१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा हेलिकोप्टर हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:११:oo

नेपाली सेनाले उडान समयावधि पूरा गरी ग्राउन्डेड रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तान्तरण गरेको छ । 

मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश–१ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष ०७८/७९ बाट सञ्चालन गरेको उक्त तहका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि एनए–०३९ चेतक हेलिकोप्टर र त्यससँग सम्बन्धित ४७ वटा पार्टपुर्जा शुक्रबार हस्तान्तरण गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको एयर वेसमा एक समारोहका बीच सैनिक वायु सेवाका महानिर्देशक पाइलट आशिषनरसिंह राणाले प्रदेश–१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकोप्टर हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ । भारतको बैङ्लोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकोप्टर भारतबाट विसं २०५८ मंसिर २६ गते सहयोगस्वरूप नेपाली सेनालाई उपलब्ध गराएको थियो । 

हाल निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी हेलिकोप्टर ग्राउन्डेड रहेको थियो । मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकोप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्री प्राप्त गरेपश्चात् अध्ययनरत विद्यार्थीको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । 

 भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मर्मत तथा उडानसम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्री हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ। हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुंगेललगायतको सहभागिता थियो ।

ad
ad