१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ असार १२ आइतबार ०८:४३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

इन्फिनिटीपीडित पुगे सिआइबीमा 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ असार १२ आइतबार ०८:४३:००

इन्फिनिटी ग्लोबल ट्रेडर्स नामक पिरामिड नेटवर्किङ व्यवसायबाट ठगिएका पीडित नेपाली केन्द्रीय अपराध अनुसन्धान ब्युरो काठमाडौं पुुगेका छन् । विभिन्न प्रलोभन देखाई, झुटो कागजपत्रका आधारमा नेपाल, दुबई, साउदीलगायतका मुलुकमा नेपालीहरू ठगिएको भन्दै इन्फिनिटीका नाइकेहरू राकेश पन्त, उनकी श्रीमती भवानी सिटौलालगायतलाई खोजी गरिदिन आग्रह गर्दै पीडितहरू बुधबार ब्युरोमा पुगेका हुन् । पीडितमध्ये सम्झना गडाल, सेरु कुँवर, सचिन राना, सूर्य खड्काले सिआइबी कार्यालयमा पुगेर उजुरी दिएका छन् । त्यस्तै, सबै पीडितहरूको प्रतिनिधित्व गर्दै दुबईमा रहेका लक्षु उपाध्यायले इमेलमार्फत सिआइबीमा उजुरी दिएका छन् ।

कम्पनीमा लगानी गरेको रकमको तेब्बरसम्म फिर्ता हुने भन्दै इन्फिनिटीले ठगी गरेको पीडितहरूको गुनासो छ । लगानी गरेको सुरुमा केही फिर्ता आए पनि दोस्रो र तेस्रोपटक लगानी गरेपछि रकम फिर्ता आउन छाडेको पीडितहरूले बताए । इन्फिनिटी ग्लोबल ट्रेडर्स नामक कम्पनीका नाइकेहरूले ४० हजार नेपालीको एक अर्बभन्दा बढी रकम ठगी गरेको पीडित भीमबहादुर थापाको भनाइ छ । उनका अनुसार एकैजना व्यक्तिको २५ लाख रुपैयाँसम्म ठगी भएको छ ।

पीडितहरू एकबद्ध हुँदै 
इन्फिनिटी व्यवसायबाट ठगिएका नेपालीहरू अहिले इन्फिनिटीपीडित समूह नामक आइडीमार्फत एकबद्ध भइरहेका छन् । उनीहरूले सफट्वेयर नै बनाएर पीडितहरूलाई आफू ठगिएको नाम र रकम उल्लेख गर्न अनुरोध गरेका छन् । सो सफट्वेयरमा हालसम्म आठ सयभन्दा बढीले विवरण उपलब्ध गराएका छन् । अधिकांश व्यक्तिहरू आफू मात्रै नभई परिवार, आफन्त, साथीभाइसहित ठगिएका छन् । आफ्नो आइडीबाट अरूलाई रिफर गर्दा थप रकम पाइने प्रलोभनमा परेर उनीहरूले सयाैँ व्यक्तिहरूलाई रिफर गरेका छन् । 

को–को संलग्न छन् इन्फिनिटीमा 
इन्फिनिटीका मुख्य सञ्चालक मानिएका राकेश पन्तले नेपालमा संकलन गरिएको रकम आफ्नी श्रीमती भवानी सिटौलामार्फत दुबईमा संकलन गर्ने गरेको पीडितहरू बताउँछन् । नेपालमा श्रीमती सिटौलाले नगद उठाउँथिन् । यसका लागि श्रीमती सिटौलाद्वारा नेपालमा विभिन्न व्यक्तिहरू परिचालन गरिने पीडितहरू बताउँछन् । इन्फिनिटी ग्लोबल ट्रेडर्सका मुख्य डिजाइनर नेपाली नागरिक राकेश पन्त र भारतीय नागरिक दीपक भास्कर हुन् । यिनीहरूका साथमा इन्दिरा शाह, सुस्मिता खड्का, देवराज ओली, राजु जमकट्टेल, मनोज माझी, काजीलाल भारती, श्यामराज भारती, सूर्य खरेल, झनक भट्ट र राजन खतिवडा भएको इन्फिनिटी पीडितहरू बताउँछन् । राजन खतिवडा गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष पनि हुन् । 

पीडितहरूका अनुसार पन्तले दुबईमा ओरेन्टो भेराइटी रेस्टुरेन्ट खोलेका छन् भने विराटनगरमा ओरेन्टो मल्टी ट्रेडर्स का नाममा कम्पनी खोलेका छन् । पन्तले कामदारलाई नेपालमा जलविद्युत्, होटेल, अस्पताल, रियल इस्टेटलगायतका क्षेत्रमा लगानी गरिने र सबै लगानीकर्ता सो कम्पनीको मालिक हुने भन्दै झुटो आश्वासन दिने गरेको पीडितहरूको भनाइ छ ।

इन्फिनिटीले यसरी फसायो
भारतमा रोजगारी गर्ने हेटाैँडाका अमर जमरकट्टेरले बिदामा घर आउँदा ठूलाबुबाका छोरा राजु जमकट्टेलबाट इन्फिनिटी व्यवसायबारे थाहा पाए । लगानी गरेको एक वर्षमै तेब्बर फिर्ता आउने योजनाले उनलाई उत्साहित बनायो । सोही कारण उनले पहिलोपटक ०७८ असारमा एक हजार डलर लगानी गरे । त्यसैगरी, दोस्रोपटक १५ सय र तेस्रोपटक एक हजार डलर लगानी गरे । लगानीको केही रकम फिर्ता आएपछि उनले आफन्त र साथीहरूलाई पनि रिफर गरे । ‘मैले अरू १२ जनालाई रिफर गरेँ । तर, उनीहरूको एक सुको पनि आएन,’ उनले भने, ‘मलाई मेरो पैसा ठगियो भन्दा पनि आफन्तको ठगिएकोमा पिर छ । उनीहरूले त मलाई विश्वास गरे । मैले दाइलाई गरेँ। तर, उनीहरूको नजरमा म ठग भएँ । यो पीडाले मर्नु र बाँच्नु भएको छ ।’ 

नवलपरासीका सूर्यबहादुर केसी १० वर्षदेखि दुबईको आबुधाबीमा सुरक्षा गार्डको काम गरिरहेका छन् । उनले पनि इन्फिनिटीका नाइकेहरूबाट तेब्बरसम्म लगानी फिर्ता योजना सुनेपछि पटक–पकट गरी एक लाख ५० हजार डलर लगानी गरेको बताए । दाङका भीमकान्त अधिकारीदम्पती वैदेशिक रोजगारीका लागि दुबई पुगेको १२ वर्ष भयो । एक दिन मीना पाण्डेसँग उनीहरूको भेट भयो । मीनाले अधिकारीदम्पतीलाई इन्फिनिटीबारे सुनाइन् । त्यसपछि भीमकान्तले आफ्नी श्रीमतीसहित पाँच–पाँच सय डलर लगानी गरे । त्यो रकम फिर्ता पनि आयो । त्यसपछि उत्साहित भएका भीमकान्तले दुवैजनाका नाममा ६–६ वटा आइडी खोले र लगानी गर्न थाले । दुवैजनाका नाममा ३४ सय डलर लगानी गरेको उनले बताए ।