निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
जितबहादुर हमाल
२०७९ असार ५ आइतबार ०७:११:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फोहोर व्यवस्थापनमा नागरिक दायित्व

आ–आफ्ना घरबाट निस्किने कुहिने र नकुहिने फोहोरलाई अलग–अलग भाँडामा राखी व्यवस्थापन गर्न सकियो भने बन्चरेडाँडामा पुर्‍याइने फोहोरलाई भारी मात्रामा न्यूनीकरण गर्न सकिन्छ

Read Time : > 2 मिनेट
जितबहादुर हमाल
२०७९ असार ५ आइतबार ०७:११:००

काठमाडौंवासी फोहोर व्यवस्थापनमा सचेत नभए विकराल अवस्था आउने देखिन्छ । ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघिदेखि नै काठमाडौं महानगरपालिका र आसपासका अन्य नगरपालिकामा थुप्रिएको फोहोरले वातावरण दुर्गन्धित भई जनस्वास्थ्यमा समेत गम्भीर असर पुर्‍यायो । सहर कुरूप भई मुलुकको इज्जत र प्रतिष्ठामा समेत विश्वसामु नकारात्मक सन्देश प्रवाह भयो । दशकौँअघिदेखि हालसम्म पनि फोहोरको स्थायी व्यवस्थापन हुन नसक्दा पटक–पटक समस्या आउने गरेको छ ।

विगतदेखि हालसम्मका जनप्रतिनिधिले गर्दै आएको प्रतिबद्धता ‘स्वच्छ, सुन्दर र हराभरा सहर’ हो । तर, फोहोर व्यवस्थापनलाई जिम्मेवार निकायले गम्भीर रूपमा नलिँदा काठमाडौं उपत्यकावासीले सास्ती भोग्दै आउनुपरेको छ । सिसडोल र बन्चरेडाँडाका ल्यान्ड फिल्ड साइटका जनताको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौंवासीलाई वेलावेलामा दुर्गन्धित वातावरणमा बस्न बाध्य तुल्याएको छ ।

सरकार र स्थानीय बासिन्दाबीच भएका सहमति कार्यान्वयन नहुँदा तथा फोहोरमा फोहोरी राजनीतिले प्रवेश पाएका कारण पटक–पटक समस्या आउने गरेको छ । दूरदृष्टि नपुर्‍याउँदा एउटा जिल्लाको फोहोर अर्को जिल्लामा लगेर विसर्जन गर्नुपर्ने बाध्यता छ । सहमतिअनुसार सिसडोल र बन्चरेडाँडाका बासिन्दाका मागलाई संघ, प्रदेश र स्थानीय सरकारले अन्य नयाँ योजना र परियोजनालाई छाडेर भए पनि पूरा गर्नुपर्छ । विकसित देशले फोहोर व्यवस्थापनका सम्बन्धमा अवलम्बन गर्दै आएका प्रणाली र प्रविधिलाई नेपालमा पनि लागू गर्नुपर्छ । अन्यथा, फोहोरका कारण कुनै दिन काठमाडौं उपत्यकामा विकराल अवस्था नआउला भन्न सकिँदैन । 

काठमाडौंको फोहोरलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले मात्र सक्दो रहेनछ भन्ने हामीले विगतका घटनाक्रमबाट बुझिसकेका छौँ । फोहोर व्यवस्थापनका लागि विदेशबाट प्राविधिक एवं आर्थिक सहयोग नआएको पनि होइन, पहल नभएको पनि होइन, मुख्य समस्या हामी नेपालीको फोहोर गर्ने बानी र फोहोर व्यवस्थापनका सम्बन्धमा चेतनाको अभाव पनि हो । आआफ्नो घरबाट निस्किने कुहिने र नकुहिने फोहोरलाई छुट्टै भाँडामा राखी व्यवस्थापन गर्न सक्यौँ भने बन्चरेडाँडामा पुर्‍याइने फोहोरलाई भारी मात्रामा न्यूनीकरण गर्न सकिन्छ ।

