१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीको अमेरिका र परराष्ट्रमन्त्रीको चीन भ्रमणको तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:o७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका र परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणको तयारी एकैसाथ सुरु भएको छ । प्रधानमन्त्री देउवा असार अन्तिम साता अमेरिका भ्रमणमा जाने तय भए पनि परराष्ट्रमन्त्रीको चीन भ्रमण टुंगिन बाँकी छ । यद्यपि, परराष्ट्र मन्त्रालयले भने यसको तयारी थालेको छ । 

प्रधानमन्त्री देउवा ३० असारमा अमेरिका प्रस्थान गर्ने गरी नेपाल र अमेरिकाका कूटनीतिक च्यानलमा तयारी भए पनि भ्रमण औपचारिक रूपमा घोषणा हुन बाँकी छ । ‘प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमण अपेक्षित छ, हामी तयारीमा छौँ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘भ्रमणको मिति तयारी, स्वीकृति र सार्वजनिक गर्ने एउटा प्रक्रिया हुन्छ । तय भइसकेपछि हामी सार्वजनिक गर्नेछौँ ।’ प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको औपचारिक भ्रमण गरेर फर्केपछि प्रधानमन्त्रीको भ्रमणको चर्चा सुरु भएको हो । प्रधानसेनापति शर्मा १३ असारमा अमेरिका गएर स्वदेश फर्केका छन् ।

प्रधानमन्त्री देउवाले २३ देखि २८ वैशाख ०५९ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । तत्कालीन माओवादीलाई आतंककारी घोषणा गरेर उनीहरूविरुद्ध सेना परिचालन गरेपछि देउवाको अमेरिका भ्रमण भएको थियो । दुई दशकको अन्तरपछि उनी नै प्रधानमन्त्रीका रूपमा जान लागेका छन् । प्रधानमन्त्री देउवाको वासिङ्टन र न्युयोर्क भ्रमणका लागि कूटनीतिक च्यानलमा छलफल भइरहेको छ । परराष्ट्र प्रवक्ता लम्सालले भनिन्, ‘भ्रमण आदानप्रदान हुने विषय नियमित प्रकृतिका हुन् । समय आएपछि सार्वजनिक हुन्छ ।’ 

परराष्ट्रमन्त्री डा. खड्काको चीन भ्रमण हुने प्रवक्ता लम्सालले बताइन् । चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको भ्रमण भएकाले अब परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण पनि हुने उनको भनाइ थियो । ‘द्विपक्षीय सम्बन्ध, परराष्ट्रमन्त्रीको भ्रमण तथा विभिन्न विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्रीको चीन भ्रमणको पूर्वतयारीका रूपमा छलफल भएको छ,’ लम्सालले भनिन् ।‘परराष्ट्र मन्त्रालयबाट परराष्ट्रमन्त्री खड्काको चीन भ्रमण होस् भनेर तारन्तार प्रस्ताव आइरहेको छ । तर, हाम्रो सरकारले यसबारे निर्णय गरिसकेको छैन,’ चिनियाँ राजदूतावासका एक अधिकारीले नयाँ पत्रिकासँग भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल भन्छिन् ‘प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमण अपेक्षित छ, हामी तयारीमा छौँ । भ्रमणको मिति तयारी, स्वीकृति र सार्वजनिक गर्ने एउटा प्रक्रिया हुन्छ । तय भइसकेपछि हामी सार्वजनिक गर्नेछौँ ।’

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले परराष्ट्रमन्त्री खड्कासँग १६ असारमा भिडियो छलफल गरेका थिए । कांग्रेस नेताको हैसियतमा खड्कासँग चिनियाँ नेताको संवादका क्रममा खड्काको चीन भ्रमणबारे छलफल भएको प्रवक्ता लम्सालले बताइन् । चिनियाँ कम्युनिस्ट पार्टीको वेबसाइटमा खड्काले कांग्रेसको विदेश नीतिबारे चिनियाँ नेतालाई जानकारी दिएको उल्लेख छ । 

एसपिपी : अमेरिकालाई पत्राचार गर्न बाँकी 
अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कार्यान्वयन नगर्नेबारे मन्त्रिपरिषद्को निर्णय अझै अमेरिकालाई पत्राचार भएको छैन । ६ असारमा मन्त्रिपरिषद्ले गरेको निर्णयको कपी ९ असारमा परराष्ट्र मन्त्रालयमा पुगे पनि त्यसबारे ठोस निर्णय भएको छैन । मुख्यसचिव शंकरदास बैरागीले परराष्ट्रसचिव भरतराज पौड्याल तथा रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिवलाई कार्यार्थ पत्र लेखेका थिए । मन्त्रिपरिषद्ले अमेरिकालाई चिठी लेख्ने निर्णय गरेको छैन, एसपिपी स्वीकार नगर्ने निर्णय कार्यान्वयन गर्नु भनेको छ । 
‘एसपिपीसम्बन्धी विगतका पत्राचारमा परराष्ट्र मन्त्रालय संलग्न थिएन ।

हामीले प्रधानमन्त्री कार्यालयको पत्र प्राप्त गरेका छौँ । अध्ययनका क्रममा छौँ,’ परराष्ट्रप्रवक्ता लम्सालले भनिन्, ‘अमेरिकालाई पत्राचार गरेका छैनौँ । सबै विषय अध्ययन गरेपछि उपयुक्त समयमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्छौँ । कार्यान्वयनका लागि हामी तयारीका काम गर्दै छौँ ।’ मन्त्रिपरिषद्को बैठक संख्या १०/०७९ को निर्णयअनुसार मुख्यसचिव बैरागीले परराष्ट्रसचिव पौड्याललाई चलानी नम्बर म.बै. ३२१÷७०७९ को चिठी लेखेर एसपिपी कार्यान्वयन नगर्न भनिएको छ । ‘अमेरिकालाई चिठी लेख्नु भन्ने निर्णय वा निर्देशन आएको छैन,’ परराष्ट्रका एक अधिकारीले भने, ‘कार्यान्वयन नगर्नू भन्ने निर्देशन आएको छ । कार्यान्वयन हुँदैन ।’

चीनले मंगलबार  २८१ विद्यार्थी फर्काउने
परराष्ट्रप्रवक्ता लम्सालका अनुसार कोभिड– १९ पछि चीनबाट नेपाल आएका विद्यार्थीमध्ये पहिलो चरणमा मंगलबार दुई सय ८१ जनालाई फर्काउने भएको छ । ‘पहिलो चरणमा दुई सय ८१ जना विद्यार्थी चीन फर्किनेछन् । हामीले चिनियाँ दूतावासलाई आठ सय ५० जनाको सूची दिएका छौँ,’ प्रवक्ता लम्सालले भनिन् । 

ad
ad