१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२०७९ असार १३ सोमबार ०६:२२:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठक आजदेखि : के छ अध्यक्ष माधव नेपालको प्रतिवेदनमा ?

मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीको आज शपथ

Read Time : > 5 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ असार १३ सोमबार ०६:२२:००

पार्टीले फिर्ता बोलाएको तीन सातापछि एकीकृत समाजवादीका चार मन्त्री सरकारबाट बाहिरिएका छन् । २२ जेठमा पार्टी केन्द्रीय सचिवालयले गरेको मन्त्री हेरफेरको निर्णयप्रति असहमति राखेर अन्तरपार्टी संघर्ष गर्दै आए पनि उनीहरूका मागलाई पार्टीको कुनै पनि कमिटीले सुनुवाइ नगरेपछि चार मन्त्री अन्ततः आइतबार बहिर्गमित हुन बाध्य भएका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २२ जेठमा बुझाएको मन्त्री हेरफेरको निर्णयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले २२ दिनपछि कार्यान्वयन गरेका छन् ।

पार्टी निर्णय कार्यान्वयन नगरे जुनसुकै कदम चाल्न सक्ने एकीकृत समाजवादीको चेतावनीपछि दबाबमा परेका प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको कदम चालेका छन् ।प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुपूर्व बहिर्गमनमा परेका चार मन्त्रीमध्ये दुईजनाले मात्र राजीनामा बुझाएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाहेक बाँकी दुई मन्त्रीले औपचारिक रूपमा राजीनामापत्र बुझाउन भ्याएनन् । स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ नेपालले प्रधानमन्त्री देउवालाई बुझाएको पत्रकै आधारमा बहिर्गमित भएका छन् । 

आले र झाँक्री भने राजीनामापछि मन्त्रालयमा बिदाइ मन्तव्य दिएर औपचारिक रूपमै बिदाइ भए । मन्त्रालयको बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक रूपमा प्रस्तुत भइन्, पटक–पटक आँसु खसालिन् । २२ असोज ०७८ मा मन्त्री नियुक्त भएपछि पदभार ग्रहणको कार्यक्रममा प्रफुल्लित मुद्रामा प्रस्तुत झाँक्रीले रुँदै सिंहदरबार छाडेकी छिन् । बिदाइ कार्यक्रममा पार्टी निर्णयका कारण बहिर्गमित हुनुपरेकोमा झाँक्रीले असन्तुष्टिको जनाउ मात्र दिइनन्, पार्टी नेतृत्व र नियुक्तिको पर्खाइमा रहेका मन्त्रीहरूकै ‘काउन्ट डाउन’का कारण बाहिरिनुपरेको दुःखेसोसमेत पोखिन् । ‘हामी पार्टीबाट निर्णय भएरै आएका थियौँ । तर, साथीभाइले ५–६ महिनामै काउन्टडाउन सुरु गर्नुभो । मन्त्री बन्ने र बनाउनेले शपथ कहिले खाएको ? भन्दै फोन गरेपछि...’ झाँक्रीले भावुक मुद्रामा भनिन् ।

कडाभन्दा कडा र रिस उठ्ने प्रश्नको मात्रै सामना गर्ने भन्दै सञ्चारकर्मीको जिज्ञासाबाट ओझेल पर्न खोजेकी मन्त्री झाँक्रीले आफू ‘इमोसनल’ भएकै कारण प्रश्न ‘इग्नोर’ गरिरहेको खुलाएर आफूलाई कमजोर राजनीतिकर्मीका रूपमा प्रस्तुत गरिन् । पत्रकार सम्मेलनमा उनलाई बोल्न निकै सकस परेको थियो ।

पटक–पटक आँसु पुछेकी झाँक्रीले पत्रकार सम्मेलन सकिएको घोषणासँगै ‘यस्तो बोल्न नसक्ने मान्छे पनि हुन्छ’ भन्दै आफ्नो सकस व्यक्त गरेकी थिइन् । सुरुदेखि अन्तिमसम्म उनको प्रस्तुति हेर्दा जनमुखी कामको लयमा रहेकी एउटा मन्त्रीमाथि कतै उनको पार्टी नेतृत्व र प्रधानमन्त्रीले गरेको अन्याय समीक्षा होस् भन्ने सन्देश झल्किएझैँ देखिन्थ्यो । शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दा उनले ‘मन्त्रालयमा मिटिङ मात्र नगर्न, जहाँ काम गर्नुपर्ने हो त्यहाँ काम गर्न’ निर्देशन दिएकी थिइन् । आफू कम बोल्ने, धेरै सुन्ने, धेरै सुन्नेभन्दा धेरै गर्ने उद्देश्यले आएको बताएकी थिइन् । ‘भन्नेभन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौँ,’ कर्मचारीलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भनेकी थिइन्, ‘सहरी विकास मन्त्रालयले बजेट समर्पण ग¥यो भन्ने सुन्नु नपरोस् ।’

