मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार १२ आइतबार ११:२५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी सर्वोच्चको महिलाविरोधी फैसला 

Read Time : > 2 मिनेट
२०७९ असार १२ आइतबार ११:२५:००

पुराना प्रगतिशील निर्णय खारेज गर्ने सर्वोच्च अदालतको बहुमतले अमेरिकी जनताको नजरमा नजिर, जनमत र अदालतकै वैधतालाई च्युत गरेको छ । र, यसको मूल्य हामीले दशकौँसम्म चुकाइरहनेछौँ । 

याे घटना हुन्छ भन्ने थाहा भए पनि हामी स्तब्ध छौँ । इतिहासमा पहिलोपटक अमेरिकाको सर्वोच्च अदालतले मानवीय शरीरको सम्मान एवं स्वायत्ततालाई मध्यनजर गरेर निर्दिष्ट गरिएको संवैधानिक अधिकार खारेज गरिदिएको छ । शुक्रबार (२४ जुन २०२२) का दिन सर्वोच्च अदालतले ‘रो’ विरुद्ध ‘वेड’ र ‘प्लान्ड प्यारेन्टहुड’ विरुद्ध ‘क्यासे’ फैसलालाई उल्ट्याएसँगै २४ जुन २०२२ सम्ममा ६ करोड ४० लाख गर्भधारण गर्नलायक अमेरिकी महिलालाई आफ्ना शरीरसम्बन्धी एक दिनअगाडि अर्थात् २३ जुनमा भन्दा कम अधिकार हुनेछ । अर्को भाषामा भन्ने हो भने यी महिलालाई शरीरमाथिको अधिकार आफ्ना आमा र सम्भवतः हजुरआमाको भन्दा कम हुनेछ ।

अदालतको खारेजीको परिणाम विध्वंसात्मक छन्, जसले मुलुकलाई गर्भपतन कानुनसम्बन्धी संघर्षको नयाँ युगमा धकेलेको छ, जहाँ अराजकता, अन्योल र मानवीय पीडा देख्न सकिनेछ । अमेरिकाका करिब आधा राज्यमा गर्भपतनमा कडाइ गर्ने वा पूर्ण रूपमा अवैध बनाउने कानुन लागू हुने देखिन्छ । यस्ता कानुनले महिलालाई बच्चा जन्माउन बाध्य बनाउनेछ र यसमा बलात्कार वा हाडनाता करणीले गर्भवती भएका महिला पनि अछुतो हुनेछैनन् । गर्भपतन नै उपचार हुने स्थितिमा पुगेका गर्भवती महिला मारिन पनि सक्छन् अथवा गर्भपतन वैधानिक भएका राज्यमा जान नसक्ने महिला असुरक्षित गर्भपतनको प्रक्रिया अपनाउन बाध्य हुनेछन् । गर्भपतन वैधानिक भएका राज्यमा गएर गर्भपतन गराउने हैसियत भएका महिला पनि फौजदारी कारबाहीको जोखिममा पर्नेछन् । अब गर्भ तुहिनु पनि हत्या अनुसन्धानको दायरामा पर्न सक्छ (उसो त केही राज्यमा देखिएकै थियो) । शरीरमा आफ्नो पूर्ण नियन्त्रणबाट वञ्चित हुँदा महिलाले अमेरिकी समाजमा समान सदस्यको हैसियत गुमाउनेछन् ।          

शुक्रबारको फैसलाले महिलाको सम्मान र समानताको मात्रै अपमान गरेको छैन । यो फैसला लामो समयदेखि चलिरहेको कानुनी सिद्धान्तको स्पष्ट अस्वीकृति पनि हो, जसले वर्षौंदेखि विवादास्पद मुद्दामा अमेरिकी विचारलाई सफलतापूर्वक सन्तुलित र प्रतिबिम्बित गरेको छ । बहुसंख्यक अमेरिकी राज्य वा संघीय सांसदले नभई महिलालाई सबै वा अधिकांश अवस्थामा गर्भपतन गर्ने वा नगर्ने निर्णयमा कानुनी अधिकार हुनुपर्छ भन्ने विश्वास गर्छन् । र, यसबीच अमेरिकी जनता दशकौँदेखि चलेको गर्भपतनका पक्षमा हुने संघर्षमा सहभागी हुँदाहुँदा आजित भएका छन् ।

अदालतको फैसलापछाडिको मूल तर्क सतही रूपमा सरल देखिन्छ र निर्णय दिँदा प्रस्तुत गरिएका राय न्यायाधीश स्यामुएल एलिटोले गत फेब्रुअरीमा अरू न्यायाधीशलाई बाँडेको मस्यौदा रायसँग मिल्छ । जुन गत महिना प्रेसमा चुहिएको थियो । ‘संविधानमा गर्भपतनबारे केही उल्लेख नभएको र गर्भपतनसम्बन्धी कुनै प्रस्ट संवैधानिक प्रावधान नभएकाले’ र संविधानको १४औँ संशोधनले पनि यसबारे स्पष्ट नगरेकाले ‘रो’ र ‘क्यासे’लाई उल्ट्याउनुपर्ने भनेर फैसलामा बताइएको छ । र, १४औँ संशोधनले केही अधिकारको प्रत्याभूति गरे पनि ती अधिकारबारे संविधानमा प्रस्टसँग उल्लेख छैन र ती अधिकार ‘हाम्रो राष्ट्रको इतिहास र परम्परामा गहिरो रूपमा स्थापित हुनुपर्छ’ भनेर फैसलामा बताइएको छ ।

