Skip This
डाँडा खार्दैै फेवातालको सिमसार क्षेत्र पुर्दै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Tuesday, 23 July, 2024
फेवातालको किनारमा रहेको डाँडा खार्दै गरेको डोजर ।
२o७९ जेठ २४ मंगलबार o८:५५:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डाँडा खार्दैै फेवातालको सिमसार क्षेत्र पुर्दै 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार o८:५५:oo

खारेको डाँडामा १२ तले अपार्टमेन्ट निर्माण, प्रशासन मूकदर्शक

फेवातालको सिरानमा डाँडा खार्ने र सिमसार क्षेत्र पुर्ने प्रतिस्पर्धा चलेको छ । तालको सिरानतर्फ सेदीदेखि पामे बजारसम्म सडकको दायाँबायाँका सिमसार क्षेत्र पुर्ने प्रतिस्पर्धा चलेको हो । 

पोखरा महानगरपालिका–१८ का वडाध्यक्ष शिवप्रसाद तिमल्सिनाले डाँडा खन्ने र सिमसार क्षेत्र पुर्नेहरूले नै ताल संरक्षण गर्नुपर्ने भन्दै चर्का कुरा गर्ने गरेको बताए । उनले यसरी तालको सिमसार क्षेत्र पुर्न स्थानीय प्रशासनसमेत मिलेको दाबी गरे । ‘यहाँ (सिमसार क्षेत्रमा) माफियाको चलखेल पहिलेदेखि नै चल्दै आएको छ । मैले जिम्मेवार पार्टी कार्यकर्ताको हिसाबले पहिलेदेखि नै कुरा उठाउँदै आएको हो । अहिले जनप्रतिनिधि भएर आएको छु । यसरी तालको रक्षा हुन सक्दैन । मेयरसाबसँग बसेर यो काम छिटै रोक्न भूमिका खेल्छु,’ उनले भने । 

सेदीस्थित डाँडा खारेर बिएन्डबी हाउजिङले १२ तले अपार्टमेन्ट निर्माण गर्दै छ । उक्त डाँडा खन्दा निस्केको अधिकांश माटो ढाव खेतमा लगेर पुरियो । त्यसैगरी, बाराही ग्रुपले सेदीस्थित डाँडा नै काटेर रिसोर्ट बनाउँदै छ । त्यहाँको माटो पनि अधिकांश यस्तै ढाव क्षेत्र पुर्न प्रयोग भएको छ । डाँडा काटेको माटो नहुने हो भने ढाव क्षेत्र पुर्न सम्भव नहुने वाइयुके कन्स्ट्रक्सन प्रालिका सञ्चालक युवराज खतिवडा बताउँछन् । बाटो खन्दा निस्केको माटोसमेत लगेर ढाव क्षेत्र पुरिएको उनले बताए । ‘डाँडा काटेकै माटो लगेर यहाँ पुर्ने हो । नत्र यत्रो ढाव क्षेत्र कसरी पुरिन्छ ? बाटो खन्दा र अन्डरग्राउन्डका लागि खनेको २–४ टिपरले यत्रो ढाव पुर्न सम्भव छैन,’ उनले भने ।

स्थानीयवासी बाबुराम विकले कोरोना संक्रमणपछि र निर्वाचनको अवधिलाई मात्र हेर्ने हो भने पाँच सय रोपनी दलदले जमिन माटो पुरिसकेको बताए । व्यवसायीहरूले दलदले जमिन सस्तोमा किन्ने र त्यसलाई पुरेर घडेरीको रूपमा महँगोमा बेच्ने गरेका छन् । स्थानीयले पनि तिनीहरूकै सिको गरेर आफ्नो जमिन पुर्ने गरेका छन् । पुरिएको जमिन पछि महँगोमा बिक्री हुने भन्दै पुर्नेहरू पनि प्रशस्त रहेको उनले जानकारी दिए । ‘दलदले जमिन सस्तोमा किन्ने र पुरेर महँगोमा बेच्ने क्रम बढेको छ । अहिलेको हिँउदमा मात्रै पाँच सय रोपनीभन्दा धेरै जमिन यसरी पुरियो होला,’ उनले भने । 