बिदाइ मन्तव्यमा भने धेरै गर्ने आफ्नो हुटहुटी बाँकी छँदै ब्रेक लागेको झाँक्रीले सायद सन्देश दिएकी थिइन् । सञ्चारकर्मीका सीमित प्रश्नको आंशिक जवाफ दिएकी उनले मन्त्रीबाट फिर्ता हुन गाह्रो नभए पनि मन्त्री फिर्ता बोलाउने निर्णय सञ्चारमाध्यमबाट थाहा पाउनु भने पीडादायी भएको बताइन् । ‘हामीले पहिले नै पार्टी नेतृत्वलाई हामीलाई फिर्ता बोलाउने कुरा मिडियाबाट थाहा पाउने अवस्था नआओस् भनेका थियौँ, तर त्यही भयो,’ झाँक्रीले भनिन्, ‘त्यसपछि हामीले प्रधानमन्त्रीसँग बजेट पास हुँदासम्मको अवधि पाउँछौँ–पाउँदैनौँ भनेर सोधेका थियौँ । प्रधानमन्त्रीले बजेट पास नभएसम्म मन्त्रिपरिषद् पुनर्गठन हुँदैन भन्नुभयो । त्यहीँबाट मुख्यसचिवलाई पनि फोन गरेर निर्देशन दिनुभयो । त्यसैलाई अनेक विषय बनाइयो ।’

मन्त्रालयका सचिवलगायतका कर्मचारीले मन्त्रीको जिम्मेवारी पूरा गर्ने क्रममा छोटो समयमै झाँक्रीले आफूलाई प्राविधिक रूपमा विकास गरेको भन्दै पुनः सहकार्यको आशा व्यक्त गरे । पुनः सहकार्यको झाँक्रीको आशा सम्बोधन गर्नकै लागि मन्त्रालयले बिदाइ कार्यक्रमको नाम राखेको थियो–फेरि भेटौँला । झाँक्रीले बिदाइ कार्यक्रममा धेरै सकस महसुस गरेपछि मन्त्रालयका सहसचिवले बिदाइको अन्त्यतिर सहज बनाउँदै भनेका थिए, ‘हजुरलाई एउटा कुरा स्मरण गराउन बिर्सेछु, यस मन्त्रालयमा हजुर र म एकै दिन आएका थियौँ, हजुर प्रधानमन्त्री हुँदा मैले मुख्यसचिवका रूपमा काम गर्ने मौका पनि पाउन सक्छु त्यसैले कार्यक्रमको नाम फेरि भेटौँला राखिएको हो ।’ 

उता, अलि हतारो मुद्रामा प्रस्तुत भएका पर्यटनमन्त्री प्रेम आले भने ‘कन्फिडेन्ट’का साथ बिदाइ कार्यक्रममा प्रस्तुत भएका थिए । आलेले आठ महिना २० दिनको कार्यकालमा आफ्नो कामप्रति ९० प्रतिशत सन्तुष्ट रहेको बताए । उनले देश–विदेशबाट ‘एक्सन मन्त्री’को उपमा पाएकोमा आफू धेरै खुसी रहेको सुनाए । ‘मन्त्री भएपछि दुई सय ६३ दिनसम्म समय बितेको पत्तो भएन । म प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्किएको राजनीतिक कार्यकर्ता हुँ, मलाई चाँडै रिजल्ट चाहिन्छ । जनतालाई छिटो सेवा प्रवाह उच्च प्राथमकितामा राखेँ,’ मन्त्री आलेले भने, ‘पत्रकारले कार्यकालमा आफ्नो कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर प्रश्न सोध्नुभयो भने मेरो उत्तर हुन्छ–९० प्रतिशत । मैले कामबाट ९० प्रतिशत नम्बर ल्याएको ठानेको छु ।’

