Skip This
मतगणना नसकिँदै काठमाडौंमा बालेन र सुनिताको जित सुनिश्चित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १२ बिहीबार o६:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मतगणना नसकिँदै काठमाडौंमा बालेन र सुनिताको जित सुनिश्चित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार o६:३६:oo

काठमाडौं महानगरपालिकाको मतगणना नसकिँदै स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । १५ हजार पाँच सय तीन मतगणना बाँकी रहँदा साहले २० हजार नौ सय ६६ मतको अग्रता कायम राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार बुधबार साँझ ८ बजेसम्ममा साहले ५६ हजार आठ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार नौ सय २४ र एमालेका उम्मेदवार केशव स्थापितले ३५ हजार चार सय ६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । डंगोलले ६३ हजार सात सय ८१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २१ हजार नौ सय ६२ मत प्राप्त गरेका छन् । 

महानगरमा वडा नम्बर १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको विवरणअनुसार एक लाख ७५ हजार एक सय ५३ मतगणना सकिएको छ । खसेकामध्ये ६ हजार नौ सय १२ मत बदर भएका छन् । महानगरमा एक लाख ९० हजार नौ सय ५६ मत खसेको थियो । 

जित निश्चित भएपछि बालेनको प्रतिक्रिया–घोषणापत्रमा भएका कुरा लागू गर्न सकेका दिन विजय उत्सव मनाउँला
महानगरपालिकाको मेयर बन्ने निश्चित भएपछि स्वतन्त्र उम्मेदवार साहले निर्वाचित भएको खुसियालीमा मनाइने विजयी उत्सव सामान्य तवरले मनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले विजय ‍र्‍याली नगर्न अनुरोध गरेका हुन् । उनले ¥यालीका लागि काठमाडौं नआउन र आ–आफ्नो स्थानबाट धन्यवाद ज्ञापन मात्र गर्न अनुरोध गरेका छन् ।

‘जित–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुरा लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला,’ उनले लेखेका छन्, ‘तर, अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’ साहले अबको बाटो सहज नरहेको र आफूहरूको अभियानको वास्तविक परीक्षा अब सुरु हुने बताएका छन् । ‘हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ,’ उनले लेखेका छन् ।