१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o९:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज असार १५ : खेतमा काम गरी दहीचिउरा खाने दिन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:o४:oo

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीचिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीचिउरा खान्छन् । यसवेला दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दहीचिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीचिउरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दहीमा अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने वेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।  

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यबर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।  

पखाला लागेका वेला दहीचिउरा खाएमा औषधिको काम गर्छ । यसैले दहीचिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।  

धान दिवस  

०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी ०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।  

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।    

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिक रूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दहीचिउरा खाने संस्कृति प्राचीनकालदेखि नै रहिआएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् । 

ad
ad