Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २९ आइतबार ०८:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड उत्पत्तिबारे अध्ययन अझै अपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २९ आइतबार ०८:४७:००

डब्लुएचओको वैज्ञानिक टोलीलाई चीनको असहयोग 

कोभिडबारे अध्ययन गरिरहेको विश्व स्वास्थ्य संगठनको वैज्ञानिकहरूको टोलीलाई चीनले दोस्रोपटक पनि असहयोग गरेको छ । गत अक्टोबरमा डब्लुएचओले नियुक्त गरेको टोलीले महामारीको उत्पत्तिको अध्ययन गर्न चीनको असहयोगका कारण प्रकोप कहिले र कहाँ देखा पर्‍यो भनेर निर्धारण गर्न गाह्रो भएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको हो । 

बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले भाइरस चमेरोबाट स्तनधारी जनावर हुँदै बजारमा पुगेको, तर मानिसमा फैलिनुको कारण पत्ता लगाउन चिनियाँ तथ्यांक आवश्यक रहेको जनाएको हो । तर, अमेरिकालगायत दुई दर्जनभन्दा बढी देशबाट संलग्न वैज्ञानिकहरूलाई समेत आवश्यक तथ्यांक उपलब्ध नगराएको भन्दै स्वतन्त्र अन्य वैज्ञानिकहरूले चीनको आलोचना गरेका छन् ।

जर्जटाउन युनिभर्सिटीको ओ’निल इन्स्टिच्युट फर नेसनल एन्ड ग्लोबल हेल्थ कानुनका निर्देशक लरेन्स गोस्टिनले भने, ‘चीनबाट राजनीतिक सहयोगको अभावले कुनै पनि अर्थपूर्ण प्रगतिलाई बाधा पुर्‍याइरहेको छ ।’ डब्लुएचओले वैज्ञानिकहरूलाई कोरोना भाइरसको उत्पत्तिको अध्ययन मात्र नभई भविष्यमा हुने अन्य सम्भावित भाइरस उत्पत्तिको जाँचमा पनि सल्लाह मागेको जनाएको छ । तर, नोभेल प्याथोजेन्सको उत्पत्तिका लागि वैज्ञानिक सल्लाहकार समूहको चीन वा अन्य ठाउँमा सोधपुछ गर्ने अधिकार भने दिइएको छैन ।

भाइरसको उत्पत्तिबारे सन् २०२१ मा समेत डब्लुएचओले चीनमा विज्ञहरूको टोली पठाएको थियो । तर, प्रयोगशालामा भएको डाटा चुहावटका कारण यकिन कारण पत्ता लाग्न मुस्किल भएको भन्दै प्रतिवेदन सार्वजनिक गरिएको थियो । पछिल्लो रिपोर्टले कुनै नयाँ डाटाले प्रयोगशाला चुहावटलाई औँल्याएको छैन । तर, वैज्ञानिकहरूले भविष्यमा देखा पर्ने कुनै पनि प्रमाणको मूल्यांकन गर्न नपाएको बताएका छन् । टोलीकी अध्यक्ष तथा दक्षिण अफ्रिकाको प्रिटोरिया विश्वविद्यालयमा मेडिकल भाइरोलोजीका प्राध्यापक मारिएटजी भेन्टरले भनेकी छन्, ‘हामीले कुनै पनि रिपोर्ट प्राप्त गरेका छैनौँ, जुन वास्तवमा त्यहाँ प्रयोगशाला चुहावट भएको संकेत गर्दछ । डाटाको अभावमा अनुगमनमा बलियो तथ्य फेला पार्न अक्षम भयौँ ।’ प्रयोगशालाको अध्ययनका लागि चीन, रुस र ब्राजिलले असहमति जनाउँदै आएका छन् । 

प्रतिवेदनले कोरोनाको उदयमा जनावरहरूको सम्भावित भूमिकाबारे धेरै अध्ययन उल्लेख गरेको छ, जुन अघिल्लो डब्लुएचओ अध्ययन समितिले थालेको थियो । अध्ययनले चीनको वुहानमा भएको जीवित पशु बजारको सर्वेक्षणले सन् २०१९ मा कोरोना भाइरसका लागि अतिसंवेदनशील भनी चिनिने धेरै प्रजाति रहेको संकेत गरेको छ । बजारबाट मानिसमा संक्रमण फैलिन थालेपछि लकडाउन र डिसइन्फेक्ट गरियो । जसले वैज्ञानिकहरूलाई भाइरसका लागि सम्भावित मध्यवर्ती पशु होस्टहरू पहिचान गर्न अझ गाह्रो बनाएको अध्ययनको निष्कर्ष छ । 

प्रतिवेदनले वन्यजन्तु फार्म र प्रत्यक्ष पशु बजारमा कामदारहरूबाट रगत नमुनाहरूको अध्ययन र प्रारम्भिक भाइरल नमुनाबाट जिनोमिक डेटाको अध्ययन सिफारिस गरेको छ । तर, अघिल्लो डब्लुएचओ टोलीले केही समान अध्ययन प्रस्ताव गरेको थियो, जसबाट कुनै तथ्य फेला परेको थिएन । पछिल्लो रिपोर्टले डा. टेड्रोसले फेब्रुअरीमा चिनियाँ अधिकारीहरूलाई दुईपटक पत्र लेखेर ती अध्ययनहरूको स्थिति र सम्भावित प्रयोगशाला चुहावटको जानकारीका लागि अनुरोध गरेका थिए । तर, डब्लुएचओले जति प्रयास गरे पनि कोभिडबारे तथ्य सार्वजनिक गर्न चीन सहमत हुन सकेको छैन । 

गत साता चिनियाँ अन्वेषकहरूले जनवरी २०२० मा वुहान क्षेत्रमा संकलन गरिएका र्‍याकुन कुकुर र चमेराबारे सानो अध्ययन प्रकाशित गरेका थिए । १५ र्‍याकुन कुकुरमा गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरूले कुकुरलाई संक्रमण गर्ने सम्बन्धित कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको थियो । ३३४ वटा चमेरोमा गरिएको अर्को अध्ययनले कोरोना भाइरस र २००३ मा देखिएको सार्स भाइरसको मिश्रण देखाएको थियो ।