
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरिएको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गरेका हुन्।
आन्तरिक हवाई यात्रुको चाप बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको हो। भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्सनसँग आग्रह गरे। आन्तरिक टर्मिनल भवन पाँच करोडमा एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ।
मन्त्री आलेले प्रस्तावित आन्तरिक टर्मिनल भवनमा भिआइपी कक्ष, शौचालय, यात्रुलाई बस्ने व्यवस्था र ६० वर्ष उमेर समूहमाथिका मानिसलाई कुर्सीको व्यवस्था हुने पनि बताए।