मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विनाशकारी बाढीको एक वर्षपछि पनि उस्तै छ मेलम्ची । तस्बिर : नयाँ पत्रिका
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ असार १ बुधबार ०८:१७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मेलम्ची बाढीको एक वर्ष  : न संघले पर्याप्त बजेट दियो न त स्थानीय सरकारले पहल लियो, त्रास अहिले पनि उस्तै 

Read Time : > 4 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ असार १ बुधबार ०८:१७:००

हिजोआज मेलम्ची बजारमा ब्रेकरको एकोहोरो कर्कश आवाज सुनिन्छ । बाहुनेपाटीदेखि मेलम्चीको माथिल्लो बजारसम्म दर्जनौँ एक्साभेटर र ब्रेकरले बगर उत्खनन गरिहेका छन् । ठूला मेसिन र नदीको आवाजले मेलम्ची कोलाहलमय बनेको छ । 

सरकारी निकायले पर्याप्त बजेट नदिएपछि स्थानीय आफैँ सक्रिय भएर पुरेको घर खोतल्ने र बगरलाई एकातिर ठड्याएर नदीको बहाव रोक्ने काममा तल्लीन छन् । बजार क्षेत्रको संरक्षणका लागि स्थानीयले विभिन्न समिति गठन गरेर निजी खर्चमा बस्तीतिर थुप्रिएको बालुवा, ढुंगा पन्छाइरहेका छन् । नदीकिनारमा स्थानीय कृष्णप्रसाद दुलाल पानीको पाइप जोडिरहेको भेटिए । नयाँ पत्रिकासँग कुराकानी गर्दै दुलालले राज्यको उपस्थिति नभएकाले मेलम्चीवासी आफैँले बगर पन्छाएको गुनासो पोखे । मेलम्ची नगरपालिकाले पनि पीडितलाई वास्ता नगरेको उनले सुनाए । ‘एक वर्ष बित्यो, नगरपालिकाले पीडितका लागि केही गरेको छैन,’ उनले भने । 

गत हिउँदमा ६० लाख खर्चेर मेलम्ची चौतारा जाने इन्द्रावती नदीमा ह्युमपाइपको अस्थायी बाटो बनाइएको थियो । केही दिनअघिको बाढीले ट्र्याक बगाएदेखि आवातजावत बन्द भएको छ । जलाधार, भूसंरक्षण र प्रदेश सरकारबाट विनियोजित थोरै रकम ‘हात्तीको मुखमा जिरा’ झैँ भएको छ । हेलम्बुदेखि मेलम्चीसम्मको तटीय क्षेत्र खण्डहर बगर बनेको छ । 

मेलम्ची खोलाको मुहान स्थल भेमाथाङबाट भीमकाय बाढी आएर हेलम्बु र मेलम्ची बगाएको एक वर्ष बित्यो । तर, त्रास उस्तै छ । त्यसयता यहाँका स्थानीयको मानसपटलमा १ असार ०७८ को कालो रात दोहोरिइरहेको छ । खोलामा धमिलो पानी बग्न छाडेको छैन । एक वर्षसम्म कतै पुनर्निर्माण भएन । खोलाले जमिन कटान गरिरहेकै छ र बाढीको त्रासमा विस्थापित स्थानीय आज पनि रात परेपछि सुरक्षित ठाउँको खोजीमा भौँतारिनुपरेको छ । मेलम्चीका स्थानीय सागर श्रेष्ठले ऋणपान गर्दै बचेखुचेका स्रोतसाधन प्रयोग गरेर पानी र बालुवाले चुर्लुम्मै डुबाएको होटेल पुनर्निर्माण गरे । तर, वर्षात् सुरु भएसँगै उनको होटेलमा चहलपहल हराएको छ । नदीतटीय क्षेत्रका स्थानीय त्रासमा बाँचिरहेका छन् । श्रेष्ठ भन्छन्, ‘वर्षा भर्खर सुरु भए पनि नदीको सतह निकै बढेको छ ।’ ठूलो क्षति हुने डरले मानिस चिन्तित छन् । उनले भनेजस्तै भेमाथाङभन्दा मुनि हेलम्बुसम्मै तटीय क्षेत्रको जमिन कटानमा परेर चिराचिरा परेको छ । मौसमजन्य गतिविधि बढ्नासाथ फेरि बाढी आउने सम्भावना छ । 

