मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुवास भट्ट नयाँ पत्रिका
२०७९ जेठ ७ शनिबार ०५:५९:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘खेताला कैदी’को जेलमै मृत्यु, वास्तविक कैदी विदेशमा

Read Time : > 4 मिनेट
सुवास भट्ट, नयाँ पत्रिका
२०७९ जेठ ७ शनिबार ०५:५९:००

‘आत्महत्या’ गरेपछि खुल्यो जेलमा ‘खेताला कैदी’को धन्दा 
परिवार भन्छ– हत्या, प्रहरी र कारागार प्रशासनलाई आर्थिक लेनदेनको आशंका  

बुधबार राति रोल्पा कारागारमा एकजना कैदीले आत्महत्या गरे । घटनाबारे परिवारलाई जानकारी गराउँदा आत्महत्या गरिएका भनिएका विजयविक्रम शाह जेलबाट छुटेर विदेश गइसकेको खुलेपछि प्रहरी अधिकारी रनभुल्लमा परे । थप बुझ्दा पत्ता लाग्यो– कारागारमा विजयविक्रम शाहको नाममा अर्कै व्यक्ति बस्दै आएका थिए । शाहले आफू छुटेर ‘खेताला कैदी’का रूपमा बाँकेका सुन्दर हरिजनलाई आफ्नो सट्टा जेलमा राखेका थिए । 

हरिजनले बुधबार जेलभित्र आत्महत्या गरेपछि घटना उजागर भएको हो । आपराधिक लाभ मुद्दामा जेल परेका सुर्खेत बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय शाह दुई वर्षअघि नै जेलमुक्त भइसकेका थिए भने उनको कैद भुक्तानी भने हरिजनले गर्दै आएका थिए । कारागार प्रशासन र प्रहरीकै मिलेमतोमा यस्तो घटना भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन थालेको छ । 

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा हरिजनको शव भेटिएको हो । कारागारमा कैदीको संख्या गन्दा नपुगेको र शौचालयको ढोका लामो समयसम्म बन्द रहेको जानकारी पाएपछि ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । ‘घटनाको हामीले अनुसन्धान अघि बढाएका छौँ,’ जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले भने, ‘बाँकी विषयमा कारागारले छानबिन गरिरहेको छ ।’ 

शाहका नाममा जेल सजाय भुक्तान गरिरहेका हरिजनले आत्महत्या गरेपछि कारागार व्यवस्थापन विभागले शुक्रबार छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा कारागार स्थानान्तरणका क्रममा दुई कैदी एक–अर्काको नाममा बस्न थालेका हुन् । हरिजनलाई थोरै कैद सजाय भएकाले उनको नाममा बसेका शाह भने दुई वर्षअघि नै छुटेका थिए । गृह मन्त्रालयले पाएको सूचनाअनुसार शाह पछि भारत पुगेकामा त्यहाँ पनि अपराध गरेर उनी जेलमै छन् । 

घटनाको विषयमा सत्य–तथ्य पत्ता लगाउन निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरिएको विभागका महानिर्देशक वासुदेव घिमिरेले बाए । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । 

परिवार भन्छ– हत्या, प्रहरी र कारागार प्रशासनलाई आर्थिक लेनदेनको आशंका
हरिजनको कैद सजाय सकिन तीन महिना बाँकी हुँदा रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । जसले घटना योजनाबद्ध देखिन्छ । ८ मंसिर ०७७ मा बाँकेबाट दुवैजनालाई एकैपटक रोल्पा कारागारमा स्थानान्तरण गरिएको थियो । ‘एक महिनापछि छुट्नुपर्नेलाई किन रोल्पा स्थानान्तरण गरियो, रहस्यमय छ । यसमा जेल प्रशासनको मिलेमतो हुन सक्छ,’ स्रोत भन्छ । सरुवालगत्तै बाँकेको कारागार प्रशासन प्रमुख पनि फेरिएका थिए । 

रोल्पा कारागारमा स्थानान्तरण भएपछि शाह र हरिजनको परिचय फेरियो । विजयविक्रम शाह सुन्दर हरिजन भए भने सुन्दर हरिजन विजयविक्रम शाहको पहिचानमा जेलभित्र बसे । यसमा प्रहरी तथा कारागार प्रशासनको मिलेमतोको आशंका गरिएको थियो । रोल्पा गएपछि साह फरार भए भने उनको नाममा हरिजन जेलमा बसिरहे । उनी रोल्पामा जेल बसेको डेढ वर्ष भइसक्यो । 

भाइ रोल्पा स्थानान्तरण भएको कुरा थाहा भए पनि अर्कैको नाममा जेल बसेको थाहा नभएको दाइ राजकुमार बताउँछन् । तर, कारागार प्रहरी स्रोतका अनुसार यसमा आर्थिक लेनदेन छ । यो कुरामा हरिजनको परिवार पनि जानकार छ । 

आइतबार मात्रै भाइलाई ६ हजार रुपैयाँ पठाएको उनी बताउँछन् । राजकुमारले भाइले आत्महत्या गरेको भन्ने कारागार र प्रहरीको दाबी पत्याएका छैनन् । सुन्दर आत्महत्या गर्ने खालको मान्छे नभएको उनी बताउँछन् । ‘मार्नलाई रोल्पा ल्याएका रहेछन्,’ उनी भन्छन्, ‘मारे ।’ रोल्पा कारागारका जेलर प्रदीपकुमार रेग्मी घटनाका समयमा आफू निर्वाचनमा खटिएकाले घटनाबारे विस्तृत जानकारी नभएको बताउँछन् । ‘निर्वाचनमा खटिएर भर्खर फर्केको छु,’ उनले भने, ‘मृतकका आफन्त भेट्न आउँदै हुनुहुन्छ । यो विषयमा मलाई जानकारी छैन ।’

