१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format o७:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा महिला रिभरगाइड तयार

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format o७:३४:oo

सुनकोसी  र ब्रह्मायणी नदी दोभान बलेफीमा स्थापना गरिएको र्‍याफ्टिङ स्कुल (ह्वाइट वाटर र्‍याफ्टिङ)ले नेपालमा पहिलोपटक महिला रिभरगाइड तयार पारेको छ । १ असारबाट सुरु भएको र्‍याफ्टिङ स्कुलमा देशभरका युवा महिला सहभागी छन् । झन्डै ३० जिल्लाका १८ देखि ३० वर्ष उमेरका ५३ महिलाले साहसिक रिभरगाइड बन्ने अवसर प्राप्त गरेका हुन् । 

नेपाल पर्यटन बोर्ड, युएनडिपीको एसपिएलआरपी र नेपाल एसाेसियसन अफ  र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा महिला रिभरगाइड प्रशिक्षण तथा १५ दिने प्राक्टिकल कोर्स सञ्चालन गरिएको छ । भैँसेस्थित सुकुटे भ्याली रिसोर्टमा क्याम्प खडा गरेर रिभरगाइड तालिम सञ्चालन भइरहेको नाराका महासचिव नारायण श्रेष्ठले जानकारी दिए । 

५३ युवा महिलालाई दक्ष रिभरगाइड बनाउन ६ जना सिनियर इन्स्ट्रक्टर र दुई एसिस्टेन्ट प्रशिक्षक लागेका छन् । तालिममा सहभागी सबैलाई खान, बस्न र आवश्यक र्‍याफ्टिङजन्य सामग्री निःशुल्क उपलब्ध गराइएको श्रेष्ठले बताए । तालिमका मुख्य प्रशिक्षक रेवती उपाध्यायले पहिलोपटक भए पनि महिलालाई र्‍याफ्टिङको आधारभूत तालिम प्रदान गर्न सफल भएको सुनाए । अर्को चरणको तालिमपछि रिभरगाइड अनुमतिपत्र प्रदान गरिने उनले बताए । नाथम कलेज र नाराबाट रिभरगाइड अनुमतिपत्र दिइन्छ । 

सुकुटेमा तयार भएका दक्ष महिला रिभरगाइडलाई यो वर्ष जापान, युरोप, अमेरिका, स्विडेन, अस्ट्रिया र क्यानडा पठाउने नाराको तयारी छ । ‘लाइसेन्सप्राप्त रिभरगाइडले सम्बन्धित देशको राजदूतावासबाट अनुमति लिएर सीधै काममा जान पाउने व्यवस्था छ,’ रिभरगाइड पेसा सिजनेबल भएको बताउँदै महासचिव श्रेष्ठले भने, ‘६ महिना जापानमा बसेर फर्कँदा एकजनाले ३० लाखसम्म आम्दानी गर्छन् ।’ जापान, युरोप र अमेरिकामा नेपाली रिभरगाइडको उच्च माग रहेको उनले बताए । सुकुटेस्थित होटेल र रिसोर्टहरूले साहसिक तथा मनोरञ्जनात्मक र्‍याफ्टिङ, कायाकिङ, रक क्लाइम्बिङलगायत खेल खेलाउने र सिकाउने गर्छन् । यहाँ दुई सयभन्दा बढी मानिसले रोजगारी पाएका छन् । 

दोहनले सुनकोसी कुरूप

पर्यटन क्षेत्रका लागि चर्चित भोटेकोसी र सुनकोसी नदी दिनदिनैको बढ्दो दोहनले कुरूप बनेको छ । रिभरगाइड तालिमका लागि देशभरबाट आएका महिला सहभागीले सुनकोसीको बढ्दो दोहन तत्काल नरोकिए पर्यटन क्षेत्र कुरूप हुने चिन्ता व्यक्त गरे । 

भोटेकोसी गाउँपालिकाको बोर्डरल्यान्ड रिसोर्टदेखि दोलालघाटसम्मको नदी क्षेत्रलाई र्‍याफ्टिङका लागि उत्तम मानिन्छ । जहाँ आधा दर्जन क्रसर र ठाउँठाउँमा बालुवा निकाल्ने ठेकेदारले दैनिक नदी उत्खनन गर्छन् । होटेल, रिसोर्ट र र्‍याफ्टिङ गर्ने नदी क्षेत्रमा कम उत्खनन गर्न पर्यटन व्यवसायीले स्थानीय सरकारसँग माग राखेका छन् ।