घरबार बगाएका कतिपय विस्थापित थातथलो छाडेर हिँडे
हेलम्बुको शिरदेखि मेलम्चीको तल्लो बजारसम्म भएको क्षतिबारे अझै पनि सबै विवरण आउन सकेको छैन । घरबार नै बगाएका कतिपय विस्थापित थातथलो छाडेर हिँड्न बाध्य भए । उर्लंदो बर्खे भेलले धमाधम जमिन कटान गरिरहेको छ । स्थानीय टुलुटुलु हेरेर बस्न बाध्य छन् । हेलम्बु, मेलम्ची पुनर्निर्माणका लागि न संघीय सरकारले बजेट दियो, न त स्थानीय सरकारले पहलकदमी नै लियो । एक करोड २० लाखबराबर क्षति ब्यहोरेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले हेलम्बु–मेलम्चीमा त्रास उस्तै रहेको बताए । १७ हजार पाँच सय मासिक भाडा तिरेर टारगाउँमा रेडियो स्टेसन सञ्चालन गरिरहेका सुवेदीले साँझ परेपछि तटीय क्षेत्रका स्थानीय रात बिताउन सुरक्षित स्थानतिर जाने गरेको सुनाए । ‘वर्ष बित्यो, सरकारले बजेट नदिँदा पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन,’ उनले भने ।

मेलम्चीबाट चौतारा र पाँचपोखरी थांपाल जाने पुल नहुँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । दुवाचौर तर्ने दोभान फट्टेमा ह्युमपाइप बगाएकाले आवतजावत बन्द भएको छ । बर्खामा मेलम्चीबाट इन्द्रावती नदी तरेर पारिका गाउँहरू पुग्न सकिँदैन । मेलम्चीपारिका स्थानीयले घर पुग्न बाहुनेपाटीमा रहेको पुलबाट लामो यात्रा तय गर्नुपर्छ । चनौटेमा बेलिब्रिज हालेकाले सम्पर्क विच्छेद भएका हेलम्बुको चारवटा वडावासीले आवतजावत गर्न पाएका छन् । खाद्यान्न र औषधि पुर्‍याउन थालिएको छ । मेलम्चीघ्याङ जाने नाकोतेमा झोलुंगे पुल जडान गरिएको छ । 

तटबन्ध निर्माण अलपत्र
हेलम्बु र मेलम्ची जोगाउने हो भने मेलम्ची खोला र इन्द्रावती नदी किनारमा तटबन्ध निर्माण गर्नैपर्छ । तर, यसका लागि संघीय सरकारले बजेटमा मेलम्ची क्षेत्रको पुनर्निर्माणबारे केही कार्यक्रम ल्याएन । स्थानीय सरकारले पनि बजेट छुट्याउन सक्ने अवस्था छैन । 

मेलम्ची खानेपानी आयोजनाले हेलम्बु र मेलम्ची क्षेत्रमा तटबन्ध निर्माण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई ३० करोड रुपैयाँ दिएको छ । हिउँदभर पैसा खर्च गरिएन । जब बर्खा लाग्यो, जल उत्पन्न प्रकोपले टेन्डर आह्वान गरेको छ । मेलम्चीमा सागर श्रेष्ठ र हेलम्बु इचोकमा हस्त पण्डितको सक्रियतामा तटबन्ध निर्माण समिति गठन भएर काम भइरहेको छ । उनीहरूसँग न बजेट छ, न त कसैले बजेट नै दिन्छ । बाढीबाट आफैँ पनि पीडित श्रेष्ठ र पण्डितजस्ता स्थानीयले आफ्नो बस्ती जोगाउन सक्रियता देखाएका छन् । तर, पैसा नहुँदा काम गर्न सकेका छैनन् । समय छँदा उदासीन बनेको जल उत्पन्न प्रकोपले बर्खामासमा काम गर्ने गरी टेन्डर निकालेको हो । मेलम्ची र हेलम्बुमा छुट्टाछुट्टै तटबन्ध निर्माण गर्ने गरी टेन्डर भए पनि ठेक्का सम्झौता गर्न कोही नआएपछि फेरि सूचना प्रकाशित गरिएको छ । 

क्षति धेरै, पुनर्निर्माण सुस्त

बाढीले क्षति गरेको मेलम्ची र हेलम्बुमा पुनर्निर्माणको अवस्था सुस्त छ । मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति गर्‍यो । पुनर्निर्माण सकिए पनि बर्खामा आउने बाढीले बाँधमा क्षति पुग्ने भएकाले अम्बाथाङ सुरुङको गेट बन्द गरिएको छ । सरकारले बेवास्ता गर्दा बाढीपछिको मेलम्ची क्षेत्र उजाड र पूर्ण जोखिमको अवस्थामा छ । हेलम्बुमा एकजनाको मृत्यु भएको थियो । १० पुरुष र पाँच महिला अहिलेसम्म बेपत्ता हुँदा हेलम्बुका तीन सय आठ घर बाढीले बगाएको थियो । ६ सय मानिस विस्थापित भए भने २१ सय रोपनी खेत बगायो । १७ उद्योग तथा व्यवसाय नष्ट भए । एक विद्यालय, दुई सरकारी कार्यालय बगायो । ६ झोलुंगे पुल, ६ मोटरेबल पुल, एक कल्भर्ट र एक बेलिब्रिज बगाएपछि ६ महिना मेलम्ची र हेलम्बुको सम्पर्क टुट्यो । 

ग्याल्थुमदेखि हेलम्बु नाकोतेसम्म १०.३८ किलोमिटर सडक नदीले कटान गरेर पूर्ण रूपमा क्षति भयो । यत्रो क्षति पुगेको हेलम्बुमा विस्थापितका लागि १३५ अस्थायी टहरा बनेका छन् । चनौटेस्थित रातोपुलमा बेलिब्रिज जडान भएकाले आवतजावतमा सहज भएको छ । १९४ जना लाभग्राहीको स्थायी आवासका लागि सम्झौता भएको छ । विपद् व्यवस्थापन प्राधिकरणले लाभग्राहीलाई पहिलो किस्ताबापतको १० प्रतिशत रकम पालिकाको खातामा पठाएको छ । जग्गा नभएका विस्थापित ६३ जनालाई जग्गा व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको छ । सडक निर्माणका लागि २५ करोड बजेटिङ भएर काम सुरु गरिएको छ । 

मेलम्ची नदीमा थुप्रिएको गेग्रान यो बर्खामा लेदो बनेर आउने सम्भावना छ : खानेपानीमन्त्री
खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची नदी क्षेत्रमा थुप्रिएको करोडौँ धनमिटर गेग्रान आगामी बर्खामा लेदोको रूपमा बग्ने सम्भावना रहेको बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री चौधरीले भने, ‘मेलम्ची जलाधरमा गत वर्ष आएको बाढीका कारण मेलम्ची नदी क्षेत्रमा करोडौँ घनमिटर गेग्रान थुप्रिएको छ । उक्त गेग्रान यस वर्षको वर्षामा लेदोको रूपमा बग्ने सम्भावना छ ।’

गत १ असारको बाढीले मेलम्चीको मुहान र अन्य संरचना ध्वस्त पारेको थियो । हेडवक्र्ससम्म पुग्ने सडक पनि बाढीले बगाएको थियो । वर्षायाम सुरु भएको कारण हाल सरकारले काठमाडौंमा मेलम्चीको पानी ल्याएको छैन । मन्त्री चौधरीका अनुसार वर्षायाममा मेलम्ची खोलामा आउन सक्ने बाढीले सुरुङमा क्षति पुर्‍याउन सक्ने हुनाले पानी ल्याउन बन्द गरिएको हो । 

मन्त्री चौधरीले सुरुङ सुरक्षाका लागि मौसमविद्को सुझाव र अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावका लागि वर्षायामभरि बन्द गरिएको जानकारी दिए । एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको छ । सो अध्ययन प्रतिवेदनअनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने सरकारको तयारी छ ।

वैकल्पिक सडक बनाउन लागेका छौँ : निमाग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका
बाढीले बगाएको सडकको पुनर्निर्माण नभएकाले हेलम्बुको मेलम्चीघ्याङ, तार्केघ्याङलगायतको टोलमा मोटर पुग्दैन । यातायातको साधन नहुँदा बिरामी परेका स्थानीयलाई हेलिकोप्टरबाट अस्पताल लानुपर्ने बाध्यता छ । यो समस्याबाट पार पाउन वैकल्पिक सडक निर्माण सुरु गरिएको छ । गाउँपालिकाकै बजेटबाट सुन्दरीजलबाट हेलम्बु जोड्ने सडक निर्माण हुँदै छ ।

हेलम्बुको क्युल र मेलम्ची खानेपानी आयोजना क्षेत्रसम्मको सडक बनाउन ३० करोड विनियोजन भइसकेको छ । बागमती प्रदेश सरकारलाई सहयोग गर्न विभिन्न विषयमा माग गरिएको छ । बगाएको खेत बनाउन पीडितलाई पाँच वर्षसम्म सहुलियत ऋण उपलब्ध गराउने विषयमा प्रदेश सरकारसँग माग गरिएको छ । 

सरकारले मेलम्चीलाई बेवास्ता गर्‍यो : आइतमान तामाङ, मेयर, मेलम्ची नगरपालिका
मेलम्चीका क्षतिग्रस्त सार्वजनिक र सरकारी भौतिक संरचना कसरी ठड्याउने भन्ने चिन्ता परेको छ । सरकारले खोलामा जाली लगाउन जम्मा एक करोड दियो । त्योभन्दा अरू थप सहायता छैन । नगरमा आएको बजेटले मेलम्चीको पुनर्निर्माण सम्भव छैन । यसपटक बजेटमा पनि सरकारले मेलम्चीलाई बेवास्ता गर्‍यो ।

मेलम्ची–चौतारा र मेलम्ची–दुवाचौर जोड्ने पुल नहुँदा मेलम्चीपारिका सबै बस्ती समस्यामा छन् । अहिले बाहुनेपाटीको पुल प्रयोग गरिएको छ । तर, दूरी बढी भएकाले जनतालाई सास्ती छ । सडक, पुल, सिँचाइको कुलो छैन । शवदाह गृह, पाटी, चिहान छैन । मेलम्चीको समस्यालाई हेर्ने हो भने विकराल छ । यो सरकारले हामीलाई अप्ठेरोमा पारेको छ ।