१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Monday, 07 July, 2025
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ जेठ २३ सोमबार o७:५१:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भुसालमाथि कारबाही अघि बढाइएपछि एमालेमा तरंग

सातै प्रदेशबाट मागियो अनुशासन उल्लंघनकर्ताको सूची छानबिनका लागि प्रदेश अध्यक्षलाई अनुशासन आयोगको पत्राचार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार o७:५१:oo

पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएलगत्तै एमालेको केन्द्रीय अनुशासन आयोग थप सक्रिय भएको छ । अध्यक्ष केपी ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको आरोपमा भुसालमाथि स्पष्टीकरण सोधेर छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै अनुशासन आयोग अनुशासन उल्लंघनकर्ता नेता–कार्यकर्ताको सूची संकलनमा सक्रिय भएको हो । 

आयोगले सातवटै प्रदेश कमिटीका अध्यक्षहरूलाई स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घातको अवस्था र त्यसमा संलग्न नेता–कार्यकर्ताको सूची पठाउन पत्राचार गरेको छ । ‘हामीले आयोगको बैठकबाट सातवटै प्रदेश कमिटीका अध्यक्षहरूलाई चुनावमा अन्तर्घातको स्थिति के छ, जानकारी पठाउन पत्र लेखेका छौँ, तर जवाफ आइसकेको छैन,’ आयोगका अध्यक्ष केशव बडालले नयाँ पत्रिकासँग भने, ‘जवाफ के कसरी कस्तो आउँछ, त्यसपछि हामी छलफलमा बसेर के गर्ने निष्कर्षमा पुग्छौँ ।’ 

आयोगले अर्को बैठक ३१ जेठका लागि बोलाएको छ । आयोगले स्थानीय चुनावसँग जोडिएर अनुशासन उल्लंघनका विषयमा अन्य नेता–कार्यकर्ताका बारेमा अहिलेसम्म औपचारिक उजुरी नपरेकाले पत्राचार गरेरै सूची संकलनमा सक्रियता देखाएको हो । अध्यक्ष बडालले स्थानीय तहको चुनावमा अनुशासन उल्लंघन गर्ने नेता–कार्यकर्ताबारे आफ्नै ढंगले अध्ययन गरिरहेको पनि बताए । ‘अरू नेता–कार्यकर्ताका बारेमा उजुरी परेको छैन, कुनै औपचारिक जानकारी आइसकेको छैन । तर, हामीले सबैतिर आफ्नै ढंगले पनि अध्ययन गरिरहेका छौँ,’ उनले भने । 

भुसालमाथि मात्रै स्पष्टीकरण सोध्न निर्देशन दिएकोमा पार्टीभित्रका उनीनिकट कार्यकर्ता र इतर पार्टीका नेता–कार्यकर्ताले पनि पूर्वाग्रह साँधेको भन्दै सामाजिक सञ्जालबाट आलोचना गरिरहेकै वेला आयोगले चुनावमा भएको अन्तर्घातबारे चासोका साथ सबैतिर पत्राचार गरेको हो । भुसाललाई भने आयोगले चुनावमा अन्तर्घात गरेको नभई पार्टी नीति र निर्णयविपरीत हिमालय टेलिभिजनको अन्तर्वार्तामा अभिव्यक्ति दिएको र अध्यक्ष ओलीको आलोचना गरेको आरोपमा स्पष्टीकरण सोध्न केन्द्रीय कमिटीलाई निर्देशन दिएको छ । 

 अप्ठ्यारो वेला सम्हालिएरअघि बढ्न भट्टराईको आग्रह
भुसालमाथि स्पष्टीकरण सोध्ने आयोगको निर्णय बाहिरिएपछि एमालेसँग जोडिएका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन् । सचिव योगेश भट्टराईले भुसालमाथि अनुशासन आयोगको पछिल्लो कदमलाई संकेत गर्दै अप्ठ्यारो वेलामा सबै सम्हालिएर अगाडि बढ्दा नै पार्टीको हित हुने प्रतिक्रिया जनाएका छन् । ‘अप्ठ्यारो वेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पु¥याउँदैन । फेरि पनि वादेवादे जायते तत्व बोध !’ भट्टराईले भनेका छन् ।

भुसालनिकट एमाले नेता–कार्यकर्ताले पूर्वाग्रह साँधिएको भन्दै महानगरहरूमा मेयरलाई भोट नहाल्ने सबै मतदातालाई स्पष्टीकरण सोध्न चुनौती दिएका छन् । उनीहरूले अन्तर्घातमा मुछिएका, तर आफ्नै समूहका नेताहरूलाई भने बचाउन खोजिएको भन्दै आलोचना गरेका छन् ।  ‘अब पोखराका वडामा पार्टीलाई भोट हाल्ने, तर मेयरमा नहाल्ने, भरतपुरका वडामा भोट हाल्ने तर मेयरमा भोट नहाल्ने, काठमाडौंमा वडामा भोट हाल्ने तर मेयरमा नहाल्नेहरू सबैलाई स्पष्टीकरण सोधौँ । ती सबै भोटर (एमाले समर्थक) पनि ओलीको आलोचक न परे,’ भुसालनिकट एमाले केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जालमा भनेकी छन् ।

भुसालमाथि कारबाहीको संकेत देखिएपछि एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका थुप्रै नेता–कार्यकर्ताले उनको समर्थन र ओलीको विरोधमा प्रतिक्रिया खर्चिएका छन् ।एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘कुरा परको होइन, नजिकैको हो । कुरा पुरानो होइन, ताजा–ताजा हो । कमरेड भुसाल तपाईं महाभारतको भीम बनेर बकासुरको अन्त्य गर्न सक्नुहुन्छ ?’

पराजुलीले अगाडि भनेका छन्, ‘घनश्याम भुसाल, जसले सत्यका आधारमा तथ्यांक र तथ्यसहित सत्यनिष्ठापूर्वक बोल्नुभएको छ । को सही र को गलतका आधारमा आफ्नो दृष्टिकोण राख्नुभएको छ, वस्तुनिष्ठ ढंगले तर ज्ञानेन्द्र राजाका पालामा बनेको शाही आयोगले गणतन्त्रवादी नेताहरूलाई डामेजस्तै ओली आयोगले एक असल नेता डाम्ने समाचार हेर्दा र देख्दा लाग्छ दम्भ, अहंकार, घमण्ड तानाशाही प्रवृत्तिको अन्त्य अझै बाँकी छ, यो लडाइँमा अझै असल कम्युनिस्ट नेता कार्यकर्ता ओली प्रभुको आयोगमा कति डट्नुपर्ने हो ? बिचरा विचारविहीन भएपछि अन्तिम अस्त्र यस्तै–यस्तै ओली आयोगको सहाराबाटै वैशाखी टेक्ने हो, समाप्ति गर्न लाग्ने हो, असल भाव भएका विचार मान्यताहरूलाई ।’

सामाजिक सञ्जालमा सक्रिय एमालेकै कतिपय नेता–कार्यकर्ताले भने एमालेले स्पष्टीकरण सोध्दा एकीकृत समाजवादीले अर्को पार्टीको काममा चिन्ता र चासो जनाउनु अस्वाभाविक भएको प्रतिक्रिया जनाएका छन् । ‘नेकपा एसमा माधव नेपालभन्दा घनश्याम भुसालहरू लोकप्रिय रहेछन्,’ प्रदीप भट्टराईले सामाजिक सञ्जालमा एसका नेता–कार्यकर्ताको भुसाललक्षित टिप्पणीबारे प्रतिक्रिया जनाउँदै भनेका छन् ।