लमजुङ प्रहरीले डाँका चोरी मुद्दामा फरार रहेका एकजनालाई २२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका– १, जिता घर भएका ५१ वर्षीय भूपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
साबिकको पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले डाँका चोरी मुद्दामा पौडेललाई ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २५० रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ । स्थानीय तह निर्वाचनमा गाउँमा आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वय र मध्यनेपाल नगरपालिका–३ मा रहेको प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार गाउँबाटै पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका उनलाई लमजुङ जिल्ला अदालतमा पेस गरिएकोमा जरिवानासमेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवानासमेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले पौडेललाई ९ वर्ष ११ महिना ६ दिन कैद हुने गरी कैद भुक्तानका लागि बिहीबार लमजुङ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए ।