१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला समन्वय समिति निर्वाचन : बाँकेमा कांग्रेसको एकल बहुमत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:५९:oo

जिल्ला समन्वय समिति बाँकेको निर्वाचनमा नेपाली कांग्रेसको एकल बहुमत पुग्ने भएको छ । यहाँ आठवटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १६ जना मतदाता छन् । समितिको निर्वाचनमा बहुमत पुर्‍याउन नाै मत आवश्यक पर्छ, तर कांग्रेससँग १२ मत रहेकाले कसैसँग तालमेल गर्नुपर्ने अवस्था नरहेको स्थानीय शासनविज्ञ मीनबहादुर मल्लले बताए । 

कांग्रेसले दुई मेयर, एक उपमेयर, चार अध्यक्ष र पाँच उपाध्यक्ष जितेको छ । उसले नेपालगन्ज उपमहानगरमा मेयर जितेको छ भने कोहलपुरमा मेयर र उपमेयर जितेको छ । राप्तीसोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष जितेको कांग्रेसले खजुरा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । 

नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको जनता समाजवादी पार्टी (जसपा) ले नेपालगन्ज उपमहानगरपालिकामा उपमेयर जितेको छ । माओवादी केन्द्रले खजुरा गाउँपालिकामा अध्यक्ष जितेको छ । एमालेले बाँकेमा कुनै पालिका जित्न सकेन । ‘जिससमा कांग्रेसले जितिसकेको छ । निर्वाचनको प्रक्रिया पुर्‍याएर प्रमुख, उपप्रमुख र सदस्य घोषणा गर्न मात्र बाँकी छ,’ मल्लले भने । 

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने व्यवस्था छ । अघिल्लोपटक जनता समाजवादी पार्टी (जसपा) लाई प्रमुख दिएर नेपाली कांग्रेसले उपप्रमुख लिएको थियो । भागबन्डामा राप्रपाले एउटा सदस्य पाएको थियो । 

जिसस निर्वाचनमा कांग्रेसको एकल बहुमत पुग्ने भएकोले संयोजक, सहसंयोजक र सदस्यका लागि दौडधुप सुरु भएको छ । अघिल्लोपटक उपसंयोजक भइसकेका कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी (कुर्मी) पनि संयोजकको दौडमा छन् । उनका दाजु नरेन्द्रकुमार चौधरी डुडुवा गाउँपालिकाको दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएकाले उनको सम्भावना प्रबल रहेको कांग्रेसका एक नेताले बताए । उनी डुडुवा गाउँपालिका– १ बाट वडासदस्यमा निर्वाचित भएका छन् । 

त्यसैगरी, बैजनाथ गाउँपालिका– ८ बाट निर्वाचित वडासदस्य धीरेन्द्रसिंह ठकुरीले पनि समन्वय समितिको प्रमुख पदमा आकांक्षा देखाएको नेपाली कांग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्माले बताए । ‘अहिलेसम्म प्रमुख पदका लागि दुईजनाको निवेदन प्राप्त भएको छ,’ शर्माले भने । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले १८ जेठभित्र समन्वय समितिमा आकांक्षा राख्ने व्यक्तिको नाम सिफारिस गरी पठाउन जिल्ला कार्यसमितिलाई परिपत्र गरेको उनले जानकारी दिए ।
 

ad
ad