदारी बनेको उनको भनाइ छ । ‘ओली कमरेडसँग केहीबेर जम्काभेट वार्ता भयो, त्यसक्रममा हामीले केहीबेर सौहार्दपूर्ण कुराकानी गर्‍यौँ,’ खनालले नयाँ पत्रिकासँग भने, ‘उहाँले कुराकानी गर्न मन लाग्दैन भन्नुभो ? मैले मन लागेको छ भनेँ । त्यसो भए थप छलफलका लागि टेलिफोनबाटै कुराकानी गरौँ न त भन्ने समझदारी भएको छ ।’ 

भेटमा दुवै नेता आपसी छलफलका लागि तयार भएका छन् । ‘मैले जम्काभेट पो भयो भनेको थिएँ । उहाँले पनि भयो त भन्नुभो । एक अर्काले के छ हालखबर भनेर सोधियो । ठीकठाक छ भन्ने भएपछि उहाँले मेरो स्वास्थ्यबारे चासो राख्नुभो, मैले पनि उहाँको स्वास्थ्य अवस्थाबारे चासो राखेँ,’ खनालले भने, ‘अरू सबै ठीकै छ भन्ने कुरा भएपछि टेलिफोनबाटै थप छलफल गरौँला भन्यौँ ।’ शनिबार साँझसम्म ओलीसँग टेलिफोन संवाद नभएको खनालले बताए ।

एमाले र एकीकृत समाजवादीका कार्यकर्ता तहबीच कुनै समस्या नरहे पनि दुवै पार्टीका नेतृत्व तहका बीच भने तिक्ततापूर्ण सम्बन्ध छ । दुवै पार्टीका शीर्ष नेताहरूले सार्वजनिक कार्यक्रममार्फत आपसमा छेडछाड गर्दै आएका छन् । यद्यपि, स्थानीय तह निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच इलाम, डोल्पा, हुम्लालगायत केही जिल्लामा दुवै पार्टीको केन्द्रीय नीतिविपरीत सहकार्यसमेत भएको थियो । 

सम्मानित नेता खनालले पार्टीको केन्द्रीय सचिवालय, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय परिषद् बैठकमा एमालेसँगको सम्भावित सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा राखेका थिए । उनले ओली ठीक नभए पनि एमालेका अधिकांश कार्यकर्ता समाजवादका पक्षमा रहेकाले तल्लो तहमा संघ र प्रदेशको चुनावमा सहकार्यको ढोका खुला राख्नुपर्ने धारणा राखेका थिए । यही पृष्ठभूमिमा ओली–खनालबीच थप कुराकानी गर्ने गरी भएको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खनालसँगको जम्काभेटअघि पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूसँगको संयुक्त बैठकमा सम्बोधन गर्दै ओलीले एकीकृत समाजवादीबाट ठूलो संख्याका नेता–कार्यकर्ता प्रवेशको तयारी भइरहेको दाबी गरेका थिए । 

यसैबीच, एकीकृत समाजवादीका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने एमालेसहित वामपन्थी एक ठाउँमा उभिनुपर्ने पक्षमा देखिएका छन् । शुक्रबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतसँगको अनौपचारिक भेटवार्तामा न्यौपानेले आफू अबको चुनावमा एमाले, माओवादी र एकीकृत समाजवादी एकै ठाउँ उभिनुपर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।

‘प्रचण्ड, केपी, माधव कमरेडलाई बिदा दिएर भए पनि तीनवटै पार्टी एक ठाउँमा उभिने वातावरण नबनेसम्म नेपालमा कम्युनिस्ट पार्टीको भविष्य छैन भन्ने कुरा मैले साथीहरूको बीचमा राखेको हुँ,’ न्यौपानेले नयाँ पत्रिकासँग भने, ‘कम्युनिस्ट शक्ति बलियो बनाउने हो भने अब केपी, प्रचण्ड र माधवलाई एक ठाउँमा उभ्याउनका लागि सबै मिलेर पहल लिनैपर्ने हुन्छ ।’ 

न्यौपानेले पछिल्लोपटक आफू संसद्को राज्य व्यवस्था समितिमा रहेर ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गर्नेबित्तिकै एमाले र एकीकृत समाजवादीका सांसदबीच सौहार्दपूर्ण वातावरण बनेको दाबी गर्दै कांग्रेससमेत नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयक र सामाजिक सुरक्षासम्बन्धी विधेयक पास गर्न तयार भएको दाबीसमेत गरे । ‘मैले ज्येष्ठ सदस्यको हैसियतमा अध्यक्षता गरेपछि एमाले र एकीकृत समाजवादीबीच सौहार्दपूर्ण वातावरण बन्यो, कांग्रेस पनि समितिबाट विधेयक पास गर्ने लाइनमा आयो, बरु माओवादी बिच्कियो, विधेयकको विपक्षमा उभियो,’ न्यौपानेले नयाँ पत्रिकासँग भने, ‘म कम्युनिस्ट पार्टी छिटोभन्दा छिटो मिल्नुपर्छ भन्ने पक्षमा छु ।’