मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुर उपमहानगरले करारका कर्मचारी हटाएपछि विरोध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

मेट्रो हस्पिटलका २१ जना करारका कर्मचारीलाई नवीकरण नगर्ने निर्णयसँगै  विराेध

तुलसीपुर उपमहानगरपालिकाले करारका कर्मचारीलाई हटाएपछि विरोध भएको छ । उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो हस्पिटलबाट केहीलाई नवीकरण गर्ने र केहीलाई नवीकरण नगरेर हटाउने निर्णय गरेपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले विरोध जनाएका हुन् । 

उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले मेट्रोका २१ जना कर्मचारीलाई नवीकरण नगर्ने निर्णय गरेको थियो ।  उनीहरूको असारमसान्तसम्म नियुक्ति थियो । त्यो नियुक्ति नसकिँदै र कुनै जानकारीविनै एकाएक कर्मचारीलाई हटाएपछि विरोध भएको हो । 

हस्पिटलमा हाल कार्यरत ३७ जना कर्मचारीमध्ये १६ जनाको नवीकरण भएको र बाँकी २१ जनाको नवीकरण नगर्ने निर्णय गरेको हो । तर, यो कुन विधिबाट कसलाई नवीकण गरियो र कसलाई हटाइयो भन्ने कुरा स्पष्ट नभएको स्वयं नगर प्रमुख टीकाराम खड्का स्वीकार गर्छन्  ।

‘कार्यपालिकाको बैठकले संघीय सरकारको निर्णयअनुसार २५ प्रतिशत कर्मचारीलाई मात्रै काममा लगाउने भनेपछि सोहीअनुसार कोही कर्मचारीको नवीकरण गरिएको र कोहीलाई बिदाइ गर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘कोरोनाको समयमा उहाँहरूलाई नियुक्ति गरिएको हो, कोरोना सकिएपछि अहिले केन्द्रले नै २५ प्रतिशत मात्रै कर्मचारी राख्ने भनी निर्देशन आयो, त्यहीअनुसार हामीले २५ प्रतिशत कर्मचारीलाई मात्रै नियुक्ति गर्ने निर्णय गरेका हौँ।’ 

यसअघि नगरप्रमुख घनश्याम पाण्डे हुँदा त्यहाँ अस्थायी दरबन्दी सिर्जना गरेर कार्यपालिकाबाटै पास गरेर कर्मचारी भर्ती गरिएको थियो । तर, ती कर्मचारीलाई हटाउँदा पनि विधिअनुसार गर्नुपर्ने  त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको माग छ । ‘हामी २१ जना कर्मचारीको नवीकरण गरिएको छैन, १६ जनालाई नवीकरण गर्ने निर्णय गरिएको रहेछ,’ अहेब सरस्वती बस्नेतले भनिन्, ‘यसरी कसैको नवीकरण गर्ने र कसैलाई हटाउने के आधारमा भयो, कुन विधिबाट गरियो, त्यो क्लिएर हुनुपर्छ ।’ 

यदि हटाउनुपर्ने अवस्था भए पनि आन्तरिक प्रतिस्पर्धा गराउनुपर्ने उनीहरूको माग छ । असारसम्म आफ्नो करारको अवधि भए पनि त्यसभन्दा अगाडि नै आफूहरूलाई हटाएको भन्दै यो कार्य गलत भएको सुरक्षागार्ड माथवरसिंह रावतले बताए । ‘हामीहरूले कोरोना महामारीमा खेलेको भूमिका महत्वपूर्ण छ, हामी  ज्यानको माया नगरेर कोरोना महामारीमा लड्यौँ,’ उनले भने, ‘तर, अहिले कुनै विधि–पद्धतिविना एकाएक हटाएपछि हामी आश्चर्यमा पर्‍यौँ, हामी यो कार्यको घोर विरोध पनि गर्दछौँ ।’

वैशाखयता आफूहरूले तलबसमेत नपाएको उनीहरूको गुनासो रहेको छ । यदि उपमहानगरपालिकाले आर्थिक अभावकै कारण कर्मचारी घटाउन खोजेको हो भने पनि आफूहरू तलब नलिएरै पनि काम गर्न तयार रहेकोसमेत उनीहरूको माग छ ।

‘नगरपालिकालाई आर्थिक अवस्था कमजाेर भएर यसरी कर्मचारी हटाउनुपरेको हो भने हामी भोलेन्टियर रूपमा पनि काम गर्न तयार छौँ,’ अहेब बस्नेतले भनिन्, ‘तर, हामीलाई यसरी हटाउन पाइँदैन ।  नातावाद, कृपावादका आधारमा गरिएको नियुक्तिको हामीलाई मान्य छैन् ।’ साथै कोभिड भत्ता पनि अहिलेसम्म नपाएको उनीहरूले गुनासाे गरेका छन् । सुरुमा त्यहाँ ४२ जनाको नियुक्ति भएको थियो । बाँकी रहेका ३७ जनामध्ये १६ जनाको नियुक्ति भएको  छ भने २१ जनालाई नियुक्ति नगर्ने निर्णय भएको छ ।