मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन अर्याल काठमाडाैं
२०७९ जेठ १७ मंगलबार ०६:२०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा भएका ५९ हवाई दुर्घटना, जसमा ८२८ ले ज्यान गुमाए

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७९ जेठ १७ मंगलबार ०६:२०:००

सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३४ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटना 

नेपालमा अहिलेसम्म भएका हवाई दुर्घटनामा आठ सय २८ जनाले ज्यान गुमाएका छन् । यात्रुको ज्यान जाने गरी हालसम्म ३४ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । यसबाहेक पनि यात्रु घाइते मात्र हुने गरी थप २५ हवाई दुर्घटना भएका छन् । सबै दुर्घटनामा गरेर चार सय २९ यात्रु घाइते भएका थिए ।

पछिल्लोपटक १५ जेठमा तारा एयरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका सानोसरेमा दुर्घटना हुँदा १९ यात्रुसहित २२ जनाको मृत्यु भएको छ ।नेपालमा हवाई दुर्घटनाको इतिहास साढे सात दशक पुरानो छ । तर, यात्रुको ज्यान नै जाने गरी भने पहिलोपटक ६७ वर्षअघि (३० अगस्ट १९५५ मा) कालिङ्गा एयरको जहाज सिमरामा दुर्घटना भएको थियो । जसमा दुईजनाको मृत्यु र एकजना घाइते भएका थिए । जहाज अवतरणको क्रममा रन–वेबाट चिप्लिने, टायर पड्किने, इन्जिन फेल हुने, आगो निस्कने, ल्यान्डिङ गियर अड्किनेजस्ता साना–ठूला दुर्घटना धेरैपटक भएका छन्, तर मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले अधिकांश हवाई दुर्घटना मौसमका कारण हुने गरेको बताए । त्यसमा पनि पहाडी र हिमाली भेगमा धेरै दुर्घटना हुने गरेको उनको भनाइ छ । ‘नेपालमा हुने धेरै हवाई दुर्घटना मौसमका कारण भइरहेका छन् । यहाँ वायुसेवा कम्पनीहरूले खराब मौसम हुँदाहुँदै पनि उडान गरिरहेका छन्, सचेतना नै अपनाएको पाइएन । नेपालको पहाडी तथा हिमाली भेगमा मौसम पूर्वानुमान नै गर्न नसक्ने अवस्था छ, अटेर गर्नेबित्तिकै समस्या आउँछ,’ अधिकारीले भने । अब भने मौसम पूर्वानुमान विभागले मौसम खराब रहेको फोरकास्ट गर्नेबित्तिकै मौसम नखुल्दासम्म त्यो क्षेत्रको एयरपोर्ट नै बन्द गर्ने तयारी गरेको उनले बताए ।

आठ अन्तर्राष्ट्रिय जहाज दुर्घटना
अहिलेसम्म नेपाली आकाशमा अन्तर्राष्ट्रिय उडानका आठ जहाज दुर्घटनामा परेका छन्, जहाँ तीन सय ७३ यात्रुले ज्यान गुमाए भने तीन सय ८५ जना घाइते भएका थिए । १५ मे १९५६ मा इन्डियन एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो । यस्तै, २४ मार्च १९५८ मा इन्डियन एयरलाइन्सकै जहाज पत्नेभञ्ज्याङमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । 

त्यस्तै, ३१ जुलाई १९९२ थाई एयरवेजको जहाज घ्याङफेदीमा दुर्घटना हुँदा एक सय १३ यात्रुको तथा २८ सेप्टेम्बर १९९२ मै पाकिस्तान एयरलाइन्सको जहाज भट्टेडाँडामा ठोक्किँदा एक सय ६७ जनाले ज्यान गुमाएका थिए । ४ मार्च २०१५ मा टर्किस एयरको वाइडबडी जहाज त्रिभुवन विमानस्थलमा ठूलो दुर्घटना हुनबाट बचेको थियो । त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रनवेभन्दा बाहिर जाँदा दुई सय ३५ यात्रु घाइते भएका थिए । त्यो समय जहाज धावनमार्गमा अड्किँदा तीन दिनसम्म विमानस्थल बन्द गर्नुपरेको थियो । 

आन्तरिक उडानका ३४ जहाज दुर्घटना
५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे । १२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गाे र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । पछिल्लो समय १६ मे २०१८ मा मकालु एयरको जहाज सिमिकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।

क्यानको तथ्यांकअनुसार धेरै वायुसेवा हिमाली र पहाडी भेगमा दुर्घटनाग्रस्त भएको देखिन्छ । लुक्ला, सिमिकोट, जुम्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना भइरहेको क्यानका अधिकारी बताउँछन् । पोखरा–मुस्ताङ उडानमा चारवटा जहाज दुर्घटनामा परेका छन् । निगम, तारा, अग्नि एयरको जहाज पोखरा–मुस्ताङ उडान गर्दा दुर्घटनामा परेका छन् । विभिन्न गन्तव्यको उडानमा सबैभन्दा धेरै हवाई दुर्घटनामा पर्ने निगम, तारा र यतीका जहाज रहेका छन् । निगमका जहाज १४ ठाउँमा दुर्घटनामा परेका छन् भने तारा र यतीका जहाज १३ वटा दुर्घटनमा परेका छन् । यी दुर्घटनामध्ये धेरैमा यात्रुको ज्यान नै गएको छ भने कतिपय दुर्घटनामा यात्रु घाइते मात्र भएका छन् । 

१७ हेलिकोप्टर दुर्घटनामा ८५ यात्रुको मृत्यु
नेपालमा अहिलेसम्म यात्रुको ज्यान जाने गरी १७ वटा हेलिकोप्टर दुर्घटना भएका छन्, जसमा ८५ जनाले ज्यान गुमाए । अरू १३ हेलिकोप्टर दुर्घटनामा यात्रु र चालक घाइते भएको क्यानको तथ्यांक छ । फिस्टेल हेलिकोप्टर आठ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएको देखिन्छ । सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा भिभिआइपी चढेको हेलिकोप्टर लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

वायुसेवा कम्पनीहरूले खराब मौसम हुँदाहुँदै पनि उडान गरिरहेका छन् : प्रदीप अधिकारी, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
नेपालमा हुने धेरै हवाई दुर्घटना मौसमका कारण भइरहेका छन् । यहाँ वायुसेवा कम्पनीहरूले खराब मौसम हुँदाहुँदै पनि उडान गरिरहेका छन्, सचेतना नै अपनाएको पाइएन । नेपालको पहाडी तथा हिमाली भेगमा मौसम पूर्वानुमान नै गर्न नसक्ने अवस्था छ, अटेर गर्नेबित्तिकै समस्या आउँछ । अब भने मौसम पूर्वानुमान विभागले मौसम खराब रहेको फोरकास्ट गर्नेबित्तिकै मौसम नखुल्दासम्म त्यो क्षेत्रको एयरपोर्ट नै बन्द गर्ने तयारी गरेका छौँ । अर्को, एकजना पाइलटको भरमा हेलिकोप्टर उडाउने काम पनि बन्द गर्छौँ । उडानकै क्रममा पाइलटलाई रिँगटा लाग्यो वा हर्टअट्याक भयो भने हेलिकोप्टर क्र्यास हुने अवस्था आउँछ । दुईवटा पाइलट भएमा दुर्घटना कम हुन्छ । सेनाको हेलिकोप्टरमा दुईजना पाइलट हुने हुँदा दुर्घटना एकदमै कम हुन्छ ।