सरकारलाई पनि मल उत्पादन गर्न र रिसाइकल गर्न मद्दत पुग्नुका साथै कुहिने फोहोरबाट मल उत्पादन गरे तरकारी खेती तथा कौसीखेतीका लागि उपयोगी हुन्छ र वातावरण पनि दुर्गन्धित हुन पाउँदैन ।  यसरी नै आवश्यकताभन्दा बढी खाना नपकाउने, सुर्ती, चाउचाउ, बिस्कुटका खोल र पानीका बोतललगायत सामग्री जथाभावी बाटोमा नफाल्ने गरेमा हामीले हाम्रा बाटाघाटा, खोलानाला, मठमन्दिर, विद्यालय आदिलाई सदैव सफा र सुन्दर देख्न पाउनेछौँ । ढल जाम भएर सडक र घरघरमा वर्षाको पानी पस्ने समस्याबाट पनि मुक्ति मिल्नेछ । खेतबारीमा खेतीयोग्य जमिनलाई ह्रास गराउने प्लास्टिकजन्य वस्तु भेटिनेछैन । त्यसैले आफू बस्ने गाउँ–सहर सफा, सुन्दर र हराभरा बनाउने पहिलो कर्तव्य हामी आमनागरिककै हो । 

फोहोर घटाउने र व्यवस्थापन गर्ने विषयमा केन्द्रित भई महानगरपालिकाले राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन एवं अन्य सञ्चार माध्यमबाट व्यापक जनचेतना अभिवृद्धि गराउन नितान्त जरुरी देखिन्छ । यसरी नै सो सम्बन्धमा बनेका ऐन–कानुन कार्यान्वयन गराउनु पनि त्यत्तिकै आवश्यक छ । कुहिने फोहोरबाट मल उत्पादन गर्ने प्रविधि सञ्चालनमा ल्याउने र नकुहिने फोहोरलाई पनि न्यूनीकरण एवं उचित व्यवस्थापनका लागि प्रविधियुक्त उपकरण खरिद गरी अविलम्ब प्रयोगमा ल्याउन जरुरी भइसकेको छ ।

उपकरण खरिदले मात्र समस्या समाधान हुँदो रहेनछ भन्ने कुरा विगतबाट पाठ सिकेर अत्याधुनिक उपकरण खरिदसँगसँगै उपकरण चलाउने दक्ष र इमानदार प्राविधिक जनशक्ति तयारी अवस्थामा राख्न उचित हुने देखिन्छ । विगतमा छिमेकी देशबाट सहयोगस्वरूप प्राप्त महानगरमा थुप्रै उपकरण, मेसिनरी सामान र गाडीहरू प्रयोगविहीन अवस्थामा रहेको सुन्नमा आउने गरेको छ । उचित व्यवस्थापनको अभावले करोडाँै पर्ने उपकरण थन्किएर बसेका छन् । तिनको उचित प्रयोग र व्यवस्थापनका लागि सम्बन्धित विभागका पदाधिकारी एवं कर्मचारीले जिम्मेवारीपूर्वक आफ्नो अधिकार र कर्तव्यको पालना गर्नुपर्छ । नवनिर्वाचित मेयर बालेन्द्र साहले थन्किएर बसेका ब्रुमरलाई प्रयोगमा ल्याउन गरेको पहललाई सकारात्मक रूपमा लिनुपर्छ ।

पछिल्ला वर्षमा काठमाडौंलगायत थुप्रै ठाउँमा सरसफाइ अभियान सञ्चालनमा आएका छन् । देश सुन्दर, सफा र हराभरा बनाउने अभियानमा थुप्रै सामाजिक व्यक्तित्व समर्पित भई लाग्नुभएको हामीले देखेका छौँ । ती अभियानले सरसफाइ गरेका खोलानाला, सडकलाई फेरि फोहोर हुन नदिन केन्द्र, प्रदेश र स्थानीय सरकारले प्रहरी परिचालन गर्न आवश्यक छ । सम्झाई–बुझाई गर्दा पनि फोहोर गर्न नछाड्ने व्यक्तिलाई अविलम्ब जरिवानासहित आवश्यक कार्बाही गर्न सक्नुपर्छ । फोहोर व्यवस्थापनसँग सम्बन्धित नीति, कार्यक्रम, ऐन–नियम नआएका होइनन्, कार्यान्वयन हुन नसकेको मात्र हो ।

कार्यान्यन गर्न सक्रिय रूपमा लागिपर्ने जनप्रतिनिधिलाई सबैले साथ र सहयोग दिनुपर्छ । जनप्रतिनिधिले पनि असल नियत र निःस्वार्थ भावनासाथ सरसफाइ अभियानमा आबद्ध स्वयंसेवकहरूले गरेका सकारात्मक कामको समर्थन र सहयोग गर्न सक्नुपर्छ । जनप्रतिनिधि र जनताको सहकार्यबाटै समाजको रूपान्तरण गर्न सकिन्छ । सफाइ सभ्यताको प्रतीक र स्वस्थ जीवनको आधार हो । देश र हामी सबै नेपालीको इज्जत र प्रतिष्ठाको विषय हो ।