१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख ३० आइतबार o७:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मनसुन समयमै भित्रिए पनि मल अभावले देशभर ९३ प्रतिशत भूभागमा रोपाइँ हुन ढिलाइ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:५२:oo

यस वर्ष समयमै मनसुन भित्रिए पनि मल अभावको कारण धान रोपाइँमा ढिलाइ भइरहेको छ । कतिपय पहाडी जिल्लामा १५ जेठबाटै रोपाइँ सुरु हुने गर्छ । तर, असारको दोस्रो साता सुरु भइसक्दा पनि देशभरको करिब ९३ प्रतिशत भूभागमा रोपाइँ हुन बाँकी छ । कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलका अनुसार सातवटै प्रदेश गरी हालसम्म करिब ७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । 

यो वर्ष मल अभाव र मकै पाक्न समय लागेका कारण पनि धान रोपाइँमा केही ढिला भएको उनको भनाइ छ । अहिले रोपाइँ भएको अधिकांश क्षेत्रमा मलविना नै धान रोप्न किसान बाध्य भएको उनले बताए । मनसुन समयै भित्रिएका कारण मध्य–पहाडी र तराईका विभिन्न जिल्लामा धान रोपाइँ सुरु भइसकेको छ । ‘मुख्य रोपाइँ सुरु हुन बाँकी नै छ, रेकर्ड राख्ने काम १५ गतेबाट हुन्छ, तर विभिन्न जिल्लामा बुझ्दा करिब ७ प्रतिशत मात्र धान रोपिएको भन्ने आएको छ,’ पौडेलले भने । 

अहिले देशभरि नै मलको चरम अभाव भएका कारण धान रोपाइँमा ढिलाइ भइरहेको नेपाल कृषक संघका अध्यक्ष नवराज बस्नेतले बताए । ‘समयमै मनसुन भित्रियो, किसान खुसी भए, तर विनामल नै किसान धान रोपाइँ गर्न बाध्य भएका छन्’ उनले भने, ‘कैलाली, अछाम, डडेल्धुरा, डोटी बैतडीलगायतका जिल्लाहरूमा रोपाइँ सुरु भइसकेको छ, तर सरकारको कारणले किसानले यसपटक मलविनै बर्खेधान रोप्न बाध्य भए ।’

कृषि विभागका अनुसार देशभर बर्सेनि १५ हजार हेक्टर जमिनमा धान रोपाइँ हुने गर्छ । धान रोप्ने वेला डिएपी मलको आवश्यकता पर्छ भने धान रोपेको १२ देखि १५ दिनपछि युरिया मल चाहिन्छ । तर, अहिले देशभरि नै दुवै मलको अभाव छ । मुख्य धानबालीका वेला साढे तीन लाख मेट्रिक टनभन्दा बढी मलको आवश्यकता पर्छ । त्यसमध्ये डेढ लाखभन्दा बढी मल डिएपी र बाँकी युरिया मलको आवश्यकता पर्छ । साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले ल्याउन लागेको ४२ हजार मेट्रिक टन मलमध्ये २० हजार डिएपी असारको पहिलो साता आइसकेको छ । त्यो मल पनि जिल्ला जिल्लामा वितरण भइसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रबन्धक ब्रजेश झालेले बताए । उनका अनुसार करिब दुई हजार पाँच सय मेट्रिक टन युरिया मल आइतबारसम्म नेपाल आइपुग्नेछ । अहिले कृषि सामग्री कम्पनीमार्फत मल वितरण गर्ने ४१ वटा कार्यालय र पाँच हजार तीन सय सहकारीमार्फत देशभरका स्थानीय तहमा जाने मलका स्टोर खाली छन् । 

सरकारले मल ल्याउन नसक्दा व्यापारीहरूले भारतबाट लुकिछिपी ल्याएको मल महँगो मूल्यमा बिक्री गरिरहेको अध्यक्ष बस्नेतले बताए । ‘किसानलाई मल कति आवश्यकता छ भन्ने कुरा धादिङमा मलको गाडीमा गरेको हस्तक्षेपले पनि देखाउँछ, तर सरकारले बुझ्नसकेको छैन’ उनले भने, ‘भारतबाट व्यापारीले लुकिछिपी ल्याउन सक्छन् तर, सरकार ल्याउन सक्दैन यो किसानमाथिको जालझेल हो ।’ 

कृषि सामग्री कम्पनी लिमिटेडले खरिद गर्नेमध्ये ३० हजार मेट्रिक टन युरिया मल असारको दोस्रो हप्ता, २० हजार मेट्रिक टन डिएपी असारको तेस्रो हप्ता २० हजार मेट्रिक टन डिएपी असार अन्तिम साता आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ । त्यस्तै, भारतबाट जिटुजी (सरकारदेखि सरकार) माध्यमबाट खरिद हुने ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्तसम्म नेपाल आइपुग्ने भनिए पनि मल आउने कुनै संकेत नभएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘जिटुजी मलको त आस नै नगरे हुन्छ, अहिलेसम्म मूल्यसूची पठाएको छैन, कृषि सामग्री लिमिटेडमार्फत आउने मल पनि अहिलेसम्म आएको छैनन्,’ ती अधिकारीले भने । भारतसहित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको मिलाएर एक लाख १० हजार मेट्रिक टन डिएपी र ८२ हजार मेट्रिक टन युरिया मल वर्षेधानका लागि आउने मन्त्रालयले जानकारी दिँदै आएको छ ।

ad
ad