मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
टेकराज थामी काठमाडौं
हदिश खुद्दार जनकपुरधाम
२०७९ जेठ १७ मंगलबार ०६:२७:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मुक्तिनाथ दर्शनमा हिँडेका बाटोमै अस्ताए

२० शव संकलन, एउटा घटनास्थलमै, एक अझै अज्ञात 

Read Time : > 4 मिनेट
२०७९ जेठ १७ मंगलबार ०६:२७:००

पोखरा विमानस्थलको प्रारम्भिक विश्लेषण– जोमसोम पुग्न आठ नटिकल माइल बाँकी छँदा तारा एयरको जहाज ‘राइट टर्न’ हुनुपर्नेमा ‘लेफ्ट टर्न’ भएपछि दुर्घटना 

विमान दुर्घटनामा ज्यान गुमाएका मकरबहादुर तामाङ र सुकुमायाका छोरा हुन्, उत्तम । विमान बेपत्ता भएको दिनदेखि नै उनी माकलबारीस्थित राजन गोलेको घरमा छन् । राजनले नै उनका बुबा–आमालाई तीर्थ लगेका थिए । सोमबार अपराह्न माकलबारीस्थित राजनको घर पुग्दा उत्तम मोटर ग्यारेजनजिकैको कुनामा अडेस लागेर रुँदै थिए । तस्बिर : दीपेन्द्र ढुंगाना

धनुषाको मिथिला नगरपालिका– ११ लोहटा टोलका राजनकुमार गोले बुबा–आमा, काका–काकी र मामा–माइजूसहित मुक्तिनाथ तीर्थाटनमा निस्केका थिए । तर, मुक्तिनाथ दर्शन गर्न नपाई उनीहरू सबै सधैँका लागि अस्ताए । राजनसहित उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएको हो । 

प्रायः काठमाडौं बस्ने उनीहरू स्थानीय तह निर्वाचनमा मतदान गर्न पुख्र्यौली गाउँ लोहटा टोल पुगेका थिए । एकीकृत समाजवादीको मधेस प्रदेश सदस्यसमेत रहेका राजनले चुनावपछि सबै अभिभावकलाई काठमाडौं हुँदै मुक्तिनाथ दर्शनमा लैजाने योजना बनाए । पोखरा उड्नुअघि राजनले लन्डनमा रहेका कान्छो भाइ मनोजलाई फोन गरेर ‘बा–आमालाई तीर्थ गराएर सकुशल घर ल्याउने’ वचन दिएका थिए । मनोजले नै राजनलाई पटक–पटक फोन गरेर बा–आमालाई तीर्थ लैजान भन्दै आएका थिए । शनिबार बिहान काठमाडौंबाट विमानमै पोखरा उत्रिएका उनीहरू दिनभर पोखरामै रमाए । आइतबार बिहान जोमसोमका लागि विमान चढे, तर जोमसोम ओर्लिनै पाएनन् । विमान चढ्नुअघि विमानस्थलमा खिचेको सातैजनाको संयुक्त फोटो नै परिवारका लागि अन्तिम चिनारी बन्यो ।

अभिभावक दुर्घटनामा परेको थाहा पाउनासाथ मनोज लन्डनबाट काठमाडौं आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका– ८ माकलबारीनिवासमा शोकाकुल परिवारका सदस्य सम्हाल्न उनलाई निकै मुस्किल परिरहेको छ । भाउजू दीपा सुवेदी सोमबार बिहानैदेखि अर्धचेत छिन् । १५ वर्षीया भतिजी रिया बोल्न सक्ने अवस्थामा छैनन् । १० वर्षीय भतिजा युदेनको आँसु रोकिएको छैन । तीनैजनाले आइतबारदेखि केही खाएका छैनन् । पहिल्यै मुक्तिनाथ दर्शन गरिसकेकाले दीपा, रिया र युदेन यात्रामा सामेल भएका थिएनन् । 

‘बा–आमालाई तीर्थ लैजान मनोज दाइले नै भन्नुभएको रहेछ । राजन दाइ बा–आमा, काका–काकी र मामा–माइजू लिएर निस्किनुभयो,’ परिवारका सदस्य सुरेश तामाङले भने, ‘पहिल्यै मुक्तिनाथ दर्शन गरेका कारण भाउजू र छोराछोरी गएनन्, जो भाग्यले बाँचे ।’

