१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ असार १५ बुधबार १२:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेँसीसहर–चामे सडकमा सधैँको सास्ती, खरखरे भिरमा दैनिकजसो पहिरो

Read Time : > 1 मिनेट
२०७९ असार १५ बुधबार १२:३४:००

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडकमा बर्खा र हिउँद दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बेँसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि नागरिकले सास्ती व्यहोर्नुपरेको छ ।

बर्खा लागेसँगै सडकको विभिन्न ठाउँमा पहिरो खस्दा दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । सडकको धेरै ठाउँमा पहिरो खस्नुको साथै केही ठाउँमा भासिएको छ । सवारीसाधान र पैदल यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । खुदीकी सुशीला पौडेल डराई–डराई जोखिमपूर्ण रूपमा पहिरोबाटै वारपार गर्नुपरेको बताउँछिन् । उनी भन्छिन्, ‘पानी परेपछि हिँड्नै डर हुन्छ, पहिरो खस्छ कि भन्दै कतिन्जेल डराएर यात्रा गर्नुपर्ने हो ।’ 

बेँसीसहर नगरपालिका– ६ चण्डीस्थानकोे खरखरे भिरमा पहिरो खस्दा दैनिकजसो सडक अवरुद्ध हुने उनी बताउँछिन् । ‘सडक बनेको २५ वर्ष भयो, कहिल्यै राम्रोसँग हिँड्न पाइएन,’ खुदीका वीरेन्द्र भण्डारीले भने, ‘कालोपत्रे भइसक्नुपर्ने सडक अझै उस्तै छ । सवारीसाधनमा यात्रा गर्न सधैँ डराउनुपर्छ ।’ उत्तरी क्षेत्रको सिंगो मर्स्याङ्दी गाउँपालिका जाने एक मात्र बाटो पनि यही हो । मनाङ जानलाई अर्को विकल्प छैन । सडक विभागमातहतको उक्त सडक डिभिजन सडक कार्यालय दमौलीले हेर्दै आएको छ । 

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बेँसीसहर–चामे सडकमा दैनिकजसो बाढीपहिरो र बाटो खुलाउन तत्काल डोजर र प्रहरी परिचालन गर्ने गरिएको बताए । पानी परेसँगै बेँसीसहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकाको घोप्टेभिर, काप्रेभिर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतमा ठाउँमा पहिरो चलेपछि उत्तरी क्षेत्रका स्थानीय र मनाङका स्थानीयलाई सास्ती हुने गर्दछ । 

वर्षायाम तथा हिउँदमा समेत चण्डीस्थानको अक्करखोला, उत्तीसघारी र चिसापानीवरपर झरिरहने पहिरोले बेँसीसहरदेखि खुदीसम्मको यात्रा झनै जोखिम र कष्टपूर्ण बन्ने गरेको छ । मर्स्याङ्दी गाउँपालिका– ९ का जीवन थापाले बर्खा लागेसँगै बाढीपहिरो खसेको दिनमा डोजरले बाटो बनाए पनि पुनः भोलिपल्ट पहिरो जाने गरेको र बाटोमा हिँड्न नसकिएको बताए । 

सदरमुकाम बेँसीसहरबाट तीन किलोमिटरको दूरीमा रहेको उत्तीसघारी खरखरेमा हिउँद–बर्खा दुवै समय पहिरो खस्ने गर्छ । मर्स्याङ्दी– ९ कै विकास थापाका अनुसार पहिरो पन्छाउने दीर्घकालीन उपाय नअपनाउँदा सधैँ सास्ती खेप्नुपरेको हो । लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बेँसीसहर–चामे सडकमा बाढीपहिरोले सडक अवरुद्ध हुँदा बाटो खुलाउन तत्काल डोजर र प्रहरी परिचालन गर्ने गरिएको बताए । 

नेपाली सेनाले १९ वर्ष लगाएर पाँच वर्षअघि ट्रयाक सम्पन्न गरी सडक विभागलाई जिम्मा लगाएको थियो । लमजुङ सदरमुकाम बेँसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर दूरी रहेको सडक पार गर्न सवारीसाधनलाई ६ घन्टा लाग्छ । यात्रु मात्र होइन, यात्रु बोक्ने सवारीचालकसमेत सडकको हालत देखेर चिन्तित छन् । सडक विभागले आर्थिक वर्ष ०५१–५२ मा बेँसीसहर–चामे सडक निर्माण थालेको थियो ।

द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि ६ वर्षअघि मात्र सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।