मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 10 July, 2025
नवराज मैनाली काठमाडाैं
Invalid date format o५:५५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विभूषणमा संख्या घटाउन  नसकेपछि सुनको परिमाण घटाइयो

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५५:oo

नेपालरत्न विभूषणमा एक सय ७५ ग्राम सुन हुन्थ्यो, अब ९० ग्राम मात्र राखिने

गत १ वैशाखमा सरकारले करिब नौ सयजनालाई विभिन्न प्रकारका विभूषण वितरण गर्दा राज्यको ढुकुटीबाट १८ करोड खर्च भयो । यस वर्ष पनि विभूषण छनोटको तयारी सुरु भइसकेको छ । तर, संख्या घटाउनेभन्दा पनि विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर सरकारले बजेट समायोजन गर्ने रणनीति लिएको छ । 

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने निर्णय गरेको हो । विभूषणको बनावटमा परिवर्तन नहुने गरी सुनको परिणाम घटाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । विभूषणमा हुने खर्च घटाउन सुनको परिणाम घटाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । 

हाल नेपालरत्न विभूषणमा एक सय ७५ ग्राम सुन प्रयोग हुन्छ । अब ९० ग्राम मात्र राखिने भएको छ । त्यस्तै, चार सय २५ ग्राम चाँदी र ४२ ग्राम हिरा प्रयोग हुन्छ । जसअनुसार नेपालरत्न बनाउन नै करिब २५ लाख रुपैयाँ खर्च हुने गर्दछ । गत १ वैशाखमा सरकारले नेपालरत्न पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरेको थियो । 

त्यस्तै, राष्ट्र गौरवमा राखिने ४५ ग्राम सुन घटाएर ३० ग्राम, महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी एक सय ३० ग्रामबाट घटाएर ८५ ग्राम, महाउज्ज्वल राष्ट्रदीप द्वितीय श्रेणीको ९० ग्रामबाट घटाएर ६० ग्राम राख्ने निर्णय भएको छ । त्यस्तै, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा ४५ ग्राम सुन प्रयोग हुनेमा अब ३० ग्राम मात्र प्रयोग हुनेछ । कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीको विभूषणमा ३५ ग्रामबाट घटाएर २० ग्राम सुन राखिनेछ । राष्ट्रदीप प्रथम श्रेणीको हकमा भने ६ ग्राम नै राखिएको छ । 

त्यस्तै, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीको विभूषणमा यसअघि एक सय २० ग्राम सुन प्रयोग हुनेमा अब ८४ ग्राम, द्वितीय श्रेणीमा ८५ ग्रामबाट घटाएर ५९ ग्राम, तृतीयमा ३५ ग्रामको सट्टा २५ ग्राममा राखिनेछ । ‘विगतमा थोरै विभूषण दिइन्थ्यो, त्यसकारण डिजाइन गर्दा त्यसमा धेरै सुन राख्दा पनि खर्च धेरै हुँदैनथ्यो,’ गृहका एक अधिकारीले भने, ‘अहिले संख्या बढेपछि खर्च धान्नै गाह्रो भयो, त्यसकारण सुनको परिणाम घटाउनुपरेको हो ।’ 

विभूषणसम्बन्धी नियमावलीको अनुसूची संशोधन गरेर सुनको परिमाण घटाइएको हो । तर, नियमावलीमा संख्या तोकेर यसमा सुधार गर्न सकिने भए पनि त्यसतर्फ छलफल नै हुन सकेन । आगामी ३ असोजमा संविधान दिवसका अवसरमा विभूषणको घोषणा हुँदै छ । यसपटक पनि गत वर्षभन्दा संख्या घट्ने सम्भावना कम रहेको स्रोत बताउँछ । यस वर्ष अर्थ मन्त्रालयले रकमान्तर गरेर विभूषणका लागि बजेट विनियोजन गरेको थियो ।