१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २३ सोमबार ०९:५८:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

लिम्बू समुदायको झल्को दिने ‘चोरको स्वर’

नाटक समीक्षा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २३ सोमबार ०९:५८:००

पूर्वी पहाडको लिम्बू समुदायमा विवाह, जात्रा पर्व, मेला महोत्सवमा धाननाच देखाउने चलन छ । धाननाच लिम्बू समुदायको मौलिक संस्कृति पनि हो । विषेश गरी, मेला महोत्सवमा साइनो नलाग्ने तन्नेरीहरू(महिला–पुरुष) आपसमा हात समाएर नाच्दै ‘पालाम’ गाउने गर्छन् । धाननाचमा केटा र केटीले हात समातेर ‘पालाम’मार्फत मनको भाव सुनाउने गर्छन् । यही क्रममा एक–अर्कामा मन परापर भएपछि विवाहसमेत हुने गर्छ ।परिवारको सहमतिविनै भगाएर विवाह गरेपछि केटी पक्षले चलनअनुसार ‘चोरको स्वर’ स्वीकारेपछि रीत बुझाउने प्रचलन छ । माइती पक्षले ‘चोरको स्वर’ स्वीकार गरेपछि लिम्बु संस्कार, रितिरिवाजअनुसार विवाह गरिने चलन छ । काठमाडौंमा जारी ‘चोरको स्वर’ नाटक लिम्बू समुदायभित्र यसैगरी भएको भागी विवाहबाट सुरु हुन्छ ।

 नवीन चौहानको लेखन, अनिल सुब्बा र अन्वेष राई थुलुङको निर्देशन रहेको नाटकले लिम्बू समुदायको विवाहसँगै जोडिएका सामाजिक, संस्कृति, ऐतिहासिक महत्व खोतल्ने प्रयास गरेको छ । नाटकमा कसैको छोरीचेली भगाएपछि केटा पक्षले ‘चोरको स्वर’ स्विकारेपछि रीतिथितिअनुसार केटीको घरमा रीत बुझाउँदाको कथा वाचन छ । नाटकको सुरुवात ‘पालाम’को सुमधुरतासँगै च्याब्रुङको धुनबाट सुरु हुन्छ । कथाअनुसार दुई पात्र भीमाहाङ र फुङ्माको भेट गाउँको मेलामा हुन्छ । त्यहीँ आपसमा चिनाजानी हुन्छ । यी दुई पात्र साइनो नलाग्ने भएपछि धान नाच्छन् । बिस्तारै माया बढ्दै जान्छ । अन्ततः विवाह गर्छन् । तर, उनीहरूको कुलको माङ्गेना मिल्दैन । माङ्गेनाको अर्थ शिर उठाउने हो । लिम्बू समुदायमा कसैले शिर झुक्ने काम वा व्यवहार गरे कुखुराको भालेसहित शिर उठाउने प्रचलन छ । नाटकमा भीमाहाङ र फुङ्मा कुखुराको भालेको शिर उठाएर घर भित्रिन्छन् । 

