मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १ बुधबार १६:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन सुरु

Read Time : > 1 मिनेट
२०७९ असार १ बुधबार १६:२६:००

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी– ५, तारानगरमा सुकुटी नाला अतिक्रमण गरी बनाइएका संरचनाहरू उपमहानगरले बुधबार डोजर लगाएर हटाएको छ । खोलानाला अतिक्रमण हटाउने कार्यलाई अभियानका रूपमा सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
    
धनगढीका मेयर गोपाल हमालले सार्वजनिक क्षेत्र अतिक्रमणमुक्त गर्न खोलानालाको अतिक्रमण हटाउने कार्यको सुरुवात गरिएको बताएका छन् । बर्खायाममा हुने धनगढी डुबानको समस्या समाधानका लागि पनि अतिक्रमण हटाउन आवश्यक रहेको उनले बताए । मेयर हमालले अतिक्रमण हटाएर खोलानालालाई प्राकृतिक वहावमा फर्काइने बताए ।

‘धनगढीको सबैभन्दा ठूलो समस्या डुबान हो । यसको समाधान गर्ने हो भने खोलानालालाई प्राकृतिक वहावमा फर्काउनुपर्छ,’ मेयर हमालले भने, ‘अतिक्रमण नहटाएसम्म डुबानको समस्या समाधान हुन सक्दैन ।’ उनले पूर्वसूचना दिएरै अतिक्रमण हटाउन सुरु गरिएको जनाए । मेयर हमालले अतिक्रमण हटाउने कार्यमा सहयोग गर्न उनले नगरवासीलाई आग्रह गरेका छन् ।
    
स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित हमालले आफू निर्वाचित भए धनगढीमा खोलानालाको अतिक्रमण हटाउने प्रतिबद्धता निर्वाचनका वेला जनाएका थिए । उनले धनगढीमा सबै सार्वजनिक क्षेत्रलाई अतिक्रमणमुक्त बनाइने जनाएका छन् । ‘सार्वजनिक ताल, खोलानाला, कुलो मिचेर व्यक्तिगत संरचना बनाएका केही सीमित व्यक्तिका कारण सम्पूर्ण नगरवासीले हरेक वर्ष डुबानको सास्ती व्यहोर्नु कुनै पनि हालतमा सामाजिक न्याय हुन सक्दैन,’ मेयर हमालले भने ।
    
धनगढी बजार क्षेत्रमा सबैजसो खोलानाला अतिक्रमणको चपेटामा छन् । अतिक्रमणले पानीको वहाव थुनिने भएकाले क्षणभरको वर्षामै धनगढी डुबानमा पर्ने गरेको छ । बर्खायाममा धनगढीका दर्जनौँ बस्ती डुबानमा पर्छन् । धनगढी मुख्य बजार क्षेत्र भएर बग्ने सुकुटी नाला, कैलाली नाला, सेतोपुल खोलालगायत सबैजसो खोलानाला अतिक्रमण गरेर घरलगायतका संरचना निर्माण गरिएका छन् ।
    
नगर क्षेत्रभित्र रहेका तालसमेत अतिक्रमणको चपेटामा छन् । ०७४ को स्थानीय तह निर्वाचनमै धनगढीको मेयरका उम्मेदवारले धनगढीको खोलानालाको अतिक्रमण हटाउने विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । तर, मेयरमा निर्वाचित नृपबहादुर वडले पाँच वर्षसम्म अतिक्रमण हटाउने कार्यको सुरुवात गर्न सकेका थिएनन् । 

गठबन्धनका तर्फबाट मेयरमा पुनः उम्मेदवारी दिएका नेपाली कांग्रेसका वड गत ३१ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका थिए ।
    
मेयर हमालले भावी सन्ततीका लागि पनि खोलानालाको अतिक्रमण हटाउन नगरवासीलाई आह्वान गरेका छन् । उनले ०२१ सालको नापीनक्साअनुसार खोलानालाको वहाव फर्काइने जनाएका छन् । पछिल्लो समय धनगढीका नालाहरूमा अतिक्रमण बढेको छ ।