१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ११ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ११ बुधबार १८:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएन : ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ११ बुधबार १८:१९:oo

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । एमाले संसदीय दलको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन् । 

एमाले ठूलो घेराबन्दी र प्रतिकूलताका बिचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै ओलीले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

ओलीको भनाइ उदृत गर्दै भट्टराईले भने, ‘हाम्रा पार्टीका अध्यक्षले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको बारेमा संक्षिप्त विश्लेषण गर्दै धेरै ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा एमालेले जुन परिणाम प्राप्त गरेको छ, त्यो सन्तोषजनक नभए पनि त्यसले एमालेलाई थप सुसंगठित, सुव्यवस्थित, सुविचारित भएर आगामी दिनमा थप निर्वाचनका लागि तयारी गर्नुपर्छ भन्ने निष्कर्ष उहाँ (ओली)ले प्रस्तुत गर्नुभयो ।’

ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको वास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेको भट्टराईले बताए । नीति तथा कार्यक्रम सतही भएको र नीतिमा भन्दा पनि कार्यक्रममा आधारित भएको ओलीले बताएका छन् ।

भट्टराईले भने, ‘हाम्रो सांसदहरूलाई हाम्रो पार्टीको तर्फबाट व्यवस्थित, तर्कयुक्त, विषयवस्तुसम्मत तरिकाले प्रस्तुत हुन उहाँ (ओली)ले आग्रह गर्नुभयो । हाम्रो प्रस्तुतिहरू अध्ययनशील हुनुपर्यो । बौद्धिक हुनुपर्यो । खण्डन तर्कयुक्त हुनुपर्यो । सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम मुलुकको अहिले वास्तविकतालाई सम्बोधन गर्न सक्ने र मुलुकको वास्तविक चित्र प्रस्तुत गर्नेभन्दा पनि ज्यादा सतही भएको र त्यो नीतिमा आधारित भएर भन्दा पनि कार्यक्रममा आधारित जस्तो मात्रै देखियो । नीतिहरू त्यसमा खुलेनन् भन्ने खालको चर्चा उहाँ (ओली)ले नीति र कार्यक्रमको सन्दर्भमा गर्नुभएको थियो ।’

ओलीले अमेरिकी उपविदेशमन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको भन्दै त्यस्तो गर्नु बेठीक भएको बताएको पनि भट्टराईले जानकारी दिए । ओलीको भनाइ उदृत गर्दै भट्टराईले भने, ‘अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणमा केही हाम्रा परराष्ट्र नीतिका स्थापित मूल्यहरू जुन छन् त्यसलाई खण्डित गर्ने प्रकारका व्यवहारहरू भयो। हाम्रो असंलग्न परराष्ट्र नीति छ । हामी जहिले पनि राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौँ । हामी अहस्तक्षेप र कुनै पनि देशको मामिलामा जहिले पनि असंलग्न रहँदै आएको स्थितिमा तिब्बती शरणार्थीहरूको क्याम्पमा पुगेर त्यहाँ उक्साउने काम गरियो र नेपाली भूमिलाई प्रयोग गर्ने काम गरियो । त्यो वास्तवमा बेठीक थियो भन्ने पनि सविस्तार चर्चा गर्नुभयो ।’