नेपालको कारागार प्रशासनमा ‘खेताला कैदी’को यो नयाँ घटना होइन । ०७२ मा पनि एउटा यस्तै घटना प्रहरीले पत्ता लगायो । लागुऔषध मुद्दामा १० वर्ष जेल सजाय सुनाइएका रावणजित लामा ‘सन्की’लाई प्रहरीले सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ गर्‍यो । उनी ०७२ को भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेको आधारमा प्रहरीले पक्राउ गरेको थियो । तर, कारागारमा बुझ्दा रावणजित नामका कैदी जेलमै भएको विवरण प्रहरीले पायो । थप छानबिन गर्दा खुल्यो– आफ्नो नाममा उनले अर्का खेताला कैदी जेलमा राखेका थिए । डिल्लीबजार कारागारबाट सिन्धुपाल्चोक सरुवा हुँदा उनीहरूले नाम ढाँटेर यस्तो चलखेल गरेका थिए । सो घटनापछि सरुवा हुने कैदीको फोटोसहितको विवरण अर्काे कारागारमा पठाउने निर्णय भए पनि त्यो कार्यान्वयन नहुँदा यस्ता चलखेल अझै भइरहेका छन् । 

भाइलाई फसाइएको हो : सुन्दर हरिजनका दाइ राजकुमार
हामीलाई अदालतको फैसला नै थाहा छैन । अदालतले मागेको धरौटीको विषयमा थाहै छैन, थाहा भएको भए ऋणधन गरेर भए पनि तिर्थेँ । ऊ सानै उमेरमा सानोतिनो मुद्दामा जेल गएको हो । जेल बसेको पनि चार वर्ष भइसक्यो । पहिला कुरा हुन्थ्यो, बोलिरहेकै हुन्थ्यो । अस्ति आइतबार ६ हजार पैसा पठाइदिएको थिएँ । पैसा बुझेको पनि भन्यो । 
भाइ आत्महत्या गर्ने मान्छे नै होइन । कुरा हुन्थ्यो, बोलिरहेकै हुन्थ्यो । मार्नलाई रोल्पा ल्याएका रहेछन्, मारे । 

यथार्थ पत्ता लाग्छ : वासुदेव घिमिरे, महानिर्देशक, कारागार व्यवस्थापन विभाग 
रोल्पाको कारागारमा कैदीको निधन भएको विषयमा छानबिनका लागि समिति गठन गरेका छौँ । विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा पाँचसदस्यीय छानबिन समिति गठन भएको छ । समितिले छानबिन गरेपछि यथार्थ कुरा बाहिर आउला । समितिलाई छानबिन गरेर रिपोर्ट बुझाउन १० दिनको समय दिइएको छ ।

कसरी भयो घटना ? 
शाह र हरिजन एकैचोटि जेल परेका व्यक्ति हुन् । दुवैजना ०७५ मा एकै दिन जेल परेका हुन् । प्रहरी स्रोतका अनुसार शाह आपराधिक लाभ मुद्दामा जेल परेका हुन् भने हरिजन भने चोरीको मुद्दामा जेल परेका थिए । हरिजन फरक–फरक दुई मुद्दामा जेल परेका हुन् । उनी १९ भदौ ०७६ देखि हिरासत हुँदै कारागार पुगेका थिए । जिल्ला अदालतको २१ माघ ०७६ को फैसालाले उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त भइसक्थे ।

पहिलो मुद्दा खेपेलगत्तै उनलाई तीन महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको अर्को मुद्दा चल्यो । १० र ५० हजार रुपैयाँ धरौटी र एउटा मुद्दामा एक वर्ष र अर्कोमा तीन महिना कैदको फैसला तोकेको थियो । उनी ०७६ भदौ १९ देखि हिरासत हुँदै कारागार पुगेका थिए । पहिलो मुद्दाको फैसला २१ माघ ०७६ मा भएको थियो– एक वर्ष कैद र १० हजार जरिवाना हुने गरी । यसअनुसार जरिवाना नतिर्दा पनि उनी २३ असोज ०७७ मा जेलमुक्त हुन्थे । तर, लगत्तै उनमाथि दोस्रो मुद्दा चल्यो । 

१२ फागुन ०७५ को फैसलाबमोजिम उनले तीन महिना कैद र ५० हजार जरिवाना तिर्नुपर्थ्यो । पहिलो मुद्दाबाट निस्केपछि उनलाई २३ असोज ०७७ देखि दोस्रो मुद्दामा राखियो । २३ पुसमा उनको दोस्रो मुद्दाको पनि कैद सजाय भुक्तान भइसक्थ्यो । जरिवाना नतिर्दा पनि उनी १० असार ०७८ मै छुटिसक्थे । तर, चोरी कमजोर मुद्दा हो । यस्ता मुद्दामा ५० प्रतिशत कैद भुक्तानी गरे असल चालचलनका आधारमा बाँकी सजाय छुट पनि हुन्छ ।

तर, जरिवानासमेत गर्दा पनि गत वर्ष नै भुक्तान भइसकेको सजायमा उनी निरन्तर जेलमा थिए । किनकि आफ्नो नाममा नभई उनी शाहको नाममा जेल बसेका थिए । शाहलाई पाँच वर्ष कैद सजाय भएको थियो । शाह भने हरिजन बनेर दुई वर्षअघि नै जेलमुक्त भए । सुन्दरका दाइ राजकुमारका अनुसार भाइलाई तोकिएको जरिवानाबारे परिवारलाई थाहा थिएन । उनी भन्छन्, ‘त्यति जरिवाना छ भन्ने थाहा भएको भए त ऋणधन गरेर भए पनि तिरिहाल्थेँ नि !’