चेम्जोङ गाउँको भान्जा(भिमाहाङ)ले शेर्मा गाउँको चेली (फुङ्मा)लाई भगाउँछन् । चेम्जोङ र शेर्मा गाउँको माङ्गेना (शिर उठाउने संस्कृति) मिल्दैन । चेम्जोङ गाउँ र शेर्मा गाउँ एउटा खोलाले छुट्याएको छ । यी दुई गाउँको रीतिथिति आ–आफ्नै छ ।‘चोरको स्वर’ स्विकारेपछि माइतीलाई ‘रीत’ बुझाउनुपर्छ । नाटकमा चेम्जोङ गाउँका जान्नेमान्नेहरू केटी पक्षको घर(शेर्मा गाउँ)मा रीतपूर्वक विवाहका लागि अनुरोध गर्न पुग्छन् । उता, केटीको घरमा केटीका दाजुभाइ र छरछिमेकी भेला भएका हुन्छन् । शेर्मा गाउँले चेम्जोङ गाउँलाई भन्छ, ‘तपाईं र हाम्रो माङ्गेना नै मिल्दैन ।’ शेर्मा गाउँ अलि बढी मौलिकतावादी छ भने चेम्जोङ आधुनिकतावादी छ । जान्नेमान्नेहरूले सम्झाएपछि छोरी दिन राजी हुन्छन् । विवाहको मिति तोकिन्छ । नाटकमा दुई गाउँको खोलाको पुललाई बिम्बात्मक रूप दिएर लिम्बू समुदायमा विभेद नहुने र लिम्बूको ‘मुन्धुम’ले सबैलाई स्विकार्छ भन्ने कुरा देखाएको छ । साथै, नाटकले लिम्बू समुदायमा रहेको धर्म र संस्कारबीचको द्वन्द्वलाई देखाएको छ । 
.........
बेहुला लिएर जन्ती शेर्मा गाउँ आउँछन् । बन्दुक पड्काउँदै च्याब्रुङ नाच्दै निकै उत्साहका साथ जन्ती आउँछन् । बेहुला पक्षका लोकन्तीलाई बेहुली पक्षका सोल्टी–सोल्टिनीले तोङ्बा खाना दिएर सत्कार गर्छन् । सोल्टी–सोल्टिनीको साइनो केलाउँछन् । विवाहको राति धाननाच हुन्छ । वृद्धवृद्धा र युवायुवती सराबरी भएर नाच्छन् । बेहुली पक्षका सेसेहाङ र कर्णेले लोकन्ती आएका सोल्टिनी ताक्छन् । उनीहरू सोल्टी र सोल्टिनीको साइनो गाँस्दै जान्छन् । रात छिप्पिँदै जान्छ । पालाम गाउँदै जुहारी चल्दै जान्छ । पालाम गाउँदा सवाल–जवाफका क्रममा सेसेहाङ(सोल्टी) र इक्सा(सोल्टिनी)को मायाप्रेम बस्छ । गीतबाटै प्रेम प्रस्ताव राख्छन् । सांकेतिक रूपमा सोल्टिनीले पनि मन पराएको उत्तर दिन्छिन् । सबैजना विवाह रमझममा अलमलिन्छन् । पालाम गाउँदागाउँदै राजी बनाएर सेसेहाङले सोल्टिनी भगाउँछन् । जन्ती आएको सोल्टिनी हराएपछि खैलाबैला हुन्छ । सेसेहाङका दाजुभाइले माफी माग्दै ‘चोरको स्वर’ स्विकारेपछि साम्य हुन्छ । 

धाननाच नाच्दानाच्दै प्रेममा परेर विवाह गर्ने लिम्बू समुदायको चलनलाई नाटकमा मजाले चित्रण गरिएको छ । दर्शकलाई नाटकका यस्ता दृश्यले पूर्वी पहाडको लिम्बू समुदायमै पुगेको अनुभूति गराउँछ ।विवाहको भोलिपल्ट लोकन्तीलाई रक्सी र मासु खुवाई जिस्किँदै विवाह सम्पन्न हुन्छ । बेहुलाबेहुलीलाई फर्काउनुअघि सोल्टी–सोल्टीनीबीच पानी छ्यापाछ्याप गर्छन् । नाटकको यो दृश्यले दर्शकलाई थप रोमाञ्चक बनाउँछ ।

समाज फराकिलो बन्दै, परम्परा साँघुरिँदै
कथाकार नवीन चौहानका अनुसार सञ्चार प्रविधि, सामाजिक सञ्जाल आदिले समाज फराकिलो हुँदै गए पनि परम्परागत जात्रा, मेला तथा उत्सवमा भने साँघुरिँदै गएका छन् । उनी भन्छन्, ‘लिम्बू समाजमा भागी विवाह एउटा संस्कार नै हो । केटा पक्षले ‘चोरको स्वर’ स्वीकार गरेपछि केटी पक्षको जाने चलन छ । त्यो चलन अहिलेको पुस्ता नाटकमा देखाउने प्रयास गरेका छौँ ।’निर्देशकद्वय अनिल लिम्बू र अन्वेष थुलुङ राईले नाटकले स्तरीय, पृथक् र मौलिक स्वाद दिन सफल भएको बताए । नाटकले मण्डला थिएटरमा २० असारसम्म मञ्चन हुँदै छ ।