१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ५ आइतबार
  • Tuesday, 15 October, 2024
२o७९ असार ५ आइतबार o७:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी नेता डा. भम्पा राईकाे निधन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार o७:o८:oo

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अगुवा नेता राईको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको भाञ्जी गौरी राईले बताइन् ।

केही दिनअघि हर्नियाको शल्यक्रिया गरेका डा. राईलाई मुटुमा समस्या देखिएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । उनी लामो समयदेखि दमकमा डेरा गरी बस्दै आएका थिए । दुई वर्षअघि श्रीमतीको पनि निधन भएपछि उनी एक्लै थिए । लामो समयदेखि डेरामा  बस्दै आएका डा. राईलाई दमक नगरपालिकाले आवासकाे व्यवस्थासमेत गरिदिएको थियो । उनी नि:सन्तान हुन् । 

भुटानी शरणार्थी नेता डा. राई लामो समयदेखि भुटानी शरणार्थी स्वदेशी फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए । डा. राई भुटानमा सम्पन्न परिवारमा जन्मिएका भुटानकै पहिलो ‘फिजिसियन तथा फेलो सर्जन’ थिए । भुटानको राजपरिवारको ‘फेमेली डाक्टर’ भएर काम गरेका उनको जीवन सुखमय नै थियो । उनी थिम्पु जेनेरल अस्पतालमा उच्च ओहोदाको डाक्टर भएर काम गरिरहेका थिए । भुटानमा रहँदादेखि नै उनी नेपालीभाषीलाई असाध्यै माया गर्थे । गरिब, दु:खीको नि:शुल्क उपचार गरिदिन्थे ।

१९९१ पछि भुटान सरकारले नेपालीभाषीलाई गैरनागरिक भन्दै लखेट्यो । त्यसले भम्पालाई कुनै असर परेन । किनकि, उनी राजपरिवारसँग सम्बन्ध भएका डाक्टर थिए । तर, नेपालीभाषी दाजुभाइ लखेटेको उनले सहनै सकेनन् । उनलाई दाजुभाइलाई पीडामा राखेर ‘आलिसान’ जिन्दगी बिताउने रहर नै जागेन । उनी पनि भएका केही सामान, औषधि पोको पारेर एक लाखभन्दा बढी भुटानीसँगै शरणार्थी बनेर नेपाल छिरे ।

नेपाल आएर पनि उनी भुटानी शरणार्थीको निःशुल्क जाँच गर्थे । डा. राई पछिल्लो समय भुटानी शरणार्थी समस्यालाई लिएर चिन्तित थिए । दातृ निकायले छाड्नु र स्वदेश फिर्तीको कुरै हराएका कारण उनी चिन्तामा थिए । ‘मजस्तै स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काइयोस्,’ डा. राईले केही समयअघि नयाँ पत्रिकासँग भनेका थिए । उनले काम गर्ने क्लिनिकको टेबलमा सधैँ  भुटानको झन्डा राख्थे ।

शासकले दु:ख दिए पनि देश र झन्डालाई औधी माया लाग्ने बताउँथे । उनी अनागरिक भएरै बिते । शरणार्थीको पनि मानव अधिकार भएको वकालत गर्दै आएका डा. राई अनागरिक हुन चाहँदैन थिए । 'मैले पनि अनागरिक भएरै मर्नुपर्छ,’ उनले नयाँ पत्रिकासँग दुई वर्षअघि भनेका थिए ।

यो पनि पढ्नुहोस् : जसले शरणार्थीको नि:शुल्क उपचार गरे, तर पैसा अभावमा आफ्नै श्रीमती गुमाए