राजनका मामा–माइजू मकरबहादुर र सुकुमायाका छोरा हुन्, उत्तम । विमान बेपत्ता भएको दिनदेखि नै उनी माकलबारीस्थित राजनको घरमा छन् । तीर्थयात्रामा निस्केका बुबा–आमाको मृत्युले उनको अवस्था पनि नाजुक छ । विमान बेपत्ता भएको खबर आएदेखि निदाउन नसकेका उनी मृत्यु पुष्टि भएपछि भावविह्वल छन् । सोमबार अपराह्न माकलबारीस्थित राजनको घर पुग्दा उत्तम मोटर ग्यारेजनजिकैको कुनामा अडेस लागेर रुँदै थिए । सान्त्वना दिन पुगेका आफन्त उनलाई सम्हाल्ने प्रयासमा थिए । 

‘एकै परिवारका सातजना दुर्घटनामा परे । शोकाकुल परिवारलाई सम्हाल्नसमेत नजिकका आफन्त छैनन् । घटनाले अत्यन्तै पीडा दिएको छ । सोच्नै नसकिने दुःख आइलाग्यो । कसरी सहने, भन्न सकिने अवस्था छैन,’ परिवारका अर्का सदस्य हरिदेव लामाले भने ।

एकै परिवारका सातजना चढेको विमान बेपत्ता भएको खबर पाएपछि नै लोहटा टोल पनि स्तब्ध बन्यो । राजनले मुक्तिनाथ यात्राका लागि विमान चढ्नुअघि गाउँले मित्र सोमप्रसाद शर्मालाई फोन गरेका कारण पनि घटनाबारे गाउँलेले चाँडै थाहा पाएका थिए । सोमबार कोही जीवित नरहेको खबर आएपछि आफन्त र गाउँले झन् विक्षिप्त छन् । 

‘चुनावी थकान मेटाउन श्रीमतीसहित बाहिर घुम्न जाने राजनको योजना थियो । तर, बुबा–आमाले मुक्तिनाथ दर्शन गर्ने इच्छा देखाएपछि राजन ६ जना लिएर गएका थिए,’ सोमप्रसादले भने, ‘यति ठूलो विपत्ति आइलाग्यो ।’ 

विमान बेपत्ता भएको खबर सुनेपछि गाउँले आइतबारदेखि नै राजनको घरमा जम्मा भएका थिए । तैपनि शुभ खबर आउला कि भनेर गरेको आशा निराशामा बदलिएको बताउँछन् वडाध्यक्ष वेदबहादुर कार्की । सबै मृतकका परिवार प्रायः सबै काठमाडौंमै छन् । 

दुर्घटनाको अनुसन्धान गर्न आयोग गठन 
दुर्घटनाबारे अनुसन्धान गर्न वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा गठित आयोगको सदस्यमा क्याप्टेन दीपुराज ज्वारचन, वरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य तथा सदस्यसचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन् ।

पाइलट प्रभाकर जो अन्य पाइलटलाई पनि विमान सेफ्टीबारे सिकाउँथे

तारा एयरका वरिष्ठ पाइलट प्रभाकर घिमिरे हवाई सेफ्टीमा निकै चासो राख्थे । २२ वर्षदेखि उडानसँगै हवाई सेफ्टीमा दत्तचित्त उनी अनुभवका हिसाबले पनि परिपक्व पाइलटमा गनिन्थे । आइतबार उडान भर्नुअघि पनि घिमिरेले जहाजको सेफ्टी जाँच गराएका थिए । त्यसअघि सोही रुटमा समिट एयरले उडान भरिसकेको थियो । बिहानको बाक्लो कुहिरो पनि बिस्तारै हट्दै थियो ।

मौसमले साथ दिनेमा उनीसहित चालक दलका सदस्य ढुक्क थिए । घिमिरेले उड्नुअघि आफूभन्दा अघि गएको समिट एयरका पाइलटसँग सम्पर्क गरेर अपडेट पनि लिएका थिए । सहकर्मी पाइलटहरूलाई हवाई सेफ्टीबारे वेलावेला सचेत गराउने उनी नयाँ पाइलटलाई तालिम नै दिन्थे । प्रभाकर तारा एयरका ‘सेफ्टी डिपार्टमेन्ट डाइरेक्टर’समेत थिए ।

