मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ११ शनिबार १३:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कतिपय पार्टीले धोका दिए पनि गठबन्धन आवश्यक छ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ११ शनिबार १३:५६:००

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनमा आबद्ध दलका नेताहरूले संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताएका हुन् । गठबन्धनसँग तालमेल गरेर र आफ्नै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टीपंक्तिलाई परिचालित हुन उनले आह्वान गरे ।

'गठबन्धनको आवश्यक्ता अहिले पनि छ। हिजो भएको पोलिटब्युराे बैठकमा बोल्ने अधिकांशको राय थियो– गठबन्धनप्रति हाम्रो धेरै गुनासो भए पनि कतिपय पार्टीहरूले धोका दिएको भए पनि, कतिपयले हामीलाई अपमान गरेको भए पनि, हामी आफैँले पनि आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेका कारणले गर्दाखेरि हामीले स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न सकेनौँ । तर, पनि गर्वका साथ भन्नुपर्दछ– महानगरपालिकामा समेत हाम्रो पनि उपस्थिति रहेको छ। त्यसमा पनि गठबन्धन दलका सबै घटकहरूले हामीसँग भन्नुभएको छ– मिलेरै जाऔँ,' उनले भने।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनका कतिपय दलहरूले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिबद्धता जनाएका बताए ।