उनले अहोरात्र काममा खटिएकै कारण आफूले देश–विदेशबाट एक्सन मन्त्री उपमा पाएको दाबी गरे । ‘कागजमा मात्र काम देखाउनेहरू मेरो निगरानीमा परे,’ उनले भने । आफ्नो कार्यकालमा त्रिभुवन विमानस्थल सुधार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलगायत थुप्रै काम गरेको सूची उनले पत्रकार सम्मेलनमा राखे । पशुपति धर्मशाला, क्यासिनो बक्यौता असुल, नागरिक उड्डयन प्राधिकरण, एनएसीको सुधार गर्दा शक्तिकेन्द्रहरूबाट थुप्रै दबाब र प्रलोभन आए पनि त्यसलाई पर्वाह नगरी प्रचलित कानुन, प्रधानमन्त्रीको निर्देशन, पार्टी अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत गठबन्धन सरकारको मार्गदर्शनमा क्रियाशील रहेको उनको भनाइ थियो । 

असभ्य शब्द बोलेको अडियो बाहिरिएर पटक–पटक विवादमा तानिएका मन्त्री आलेले आफूले जानाजान गलत नियतले केही पनि नबोलेको दाबी गरे । ‘काम गर्दै जाँदा बोल्न नजानेको भए नियत गलत थियो भन्ने नठान्नुहोला । म सिंहदरबारबाहिर सांसदको भूमिकामा हुन्छु, विकृतिमा खबरदारी गरिरहन्छु, पछि आउने नेतृत्वले पनि मेरो सुधारलाई निरन्तरता देओस्,’ आलेले भने । उनी पटक–पटक अडियो–भिडियो संवादमा विवादित बने । विपक्षीले आलेको राजीनामा पनि माग्यो । राजीनामाको केही अघि राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन रोस्ट्रममा उभिएका आलेले सांसद विमला राई पौडेलबाट त्यही विवादित अडियो–भिडियोसम्बन्धी संवादको प्रश्नको सामना गर्नुपर्‍यो । 

राजीनामाको तयारी गर्दागर्दै बहिर्गमनमा परे श्रेष्ठ र खतिवडा
उता, राजीनामा दिने अन्तिम तयारीमा रहेका श्रममन्त्री किसानकुमार श्रेष्ठले भने पार्टीले चिठी बुझाइसकेकाले औपचारिकताका लागि बुझाउनु नपर्ने सन्देश पाएपछि रोकिए । ‘राजीनामा तयार पारिएको थियो, बिदाइ कार्यक्रमको टुंगो लागेको पनि थिएन, तर पार्टी अध्यक्षले हेरफेरको सूचीसहित निर्णय बुझाइसकेपछि राजीनामा बुझाइरहनुपरेन भन्ने सन्देश आएपछि उहाँ रोकिनुभयो,’ श्रेष्ठका स्वकीय सचिवालयका एक सदस्यले भने, ‘सायद अब उहाँको औपचारिक बिदाइ हुन पनि सक्छ, नहुन पनि सक्छ, मन्त्रालयले तयारी ग¥यो भने औपचारिक बिदाइ कार्यक्रम भोलि हुन सक्छ ।’ 

त्यस्तै, स्वास्थ्यमन्त्री विरोध खतिवडा बहिर्गमित भए पनि नयाँ मन्त्रीको शपथअघि सोमबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि उठेको प्रश्नको जवाफ दिने तयारीमै छन् । ‘सम्भवतः उहाँले उठेका प्रश्नको जवाफ दिनुहुनेछ, नयाँ मन्त्रीको शपथअघि उहाँले मन्त्रीकै हैसियतमा सम्बोधन गर्नुहुनेछ,’ खतिवडाको सचिवालय स्रोतले नयाँ पत्रिकासँग भन्यो । 

मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीको आज शपथ 
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले सोहीअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरेको जनाएको छ । पुनर्गठन भएको मन्त्रिपरिषद्मा सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी आएका छन् । राष्ट्रपति कार्यालय स्रोतले नयाँ मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजेका लागि तयारी गरेको छ ।

संघ र प्रदेशको निर्वाचनसम्म गठबन्धन आवश्यक
अध्यक्ष माधव नेपालले केन्द्रीय परिषद्मा

