१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रतुवा नदीमा आएको बाढी बस्ती पसेपछि सामान निकाल्दै पीडित । तस्बिर : नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:o२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बाढी बस्ती पसेपछि पीडितको धर्मशाला र टहरामा वास

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:o२:oo

रतुवा नदी तटबन्धको ठेक्का पाएको निर्माण कम्पनीले काम नगर्दा झापामा बाढीबाट ठूलो क्षति, तीन सय परिवार विस्थापित, एक हजारभन्दा बढी प्रभावित

झापाको गौरादह नगरपालिका–५, चप्रमारीकी हसिना खातुनको घरमा पानीको भेल बगिरहेको छ । बाढीबाट उनको परिवार विस्थापित भएर चप्रमारी बजारको धर्मशालामा पुगेको छ । 

उनको घरनजिकै रतुवाले तटबन्ध भत्कायो । विगतमा जनताको तटबन्धले आपत्को वेलामा बाँसका तटबन्धबाट पनि जोगाउँथ्यो । तर, यसपटक भने त्यो काम गरेन । एसियाली विकास बैंकको ऋण सहयोगमा रतुवा–मावाका १९ ठाउँमा नदी नियन्त्रणको ठेक्का लागेको छ । त्यसकारण जनताको तटबन्धले पनि आपत्कालीन काम गरेन । ‘सधैँ तटबन्ध गर्छौं भन्थे, तर अहिलेसम्म गरेनन् । त्यही भएर खोला गाउँमा पस्यो,’ खातुनले भनिन्, ‘खोलाको मुख्य धार नै घरमा बग्दै छ । बालबच्चासँग त धर्मशालामा बस्न धेरै गाह्रो हुने रहेछ । ओढ्नेओछ्याउने सबै डुबेको छ ।’

गौरादह–५, चप्रमारीकी सयाना खातुनको सोमबार रातिबाट घरमा वास छैन । रतुवा नदीले कटान गरेपछि उनको घरमा पानी पसेको छ । उनी चप्रमारीस्थित धर्मशालामा बसेकी छन् । स्थानीय सरकारले बुधबार साँझसम्म केही सहयोग गरेको थिएन । उनी दुई दिनसम्म भोकै बसिन् । ‘कसैले कहीँबाट केही दिएन । दुई दिनसम्म त भोकै भइयो । ठूला मान्छे त जसोतसो मन बुझाउँछौँ, केटाकेटीलाई के गर्ने ? उनीहरू मान्दैनन्,’ उनले भनिन्, ‘घरमा भएको सबै बगायो । आफूसँग किनेर खाने पैसा पनि छैन । दिउँसो (बुधबार) नजिकैका छिमेकीकोमा भात खाएँ । त्यसले कति दिन धान्नुपर्ने थाहा छैन ।’

झापा गौरादह–६, दामुनास्थित सुकुमबासी बस्तीकी मन्सो ऋषिदेवको घरमा बाढी पस्यो । सोमबार रातभरको भारी वर्षासँगै रतुवा नदी धार परिवर्तन गर्दै उनको घरमै पस्यो । दुःख गरेर बनाएको टाटीको घरको बेरा र घरमा भएका केही सामान पनि बगायो । उनको परिवार ज्यान बचाउन दामुना बजार आइपुगेको छ । बजारमा सागसब्जी बेच्न राखिएको टहरामा उनीसँगै ३० घर सुकुमबासी बाढी छल्दै आइपुगेका छन् । ‘दुःख गरेर घर बनाएका थियौँ । टाटी (बेरा) र भुइँ सबै बगायो,’ उनले भनिन्, ‘घरमा खोला कुदेको छ । यो सुकुमबासी बस्तीमा यति जग्गाबाहेक अन्त कतै केही छैन ।’ 

घर फर्कन सक्ने अवस्था पनि छैन । घरमा खोला कुदिरहेको छ । उनीहरूको सुकुमबासी बस्तीका ३० परिवार टहरामा चिउरा र भुजा खाएर बसिरहेका छन् । ‘यो टहरामा न बार छ, न त सुत्ने राम्रो ठाउँ छ । निकै गाह्रो भएको छ,’ बाढीले विस्थापित जग्दीश ऋषिदेव भन्छन्, ‘घरमा कम्मरकम्मर पानी छ । भएको लत्ताकपडा पनि सबै पानीमै डुब्यो । घरमा फर्कन सक्ने अवस्था नै छैन । कहाँ बस्ने, के खाने चिन्ता छ ।’

रेडक्रस सोसाइटी झापाले विभिन्न नदीले तीन सयभन्दा बढी परिवार तत्काल घर फर्कन नसक्ने गरी विस्थापित भएको जनाएको छ । करिब एक हजार परिवार बाढीको प्रत्यक्ष प्रभावमा परेका छन् । ‘यसपटक बाढीको जोखिम धेरै देखियो । ठूला नदी खासै बढेनन् । चुरेबाट बग्ने नदी बढ्दा यस्तो भयो । मौसम विभागले औसतभन्दा बढी पानी पर्छ भनेको छ,’ रेडक्रस झापाका सभापति लोकराज ढकालले भने, ‘अब ठूला नदी बढे भने के हुन्छ ? त्यसकारण सतर्कता अपनाउन जरुरी छ ।’