पामेका स्थानीय विष्णुप्रसाद तिमल्सिनाले छिमेकमा सबैले ढाविलो जमिन पुरेकाले आफूले पनि खेत पुरेको बताए । उनले ताल र सिमसारको कुरा गरे पनि संरक्षणमा कसैले ध्यान नदिएको टिप्पणी गरे । पोखरा–२४, पामे फाँटमा रहेको आफ्नो १२ रोपनी जमिन उनले पुरेका छन् । उनका अनुसार उनको खेत पुर्न एक हजार दुई सय ट्रिपभन्दा धेरै माटो खर्च भएको थियोे । 

सिमसार क्षेत्र पुर्ने उनी मात्रै होइनन् । उनले जस्तै धेरैले ढाविलो जमिन पुरेर घडेरी तयार पारिरहेका छन् । व्यवसायीहरू कालु गुरुङ, कुलबहादुर श्रेष्ठ, युवराज खतिवडा, विद्यालय सञ्चालक महेश्वर पराजुलीलगायतले अहिले धमाधम ढाव पुरेर घडेरी बनाइरहेका छन् । मनपरीसँग डाँडा कटान र ढाव पुर्ने काम भइरहे पनि स्थानीय तह र प्रशासन मूकदर्शक बनिरहेको स्थानीयवासीको भनाइ छ । पोखरा महानगरपालिका–२४ का निवर्तमान अध्यक्ष ओम सुवेदीले सिमसार क्षेत्र पुर्न नदिन गरेका सबै प्रयास विफल भएको प्रतिक्रिया दिए । आफू नेतृत्वको टिम र निवर्तमान मेयर मानबहादुर जिसीलाई समेत लगेर कैयौँपटक टिपरको चाबी थुतेको स्मरण गरे । उनले अब नवनिर्वाचित टिमले यसलाई रोक्न सके अझै पनि धेरै जमिन जोगिने बताए । ‘हामीलाई छल्ने र सिमसार क्षेत्र पुर्ने काम भइरह्यो । वडाबाट हाम्रोे कार्यकालमा सिमसार क्षेत्र पुर्न कसैलाई अनुमति दिएका छैनौँ,’ उनले भने । 

भूगोलविद् प्रा.डा. कृष्ण केसीले तालको पानीढलो र ढाव क्षेत्रमा निजी जमिन भए पनि मनलाग्दीसँग स्वरूप परिवर्तन गर्न नपाइने बताए । डोजर चलाउनसमेत महानगरको अनुमति चाहिने हुँदा डाँडै खारेर ढाव पुर्न कसरी सम्भव भइरहेको होला भनेर प्रश्न गरे । त्यसको खोजी गर्नुपर्ने बताए । यदि यसरी नै ढाव क्षेत्र पुर्ने हो भने फेवाताल पनि माटो हालेर पुरे हुने उनको प्रतिक्रिया छ । भइरहेका भूक्षय रोक्न के गर्ने भनेर गम्भीर बन्नुपर्ने वेला डाँडा खनेर ढाव पुर्न दिनु दुःखद भएको बताए । उनले महानगर र प्रशासनले यसमा शीघ्र कडाइ गर्नुपर्ने धारणा राखे । ‘भूक्षय रोक्न के गर्ने भनेर चिन्ता भइरहेका वेला भएका डाँडा खार्ने अनि ढाव पुर्ने काम गर्दा हेरेरै बस्ने हो भने ताल पुरेर जेजे गर्ने हो गर भनेर भूमाफियाहरूलाई भने भइगयो नि,’ उनले भने, ‘होइन भने डोजर चलाउन अनुमति लिनुपर्ने कुरालाई किन यसरी सजिलै छोड्ने काम भइरहेको छ । यो गम्भीर कुरा हो ।’

कसरी अगाडि बढ्ने भन्ने नै अन्योलमा छौँ : बृहत् जलाधार केन्द्र
बृहत् जलाधार केन्द्र गण्डकीका प्रवक्ता अमर अधिकारीले फेवाताल जलाधार क्षेत्र तोकिएको भए पनि जलाधार क्षेत्रसम्बन्धी ऐन कार्यान्वयनमा नआउँदा कसरी कारबाहीको दायरामा ल्याउने अन्योल रहेको बताए । अहिले जसरी फेवातालको सिरानतर्फ ढाव जमिन पुर्ने क्रम चलेको छ, यो अत्यन्तै दुःखद रहेकाले यसलाई तुरुन्त रोक्नुपर्ने बताए । 

