Skip This
धनगढी उपमहानगरले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:५o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धनगढी उपमहानगरले पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५o:oo
  • कृषकलाई वर्गीकरणका आधारमा व्यावसायिक कृषक परिचयपत्र वितरण तथा एकीकृत कृषि रणनीति निर्माण गरी लागू गरिने 
  • गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रको सडक सुधारका लागि पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धनगढीका प्रमुख गोपाल हमालले सडक पूर्वाधारको नियमित मर्मत–सम्भार तथा स्तरोन्नति गर्न मर्मत सम्भार एकाइ गठन गरी पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिने घोषणा गरे ।

नीति तथा कार्यक्रममा पूर्वाधार निर्माण र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । स्वतन्त्रबाट मेयरमा निर्वाचित हमालले विगतभन्दा केही नयाँ र फरक खालका कार्यक्रम घोषणा गरेका छन् भने केही पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । 

सहरी सडक निर्माण गर्दा पक्की नाली र फुटपाथ निर्माणलाई प्राथमिकता दिने नीति उपमहानगरले लिने हमालले बताए । नदी तथा खोलानालाको अतिक्रमण हटाएर किनारामा तटबन्ध र सडक निर्माण गर्ने कार्य आगामी वर्ष सुरु गरिने उनले घोषणा गरे । उपमहानगरले नगरभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरिसकेको छ ।

आगामी वर्षबाट योजनाबद्ध बस्ती विकास कार्यक्रमलाई कार्यान्वयनमा लैजाने घोषणा उपमहानगरले गरेको छ । विद्युत्, खानेपानी, ग्राभेल सडकजस्ता आधारभूत सेवा पुगेका बस्तीलाई प्राथमिकता दिई थप विकास गर्ने नीति लिइने मेयर हमालले बताए । घरनक्सा पास गर्दा पर्खालसहितको नक्सा तथा ठूला व्यावसायिक भवनहरू निर्माण गर्दा अन्डरग्राउन्ड पार्किङको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

किसानलाई परिचयपत्र वितरण गर्ने घोषणा पनि उपमहानगरले गरेको छ । ‘कृषकलाई वर्गीकरणका आधारमा व्यावसायिक कृषक परिचयपत्र वितरण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कृषिको विकासका लागि एकीकृत कृषि रणनीति निर्माण गरी लागू गरिनेछ ।’ एक वडा एक उत्पादनको नीति उपमहानगरले लिएको छ ।

विशेषज्ञ सेवालाई नागरिकको घरदैलोमा पुर्‍याउन सबै वडामा हरेक महिना विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने घोषणा पनि उपमहानगरले गरेको छ । त्यस्तै, प्रत्येक महिना नि:शुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । उपमहानगरले शतप्रतिशत संस्थागत सुत्केरीको लक्ष्य निर्धारण गरेको छ । एक वडा एक एम्बुलेन्स कार्यक्रम लागू गर्ने र गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई पालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने मेयर हमालले बताए । यी नयाँ कार्यक्रम हुन् ।

 ‘हाम्रो धनगढी हामी बनाउँछौँ’  महाअभियान सञ्चालन गर्ने
धनगढीलाई पूर्वाधारको हिसाबले दिगो, सुरक्षित, व्यवस्थित र समुन्नत नगर निर्माणको लक्ष्यसहित ‘धनगढी हामी बनाउँछाँै’ भन्ने महाअभियान सञ्चालन गर्ने नीति लिइएको छ । नगरवासीलाई विकासमा जोडेर धनगढीलाई समुन्नत सहरको रूपमा विकास गर्न पाँच वर्षे कार्यकाललाई हाम्रो धनगढी हामी बनाउँछौँ महाअभियानका रूपमा मनाउने नीति लिइने मेयर हमालले बताए ।

‘नगरलाई स्वच्छ, स्वस्थ र हरित नगरका रूपमा विकास गर्दै आगामी आर्थिक वर्षलाई सरसफाइ वर्षका रूपमा मनाइनेछ,’ हमालले भने, ‘एक वडा एक हरित उद्यान कार्यक्रम लागू गरिनेछ ।’ उपमहानगरले राना थारू समुदायको बसोवास रहेको धनगढीको जुगेडा गाउँलाई राना थारू होमस्टेका रूपमा विकास गर्ने घोषणा गरेको छ । त्यस्तै, पर्यटन विकासका लागि सडक महोत्सव सञ्चालन गर्ने उपमहानगरको योजना छ ।

लघु उद्यमबाट उत्पादित सामानको बजारीकरणमा सहयोग गर्न धनगढीमा निःशुल्क बिक्री कक्षको व्यवस्था गर्ने नीति उपमहानगरले लिएको छ । एक वडा एक खेलमैदान स्थापना गर्ने नीति लिइने मेयर हमालले बताए । उपभोक्ता समितिमार्फत कालोपत्रेका योजनाहरू कार्यान्वयन नगर्ने उपमहानगरको नीति छ ।