तर, दुर्भाग्य ! हवाई सेफ्टीमा यतिबिघ्न ध्यान दिने पाइलटलाई आफैँले उडान भरेको जहाजले धोका दियो । आफूले बोकेका यात्रुसहित सधैँका लागि अस्ताए । सन् २००५ मा तारा एयरको पाइलट बन्नुअघि उनी नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी टिममा काम गर्थे । सन् १९९७ मा अमेरिका गएका उनी पाइलट कोर्स सकिना साथ नेपाल फर्किएका थिए । पाइलट घिमिरे ‘ए’ डिभिजन लिगका पूर्वखेलाडीसमेत थिए ।

‘दाहिने मोडिनुपर्ने विमान देब्रे लागेपछि दुर्घटना’

२० शवको उद्धार, एउटा घटनास्थलमै, एक यात्रुको अवस्था अझै अज्ञात

तारा एयरको कलसाइन ‘९ एन–एइटी’ विमान उडानका क्रममा दाहिने मोडिनुपर्नेमा देब्रेतिर लागेपछि पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विश्लेषण गरिएको छ । आइतबार बिहान पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको विमान २१ घन्टापछि सोमबार मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटनाग्रस्त हालतमा भेटिएको थियो । 

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले दुर्घटनाबारे भने, ‘जोमसोम विमानस्थल पुग्न आठ नटिकल माइलको दूरी बाँकी छँदा विमान दुर्घटना भएको देखियो । उक्त ठाउँबाट ‘राइट टर्न’ हुनुपर्नेमा ‘लेफ्ट टर्न’ भएर दुर्घटना भएको देखिएको छ । ब्ल्याकबक्स भेटिएपछि थप स्पष्ट भइन्छ ।’ दुर्घटना भएको विमान उक्त ठाउँ पुग्नुभन्दा तीन मिनेटअघि मात्रै समिट एयरको विमान पुगेको र चालक दलका सदस्यले मौसम खराब नभएको सूचना दिएकाले मौसम दुर्घटनाको कारण नभएको पनि उनले बताए । 

विमानमा चालक दलका तीन सदस्यसहित २२ जना रहेकामा २० जनाको शव निकालिएको छ । १० शव काठमाडौं पठाइएको र १० शव घटनास्थलनजिकै संकलन गरेर राखिएको छ । एउटा शव घटनास्थलबाट उद्धार गर्न बाँकी छ भने अर्का एक यात्रुको अवस्था अझै अज्ञात छ । सोमबार रात परेपछि उद्धार स्थगित भएको छ । 

समुद्र सतहबाट करिब चार हजार तीन सय मिटर उचाइमा रहेको दुर्घटनास्थल त्यस क्षेत्रमा यार्सा टिप्न गएका बाग्लुङका विशाल घर्तीले फेला पारेका थिए । आइतबारै विमान दुर्घटनाको सूचना पाए पनि मौसम प्रतिकूलताका कारण रोकिएका विशाल र उनका साथीहरू सोमबार बिहान मात्रै आशंका गरिएको ठाउँतिर लागेका थिए । भिरमा दुर्घटनाग्रस्त विमान देखेपछि उनले स्थानीयलाई जानकारी गराएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा रहेकाहरूलाई सम्पर्क गरेर फोटो–भिडियो मागेको थियो । दुर्घटनास्थल फेला परेको यकिन गरेपछि सेना र प्रहरी उद्धारका लागि पुगेका थिए । ‘सानोसरे क्षेत्रमा यार्सा टिप्न बाग्लुङबाट आएका विशाल घर्ती र उनका साथीहरूले दुर्घटनाग्रस्त जहाजको फोटो र भिडियो सार्वजनिक गरेपछि घटनास्थल पहिचान भएको थियो,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘त्यसपछि हवाई र पैदलमार्गबाट खोजी तथा उद्धार सुरु भएको हो ।’ 

दुर्घटना भएको जहाजमा आगलागी भने भएको छैन । अधिकांश शव पहिचान गर्न सकिने उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए । चालक दलका तीन सदस्य रहेको विमानमा १३ नेपाली यात्रु, चार भारतीय र दुई जर्मन नागरिक थिए । आइतबार बिहान ९:५५ बजे पोखराबाट उडेको उक्त विमान १०:१५ देखि सम्पर्कविहीन भएको थियो ।