वातावरणविद् भन्छन्– सिमसार क्षेत्र व्यक्तिकै भए पनि पुर्न पाइँदैन
विश्‍वभरका तालतलैयालगायतका सिमसार क्षेत्रलाई संरक्षण गर्ने उद्देश्यका साथ सन् १९७१ मा ‘कन्भेन्सन अन वेटल्यान्ड अफ इन्टरनेसनल इम्पोर्टेन्स स्पेसल्ली एज वाटरफल हेबिटेट’ आयो । यसको धारा १ मा सिमसार क्षेत्रलाई दलदल, धाप, प्रांगारिक माटो भएको जमिन वा पानीसहितको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, अलवण वा लवण, क्षारयुक्त र ६ मिटरभन्दा कम गहिराइको निम्न छालयुक्त क्षेत्रको रूपमा परिभाषित गरेको छ । 

सर्वोच्च अदालतको १६ वैशाख ०७५ को फैसलाको बुँदा नम्बर ३ मा ‘फेवातालसम्बन्धमा गरिएका पूर्वअध्ययन प्रतिवेदनमा फेवाताल क्षेत्रअन्तर्गत जलक्षेत्र, दलदले सिमलगायत केही पर्ती जमिनसमेत रहेको देखाएकाले रामसार महासन्धिको उक्त परिभाषाअनुसार फेवाताल र यसवरिपरिको क्षेत्र सिमसार क्षेत्रअन्तर्गतसमेत पर्नेछ । यस्ता सिमसारयुक्त तालहरूको वातावरणीय, आर्थिक, धार्मिक, सांस्कृतिकसमेतका बहुआयामिक महत्व हुन्छ...’ उल्लेख छ । यही आदेशलाई आधार मान्ने हो भने पनि निजी जमिन नै भए पनि दलदले जमिन पुर्न नपाइने अधिवक्ता खगेन्द्र सुवेदी बताउँछन् ।

यस्तै, वातावरणविद् डा. अनिल सुवेदी तालको सिमसार क्षेत्रमा पर्ने धाप पुर्नुलाई सरासर गलत भन्छन् । सिमसार क्षेत्रको रणनीतिक योजनामै यस्तो जमिन उपयोगका सन्दर्भमा उल्लेख गरेको उनले बताए । ‘सिमसार क्षेत्रलाई असर पर्ने क्रियाकलाप गर्न नै हुँदैन । फेवाताल रामसार सूचीमा सूचीकृत ताल हो । यसको सिमसार क्षेत्र मेरो व्यक्तिगत जमिन हो, जेसुकै गर्छु मेरो मर्जी भन्नै पाइँदैन । यससम्बन्धी प्रावधानमै के गर्न पाइने÷नपाइने उल्लेख छ,’ उनले भने ।

सन् २०१६ मा कास्कीका फेवा, बेगनास, रूपा, दिपाङ, खास्टे, गुदे, न्युरेनी, मैदी र कमलपोखरी ताल रामसार सूचीमा सूचीकृत भएका हुन् । साथै, फेवातालको जलाधार क्षेत्रसमेत तोकिइसकेको अवस्था छ । 

तुरुन्त रोक्न लगाउँछ : मेयर आचार्य 
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महामारीको फाइदा उठाउँदै सार्वजनिक सम्पदाको दोहन गरिनु दुःखद भएको बताए । निर्वाचित भएपछि प्रशासनिकलगायतका व्यवस्थापनमा ध्यान दिएको भन्दै उनले वातावरण शाखासँग बुझेर सिमसार क्षेत्रको दोहन रोक्नका लागि तत्काल कदम चाल्ने बताए । ‘निर्वाचनको वेला झनै पुर्ने काम भयो भन्ने सुनेको छु । वातावरण शाखासँग समन्वय गरेर के भइरहेको छ भन्ने विषयमा बुझेर गलत काम रोक्न म तुरुन्तै निर्देशन दिन्छु,’ उनले भने । फेवातालसहित पोखराका अन्य तालतलैयाको संरक्षणमा महानगर गम्भीर भएर लाग्ने मेयर आचार्यले बताए । ताल र सबै सम्पदाको संरक्षणमा आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ छ ।