बहुमत न्यायाधीशका अनुसार गर्भपतन गर्ने अधिकार अमेरिकाको इतिहास र परम्परामा ‘गहिरो रूपमा स्थापित’ छैन । स्वभावतः अमेरिका एउटा यस्तो राष्ट्र हो, जसको संविधान सम्भ्रान्त गोरा पुरुषको सानो समूहले लेखेको थियो र अधिकांश रचयिता दास मालिक थिए । यति मात्र नभई यी सम्भ्रान्त संविधानका रचयिताहरू महिलालाई राजनीतिमा कुनै आवाज नभएको दोस्रो दर्जाका नागरिक मान्थे ।

फैसलामा असहमति व्यक्त गर्ने तीन न्यायाधीश स्टिफन ब्रेयर, सोनिया सोटोमायर र एलेना कागनले बहुमतको धूर्तताको आलोचना गरेका थिए र ‘गहिरो रूपमा स्थापित’ अधिकारको संकीर्ण व्याख्याले महिलाको छनोटको अधिकार मात्र नभई अन्य खतरा पनि निम्त्याउने उल्लेख गरेका थिए । बहुमत न्यायाधीशको इन्कार विश्वास गर्न असम्भव छ । असहमति व्यक्त गर्ने न्यायाधीशले ‘कि त बहुसंख्यकले आफ्नै तर्कमा विश्वास गर्दैनन् भन्ने देखाउँछ अथवा १९औँ शताब्दीको मध्यताका (जब संविधान लेखिएको थियो) नजोडिएका सबै अधिकार असुरक्षित छन्’ भन्ने बताएका छन् ।

यस फैसलाले अदालतले आफूलाई गर्भपतनमा रोक्नेमा मात्र सीमित गर्दैन भन्ने देखाउँछ । यदि अतिशयोक्ति लाग्छ भने २४ जुनको फैसलामा न्यायाधीश क्लेरेन्स थोमसको रायलाई हेर्दा हुन्छ, जहाँ उनले अदालतलाई अमेरिकीले लामो समयदेखि अभ्यास गरिरहेका अन्य संवैधानिक अधिकारको पुनः परीक्षण गर्न आग्रह गरेका छन् । यी अधिकारमा गर्भनिरोधक प्रयोग गर्ने अधिकार, आफूले रोजेको व्यक्तिसँग विवाह गर्ने अधिकार र कानुनी प्रताडनाविना सहमत वयस्कलाई सयनकक्षमा आफूलाई मन पर्ने व्यवहारको गोपनीयताको अधिकार समावेश छन् । यी अधिकारका संवैधानिक आधार पनि गर्भपतनको अधिकारको संवैधानिक आधारसँग मिल्न जान्छ र थोमस यो आधारलाई अस्वीकार गर्छन् ।  

यद्यपि, धेरै न्यायाधीश थोमसको मतमा सहमत नहुन सक्छन् । तर, आजभन्दा ६ वर्षअगाडि थोरै मानिसले मात्रै ‘रो’ विरुद्ध ‘वेड’ उल्टिने विश्वास गर्थे । ‘रो’ विरुद्ध ‘वेड’ ‘सर्वोच्च अदालतको एक महत्वपूर्ण नजिर हो, जुन धेरैपटक पुनः पुष्टि गरिएको छ’ ब्रेट काभानोले सन् २०१८ को आफ्नो पुष्टि सुनुवाइमा बताएका थिए । उनले ‘क्यासे’ले विशेष रूपमा ‘रो’लाई पुनर्विचार गर्‍यो र पुनः पुष्टि गर्ने निर्णय गर्‍यो । नतिजा, ‘क्यासे’ एक नजिरमाथिको अर्को नजिर बन्न पुग्यो’ बताएका थिए । यद्यपि, काभानोले करोडौँ अमेरिकीलाई थप समानता, सम्मान र स्वतन्त्रता दिने दुई पूर्व–फैसला उल्ट्याउन मतदान गरे । पुराना प्रगतिशील निर्णय खारेज गर्ने सर्वोच्च अदालतको बहुमतले अमेरिकी जनताको नजरमा नजिर, जनमत र अदालतकै वैधतालाई च्युत गरेको छ । र, यसको मूल्य हामी दशकौँसम्म चुकाइरहन बाध्य हुनेछौँ । 

न्युयोर्क टाइम्सको सम्पादकीय बोर्डबाट