मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ७ शनिबार ०६:१८:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सौन्दर्य प्रतियोगिताका आयोजकबाट यौन शोषण प्रकरण : मानव बेचबिखन मुद्दामा प्रहरीद्वारा अनुसन्धान सुरु

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ७ शनिबार ०६:१८:००

‘हदम्याद’को बाधा भत्काउन आवाज

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले आफूलाई नियन्त्रणमा लिएर बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी युवतीले न्यायिक लडाइँमा बाधक बन्ने भन्दै ‘हदम्याद’सम्बन्धी कानुनमाथि प्रश्न गरेपछि महिला अधिकारकर्मीले उक्त कानुन भत्काउन आवाज उठाएका छन् । दोषीलाई कारबाही र नाबालक पीडितले १८ वर्ष पुगेको एक वर्षभित्र रिपोर्ट गर्नुपर्ने कानुन परिमार्जनको माग गर्दै शुक्रबार उनीहरूले बालुवाटारमा मार्च गरेका छन् । बलात्कारमा पर्दा आफू १६ वर्षको मात्रै रहेको र घटना आठ वर्षअघिको भएको पीडितले बताएकी छिन् । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीमाथि आठ वर्षअघि आयोजकबाट भएको बलात्कार र यौन शोषण घटनामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अपराधमा अनुसन्धान थालेको छ । पीडितसँगको छलफल तथा महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा प्रहरी मानव बेचबिखन कसुर आकर्षित हुने निष्कर्षमा पुगेको हो । 

जबर्जस्ती करणीसम्बन्धी मुद्दामा हदम्याद नाघेकाले प्रहरीले मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अनुसार प्रमाण संकलन सुरु गरेको छ । अपराध प्रकृतिका आधारमा मानव बेचबिखन तथा ओसारपसार कसुरसमेत आकर्षित हुने र यस्तो कसुरमा उजुरीको हदम्याद नहुने भएकाले सोहीअनुसार प्रहरीले अनुसन्धान अघि बढाएको हो । 

वसन्त कुँवर, एसएसपी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
मानव बेचबिखन कसुर पनि आकर्षित हुन सक्ने देखिन्छ । त्यही अनुसार छलफल र अनुसन्धान अघि बढाएका छौँ ।

अनुसन्धानको जिम्मेवारी पाएको काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयका अधिकारीहरू शुक्रबार पीडितको घरमै गएर घटनाबारे थप विवरण संकलन गरी पीडितसँग छलफल गरेका छन् । ‘पीडित उजुरी दिन तयार हुनुहुन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘जबर्जस्ती करणी मुद्दामा अनुसन्धान हुने सम्भावना न्यून छ, तर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुर आकर्षित हुने निष्कर्ष हाम्रो छ, अब आगामी साताबाट त्यहीअनुसार अनुसन्धान हुन्छ ।’ 

घटनाको विस्तृत अनुसन्धानका लागि काठमाडौं उपत्यकाका प्रहरी कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरकै नेतृत्वमा छानबिन समितिसमेत गठन गरिएको छ । समितिमा एसपी कृष्ण कोइराला, डिएसपीद्वय हरि बस्नेत र कोपिला चुडाल तथा इन्स्पेक्टर सपना खड्का छन् । प्रहरीले महान्यायाधिवक्ता कार्यालयसँग समेत कानुनी पक्षबारे छलफल गरेर मानव बेचबिखन मुद्दामा अनुसन्धान गर्ने तयारी गरेको हो । छानबिन समितिका प्रमुख एसएसपी कुँवरले मानव बेचबिखन मुद्दामा अनुसन्धान गर्नेबारे छलफल अघि बढाइएको पुष्टि गरे । 

पीडित युवतीले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले ‘सक्सेस पार्टी’का नाममा एभरेस्ट होटेलमा बोलाएर आफूलाई बलात्कार गरेको र त्यसपछि नग्न फोटो÷भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिई ६ महिनासम्म यौन शोषण गरेको सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी छिन् । पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेका थिए । सो कार्यक्रम सफल भएको भन्दै पार्टीका लागि होटेलमा बोलाएको र लेमोनेडमा बेहोस हुने औषधि खुवाई होटेलको कोठामा लगेर बलात्कार गरेको पीडितको भनाइ छ । सो घटनापछि आफू अहिलेसम्म मानसिक तनावमा रहेको र आत्महत्या प्रयाससमेत गरेको पीडितले बताएकी छिन् । यो घटनामा आफूलाई अन्य व्यक्तिले सहयोगसमेत नगरेको पीडित युवतीको गुनासो छ । घटनाका वेला पीडित १६ वर्षकी थिइन् । 