निर्माण व्यवसायीले समयमा काम नगर्दा बाँध फुटाउँदै बाढी बस्तीमा
नदी तटबन्धको अन्तर्राष्ट्रियस्तरको ठेक्कामा निर्माण कम्पनीले लापरवाही गर्दा बस्तीमा पानी पसेको हो । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एक वर्षअघि झापाको रतुवा नदी र झापा–मोरङ सीमाको मावा नदीको विभिन्न १९ ठाउँमा ठेक्का लागेको थियो । चिनियाँ कम्पनी एचजेठएमसी र नेपाली कम्पनीहरू मैनाचुली, रोशन निर्माण कम्पनीले संयुक्त रूपमा आयोजनाको ठेक्का लिएका थिए । एक अर्बको यो तटबन्ध निर्माण योजना निर्माणका लागि यी कम्पनीले ७० करोड ४६ लाख पाँच हजार ३२० मा ठेक्का लिएका थिए ।

११ जेठ ०७८ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले रतुवा र मावाको १९ ठाउँमा ११ दशमलव ८ किलोमिटर तटबन्धन निर्माण गर्नुपर्ने सम्झौता छ । तर, ठेक्का लिएको एक वर्षसम्म पनि काम नगर्दा नदी कमजोर भागलाई भत्काउँदै धार परिवर्तन गरेर बस्तीमा पस्यो । ‘एडिबीको ठेक्कामा निर्माण कम्पनीले लापरवाही गर्दा यस्तो अवस्था आयो । तटबन्ध निर्माणको ठेक्का पनि लागेको हो । तर, ठेकेदारले काम गरेनन्,’ स्थानीय भगवान राजवंशी भन्छन्, ‘हामीले कति भन्यौँ । तर, काम नै भएन । अब ठेकेदारलाई के हुन्छ ?’

चप्रमारीमा तटबन्ध गरेर नदी नियन्त्रण गरेको भए यति ठूलो क्षति नहुने रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल बताउँछन् । ‘यहाँबाट नदीले तटबन्धन भत्काएर गौरीगन्जसम्म पुगेको छ । एक सय ५० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । खेतीयोग्य जग्गा त कति बिगा¥यो, लेखाजोखा छैन,’ उनले भने, ‘यो ठाउँमा वेलैमा नदी नियन्त्रण गर्न सकेको भए यस्तो क्षति हुने थिएन ।’

एडिबीको ऋण सहयोगमा ठेक्का लागेको यो काम तीन वर्षमा सक्नुपर्ने भए पनि एक वर्षमा पाँच प्रतिशत मात्र काम भएको यसको अनुगमन गर्दै आएको निकाय जनताको तटबन्ध कार्यक्रम झापाले जनाएको छ । ‘यो अन्तर्राष्ट्रियस्तरको ठेक्का हो । तर, कामचाहिँ अपेक्षाकृत भएन । उहाँहरूले पेस गरेको कार्ययोजनाअनुसार एक वर्षमा ३३ प्रतिशत काम हुनुपर्ने हो । तर, हालसम्म पाँच प्रतिशत पनि भएको छैन । १९ वटा स्थानमध्ये एक ठाउँमा मात्र काम हुँदै छ,’ जनताको तटबन्ध झापाका प्रमुख रूपनारायण अधिकारीले भने, ‘नदी नियन्त्रणजस्तो काममा निर्माण व्यवसायी संवेदनशील हुनुभएन । हिउँदभर काम गर्नुभएन, बर्खा लागेपछि काम सुरु गर्नुभएको छ ।’ 

मैनाचुली निर्माण कम्पनीका सञ्चालक मदन अधिकारीले भने कोरोना, निर्माण सामग्रीको मूल्यवृद्धि र स्थानीय तह निर्वाचनका कारण समयमा काम गर्न नसकिएको दाबी गरे । ‘ठेक्का टेन्डर स्वीकृत भयो । तर, कोभिडको कारणले कार्यालय नखुल्दा भदौमा मात्र सम्झौता पेपरमा ब्याक डेटमा हस्ताक्षर गरियो । त्यसपछि एडिबीको प्रोजेक्टमा पहिला भएको डिजाइनमा खोलाले स्वरूप परिवर्तन गरेको हुन्छ । रिडिजाइन गर्नुपर्छ, बर्खाको वेला सकिँदैन । गत वर्ष असोजसम्म बाढी आयो । हामीले त्यसपछि डिजाइन गरेर पठायौँ,’ उनले भने, ‘त्यसपछि अचाक्ली मूल्यवृद्धि भयो ।’

ad
ad