प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा देश राजनीतिक रूपमा दुई धारमा विभाजित भएको उल्लेख गरेका छन् । व्यक्तिवादी अहंकार, स्वेच्छाचारी, निरंकुश, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धारको नेतृत्व केपी ओलीले र संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धारको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको दाबी प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा पाँचदलीय गठबन्धन कम्तीमा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यक भएको उल्लेख छ । प्रज्ञा भवनमा दुई दिनसम्म चल्ने परिषद् बैठकमा देश–विदेशबाट १६ सय नेता–कार्यकर्ता सहभागी हुनेछन् । 

स्थानीय निर्वाचनमा गठबन्धनभित्र सात समस्या
१. गठबन्धन गर्न नै नचाहने
२. निर्णय कार्यान्वयन नगर्ने 
३. गठबन्धनभित्र उपगठबन्धन गर्ने
४. इमानदारीपूर्वक भोट नहाल्ने
५. गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने
६. सहकार्यको भावना ज्यादै कमजोर
७. आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति 
(कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखियो)

पार्टीभित्रका सात समस्या
१. गठबन्धन भइहाल्छ भनेर तयारीमा नलाग्ने
२. व्यक्तिलाई केन्द्रमा राखेर गठबन्धन गर्न चाहने प्रवृत्ति
३. गठबन्धन हुँदा टिकटका लागि तँछाडमछाड, 
नहुँदा उम्मेदवारी दिन तयारै नहुने
४. चुनावलाई पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने प्रवृत्ति
५. पार्टी टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने
६. टिकट नपाएपछि विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने
७. आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने 

पार्टीका चार कमजोरी, दुई उपलब्धि
कमजोरी : १) पार्टीको संगठित शक्ति बलियो नहुनु, 
२) स्रोत साधनको अभाव, ३) प्रचार सामग्रीको कमी, 
४) उम्मेदवारहरूको चयन गर्न ढिला हुनु
उपलब्धि : १) एक महानगरपालिका प्रमुख र एक उपमहानगरपालिका प्रमुखलगायत २० पालिकामा प्रमुख वा अध्यक्ष र २३ पालिकामा उपप्रमुख वा उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित महिला सदस्य र ३८९ खुला सदस्य गरी जम्मा ९८६ जना विजयी 
२) पार्टीको चुनावचिह्नको प्रचार

 सरकारबाट नहट्ने अडान लिएका मन्त्रीहरू यसरी भए ‘ब्याक’

निवर्तमान मन्त्री प्रेम आले भन्छन्–
मन्त्री हेरफेर गर्ने विषयमा पार्टीले गरेको निर्णयप्रति हाम्रा केही ‘रिजर्भेसन’ थिए । त्यसै सन्दर्भमा हामीले आफ्ना कुरा राख्न दलको बैठक बोलाउन लिखित माग गरेका थियौँ । दलको नेताले नै हामीलाई मन्त्री बनाउनुभयो । केही साथीहरूले उहाँ (माधव नेपाल)लाई नै हटाउनेसम्मको षड्यन्त्र रचेको थाहा पाएपछि मसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका हौँ । नेता हटाउने उद्देश्यले दलको बैठक बोलाउन माग गरेका थिएनौँ । पार्टी अध्यक्षलाई सहयोग गर्नुपर्छ र चित्त नबुझेको कुरा पार्टीभित्रै राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । माधव नेपालले हामीलाई मन्त्री बनाउने अनि हामीले उहाँलाई नै दलको नेताबाट हटाउने ? यस्तो पनि मिल्छ ? 

दलको नेतालाई हटाउने भन्नेसम्मका कुरा आएपछि हाम्रो हस्ताक्षर दुरुपयोग भयो भन्ने लागेर हामी ६ जनाले फिर्ता लिएका हौँ । त्यसअघि मैले कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ र धनबहादुर बुढा माननीयहरूसँग छलफल पनि गरेँ । मन्त्रीका लागि नाम प्रस्ताव गरिसकेपछि बधाईसमेत खाइसकेका, दौरा–सुरुवाल पनि सिलाइसकेका नेतालाई रोक्न मिलेन नि ! अध्यक्ष माधव नेपालले अर्कोपटक मन्त्री बनाउँदा भूगोल, लिंगलगायत सबै विषयमा सोचविचार गरेर समावेशी ढंगले अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । मैले मन्त्रीबाट राजीनामा दिइसकेको छु । अब पूर्ण रूपमा पार्टी काममा सक्रिय हुन्छु ।