मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार ०९:५९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

केएमसी स्कुलमा मृत फेला परेकी रायमाझीको शव पोस्टमार्टम गर्न सहमति, आठ लाख क्षतिपूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार ०९:५९:००

बुद्धनगरस्थित केएमसी स्कुलमा मृत अवस्थामा फेला परेकी काभ्रेको तेमाल गाउँपालिका–८ की रमा रायमाझीको शव पोस्टमार्टम गर्न सहमति जुटेको छ । शनिबार बेलुका उनी स्कुलको कोठामा झुन्डिएको अवस्था फेला परेकी थिइन् । घटना शंकास्पद देखिएपछि परिवारका सदस्यले शव बुझ्न मानिरहेका थिएनन् । प्रहरीका अनुसार मृतकका परिवारलाई विद्यालय प्रशासन क्षतिपूर्तिबापत आठ लाख रुपैयाँ दिन राजी भएको छ । घटनाको निष्पक्ष छानबिन गर्न पनि दुई पक्षबीच सहमति भएको छ । सोही सहमतिपछि मृतकका परिवार शव पोस्टमार्टम गर्न सहमत भएका हुन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले विद्यालय प्रशासन र मृतक रायमाझी परिवारबीच सहमति भएपछि शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको बताए । ‘मृतकका परिवार र विद्यालय प्रशासनबीच सहमति भएको छ । सोही सहमतिअनुसार पोस्टमार्टम गर्न शव अस्पताल लगिँदै छ,’ उनले भने, ‘पीडित परिवारलाई विद्यालय प्रशासनले आठ लाख रुपैयाँ दिने भनेको छ । घटनाको अनुसन्धान गर्ने पनि सहमति भएको छ । दुई पक्षबीच सहमति भए वा नभए पनि प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने नै थियो ।’

२१ वर्षीया रायमाझी स्कुलमा सहायक म्यानेजर थिइन् । नयाँ बानेश्वरमा बस्ने उनी शनिबार बेलुका ८ बजेसम्म पनि नफर्किएपछि बहिनी गोमा खोज्ने क्रममा विद्यालय प्रशासन पुगेकी थिइन् । भित्र पस्न रोकेपछि सुरक्षागार्ड र गोमाबीच केही बेर विवाद भएको थियो । जोडबलले विद्यालय प्रवेश गरेकी उनले दिदी रमाको बारेमा म्यानेजरसँग सोधपुछ गरेका थिए । म्यानेजरले रमाको सम्बन्धमा सूचना दिन आनाकानी गरेपछि गोमाको मनमा चिसो पसेको थियो । केही बेर दुई पक्षबीच विवाद पनि चलेको थियो । दुवैजना खोज्न जानेक्रममा रमा विद्यालयकै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसलगत्तै विद्यालयका अधिकारी एकाएक सम्पर्कविहीन भएका थिए । त्यसपछि घटनामा शंका उत्पन्न भएको थियो । सोही विषयलाई लिएर शनिबार दिनभर विद्यालय परिसरअगाडि मृतकका आफन्त नाराजुलुसमा उत्रिएका थिए ।