मानव बेचबिखन ऐनमा शोषण गर्न बेहोस बनाएको अवस्थामा मानव बेचबिखन हुने उल्लेख छ । ऐनको दफा ४ को उपदफा २ (ख)मा यसको विस्तृत व्याख्या छ । सो दफामा ‘वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्ति दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाकधम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने’कार्य ओसारपासर मानिनेछ भन्ने उल्लेख छ । पीडितले बताएअनुसार यो घटनामा उनलाई बेहोस बनाएर शोषण गरिएको छ । साथै प्रपञ्च मिलाई नाजुक स्थितिको फाइदा लिएको, पद र शक्तिको दुरुपयोग गरेकोसमेत देखिन्छ । सोही दफाअनुसार प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाउन लागेको हो । प्रहरीले पीडित युवतीका अभिभावकसँग समेत शुक्रबार यस विषयमा छलफल गरेको छ । 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मी पनि यस घटनामा मानव बेचबिखनमा अनुसन्धान हुन सक्ने बताउँछन् । त्यसका लागि प्रहरीमा जाहेरी परेपछि थप अनुसन्धान गर्न सजिलो हुने उनको भनाइ छ । 

‘प्रहरीमा उजुरी परेपछि कुन कसुरमा मुद्दा चलाउने हो थाहा हुन्छ । यौन शोषण हो कि, बाआमाको मञ्जुरीबिना नाबालकलाई बन्धक बनाएको हो भने ह्युमेन ट्राफिकिङ केस हुन सक्छ । त्यसैले पहिले अनुसन्धान हुनु जरुरी छ,’ रेग्मीले भने । 

स्रोतका अनुसार पाण्डेबाट अन्य युवतीसमेत त्यसरी पीडित भएको हुन सक्ने सूचना प्रहरीले पाएको छ । उनीहरूले समेत उजुरी गर्नेबारे परामर्श थालेको प्रहरी स्रोत बताउँछ । 
उता पीडितलाई न्याय र आरोपीलाई कारबाहीको माग गरी शुक्रबार सर्वसाधारणले बालुवाटारमा प्रदर्शन गरेका छन् । दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गरी सामाजिक सञ्जालमा समेत अभियान चलाइएको छ । 

दोषीलाई कारबाही गर्न सरकारलाई सभामुखको निर्देशन

सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आठ वर्षअघि आफूमाथि आयोजकले यौनहिंसा गरेको भन्दै सार्वजनिक गरेको घटनालाई छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुखले उक्त घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् । युवतीले सन् २०१४ मा आफू बलात्कृत भएको विषय केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठकमा सांसद गगन थापाले उक्त विषय उठाएपछि सभामुखले भने, ‘माननीय सदस्यहरू माननीय सदस्य (गगन थापा)ले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन गर्दछु,’ उनको भनाइ थियो ।

संसद्मा बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा सांसद थापाले सामाजिक सञ्जालमा आइरहेको यौनहिंसाको त्यस घटनाबारे सभामुखको ध्यानाकर्षण गराएका थिए । लगत्तै सभामुखले सरकारलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन हुन् । 

बैठकमा सांसद थापाले पीडकलाई कारबाही गर्न माग गरेका थिए । ‘हिजो साँझ घर जाँदाखेर श्रीमती र दुई सानासाना छोरीहरू सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडिओ, जसमा आठ वर्षअघि आफूलाई बलात्कार गरेको घटना उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको घटना म सम्झिरहेको छु,’ उनले भनेका थिए, ‘सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ, अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु ।’

त्यस्तै, बैठकमा एमाले सांसद विमला विकले बलात्कारसम्बन्धी कानुनलाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता रहेको बताएकी थिइन् । ‘आज सामाजिक सञ्जालबाट एक नेपाली युवती विभिन्न शारीरिक यौनजन्य हिंसाबाट पीडित भएको कुरा आइरहेको छ । यसमा सरकारको यथाशीघ्र ध्यानाकर्षण होस् । कारबाही गरोस्,’ उनले भनिन्, ‘हामीले बलात्कारसम्बन्धी कानुनलाई पुनः परिमार्जन गर्नुपर्ने, बलात्कारलाई पुनर्परिभाषित गर्नुपर्ने देखिएको छ । हामी सांसद यसप्रति जवाफदेही हुनुपर्छ ।’

संसदमा पीडकलाई कारबाही गर्न माग गर्दै गगन थापाले भने–

हिजो साँझ घर जाँदाखेर श्रीमती र दुई सानासाना छोरीहरू सामाजिक सञ्जालमा आएको एक नौजवान युवतीको एउटा भिडिओ, जसमा आठ वर्षअघि आफूलाई बलात्कार गरेको घटना उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरूको अनुहारमा परेको, मेरो छोरी डराएको घटना म सम्झिरहेको छु, सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ, अनुसन्धानको दायरामा ल्याउन हार्दिक आग्रह गर्न चाहन्छु ।