
जिल्लाको छायाँनाथ रारा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख विष्णुकुमार भामले मंगलबार दिउँसो आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नगरप्रमुखको पदभार ग्रहण गरेको पाँच दिनमै उनले आफ्नो सम्पूर्ण सम्पत्ति सार्वजनिक गरेका हुन्। उनले आफूसँग १४ तोला सुन, २० तोला चाँदी, बैंक ब्यालेन्स १५ लाख, नगद मौज्दात १६ लाख रहेकाे बताएका छन् । उनले जिल्लाको साबिकको कार्कीबाडा गाविसमा ५१ कित्ता, साबिकै श्रीनगर गाविसमा ५ कित्ता, पिनामा ३ कित्ता र सुर्खेत लाटीकोइलीमा २ कित्ता जग्गा रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार आमाको नाममा भामबाडा गाउँमा ७ कोठे घर, आमाकै नाममा गगमढीमा ८ कोठे घर, श्रीमतीको नाममा गमगढीमै ६ कोठे घर, नेपालगन्जमा तीनतले १६ कोठे घर आमाको नाममै रहेको भामले सार्वजनिक गरेका छन् । जग्गा, घर, सुन,चाँदी, काँसका भाँडाकुँडा र तामाका भाँडा गरी कुल ४ करोड ५५ लाखबराबरको आफ्नो सम्पत्ति रहेको भामले सार्वजनिक गरेका छन् ।
‘मैले सार्वजनिक गरेको सम्पूर्ण विवरण सुरक्षाका साथ राख्नुहोला । पाँच वर्षपछाडि मेरो कार्यकाल सकिँदा योभन्दा बढी सम्पत्ति देखियो भने नगरवासीले मलाई जुनसुकै सजाय दिन सक्नहुन्छ,’ नगरप्रमुख भामले पत्रकार, नागरिक समाज र सर्वसाधारणसामु भने ।
उनले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने भन्दै नगरपालिकाले उपलब्ध गराएको क्वाटरमा नबसेर आफ्नै घरमा बस्ने घोषणा पनि गरेका छन् ।