निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
टेकराज थामी काठमाडाैं
२०७९ असार २४ शुक्रबार ०८:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपप्राध्यापक आक्रमणमा संलग्नविरुद्धको मुद्दा प्रकरण : आक्रमणअघि अभियुक्तहरूबीच १९७ पटकसम्म फोनवार्ता

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असार २४ शुक्रबार ०८:५८:००

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नुअघि मुख्य योजनाकारहरू हरिप्रसाद आचार्य र योगेन्द्र रावलबीच १९७ पटकसम्म टेलिफोनवार्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सरकार अहिले उनीहरूसहित सबै अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने अन्तिम तयारीमा छ । 

आचार्य र रावलको योजनामा उप–प्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो । जसमा रूपेश साह, रविनकुमार लामा, नीरज रानामगर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा संलग्न थिए । २६ असोजमा उनीहरूविरुद्ध प्रहरीमा मुद्दा परेको थियो । आचार्य र रावल फरार भएका थिए भने अन्य पाँचजनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेस गरेको अनुसन्धान प्रतिवेदनअनुसार आक्रमण गर्नुअघि आचार्यको मोबाइल नम्बर ९८५७०२०५२२ र रावलको ९८५११६७१३५ नम्बरको मोबाइलमा १९७ पटक वार्ता भएको छ । आचार्य त्रिविस्थित नेपाल विद्यार्थी संघ एकाइका सभापति र रावल सचिव हुन् । 

उप–प्राध्यापक चलाउनेमाथि आक्रमणमा संलग्न अभियुक्त साह, ओझासँग पनि आचार्यको पटक–पटक वार्तालाप भएको छ । अदालतमा पेस गरिएको प्रतिवेदनअनुसार घटना हुनुअघि र पछि साहसँग आचार्यको १४ पटक कुराकानी भएको छ । साहले प्रयोग गर्ने ९८४२४७३७३०, ९८०३१६१८९३, ९८०३१६२१०९ र ९८०४८४३६९२ नम्बरका मोबाइलमा ‘कल’ गरेर र आचार्यले उनीसँग कुराकानी गरेको अनुसन्धानबाट खुलेको छ । 

त्यस्तै, अर्का अभियुक्त ओझासँग आचार्यले घटना हुनुअघि र पछि ३४ पटकसम्म वार्ता गरेका थिए । ओझाको ९८४८६१६१६५ र ९८१८३३५३९९ नम्बरको मोबाइलमा आचार्यले सम्पर्क गरेका थिए । आक्रमणमा साह मुख्य र ओझा सहायक भूमिकामा थिए । योजना कार्यान्वयन गर्न दुवै अभियुक्तलाई रावलले सम्पर्कमा ल्याएका थिए । 

आक्रमणमा सँगै संलग्न भएको हुँदा रावल र साहबीच भने टेलिफोनवार्ता भएको देखिँदैन । तर, ओझा र घटनाका अर्का अभियुक्त श्रेष्ठसँग भने रावलले नौपटक फोनवार्ता गरेको देखिन्छ । अनुसन्धान प्रतिवेदनअनुसार उनले घटना हुनुअघि र पछि ओझासँग २४ र श्रेष्ठसँग एकपटक कुराकानी गरेको देखिन्छ । दुुवैजनासँगको वार्ताका लागि रावलले ९८५११६७१३५ नम्बरको मोबाइल प्रयोग गरेका थिए । ओझाले ९८४८६१६१६५ र ९८१८३३५३९९ तथा श्रेष्ठले ९८४३३४५७५२ र ९८०३८८९२९२ नम्बरको मोबाइल प्रयोग गरेका थिए । श्रेष्ठलाई साहले नै रावलको सम्पर्कमा ल्याएका थिए । 

त्यस्तै, मुख्य आक्रमणकारी साहसँग लामाको १८२, नीरज रानाको ६, श्रेष्ठको २० र ओझाको एक सय ९० पटक वार्ता भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । आक्रमणका क्रममा साह र लामाले बाँसका लाठी जम्मा गरेका थिए । त्यसले नै साहसहित लामा, राना, श्रेष्ठ र ओझाले उप–प्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए । बाँसका लाठी घटनास्थलसम्म ल्याउन र घटनापछि भाग्न श्रेष्ठको बा. ८१प. २७८५ नम्बरको स्कुटर प्रयोग गरिएको थियो । 

आक्रमणपछि प्रहरीले आचार्य र रावलबाहेक सबैलाई पक्राउ गरेको थियो । थुनछेक बहसपछि गत वर्ष काठमाडौं जिल्ला अदालतले घटनामा संलग्न सबैलाई धरौटीमा छाडेको थियो । आचार्य र रावललाई जनही ५५–५५ हजार, साह र रविनलाई ५०–५० हजार, नीरज र श्रेष्ठलाई ३५–३५ हजार तथा ओझालाई २० हजार धरौटीमा छाड्ने आदेश भएको थियो ।

पीडित उप–प्राध्यापक चलाउनेका अनुसार आचार्य र रावलबाहेकका सबै अभियुक्त त्रिभुवन विश्वविद्यालयका विद्यार्थी होइनन् । आक्रमण गर्न पेसेवर अपराधी प्रयोग गरिएको उनको दाबी छ । ‘घटनाका मुख्य योजनाकार आचार्य र रावल टियूका विद्यार्थी हुन् । त्यसबाहेक अन्य अभियुक्त कोही पनि टियूका विद्यार्थी होइनन् । उनीहरू पेसेवर अपराधी हुन् । आचार्य र रावलले ममाथिको हमलामा उनीहरूलाई प्रयोग गरे,’ उनले भने । 

सरकारले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिए आफू आमरण अनशनमा जान बाध्य हुने चलाउनेले बताए । ‘सरकार मुद्दा फिर्ताको अन्तिम तयारीमा छ । मुद्दा अदालतमा विचाराधीन छ । प्रहरीको अनुसन्धानले घटनामा उनीहरू नै संलग्न भएको पुष्टि गरिसकेको छ । यति हुँदाहुँदै पनि मुद्दा फिर्ता भए म आमरण अनशनमा जान बाध्य हुन्छु,’ उनले भने, ‘न्याय नपाएपछि मसँग अरू के विकल्प रहन्छ र ?’