१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ५ बिहीबार २०:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको छु : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ५ बिहीबार २०:०१:००

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै शर्माले आफूले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको दाबी गरेका हुन् । यसअघि सांसदहरूले अघिल्लो सरकारले ल्याएका कार्यक्रमहरू कटौती गरेको आरोप लगाएका थिए ।

मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको १४०० वटा सडकले कुनै पनि परिणाम नदिने भएका कारण हटाएको पनि स्पष्ट पारे । तर, त्यतिबेला टेन्डर भएका सडकलाई भने आफूले नरोकेको उनको भनाइ छ । अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन नभएको भन्ने विषयमा शंका गर्न आवश्यक नभएको शर्माले बताए । ‘अघिल्लो सरकारले ल्याएका १४ सय सडकहरू २४ लाखका थिए । त्यसलाई कार्यन्वयन नगर्ने भनेर राखेको थिएँ । प्रतिस्थापन विधेयक राख्दा त्यो कुरामा समग्रलाई राखेर सबै कटाइयो भनेको जस्तो गरियो,’ उनले भने, 'ती सडक बनेर लाभ दिने र खर्च हुने अवस्थाहरू पनि थिएन । त्यसमा टेन्डर भएर अगाडि बढेका आयोजनालाई रोकिएको छैन । १४ सयमा घटेर आएको भन्दाबाहेक अन्य अघिल्लो सरकारले ल्याएको बजेट नै यो सरकारले कार्यान्वयन गरिरहेको छ । त्यसमा आशंका गर्न आवश्यक छैन । तीनै कुरा लागू भइरहेका छन् । विगत लामो समयदेखिका सरकारले ल्याएका कार्यक्रमहरू धेरै रहेका छन् ।’

अब सरकार, सदन र जनताले एउटै संकल्प गरेर देशको गरिबी अन्त्य गर्न लाग्नुपर्नेमा उनले जोड दिए । शर्माले राजनीतिक दलहरूले विकासलाई राजनीतीकरण नगरी राष्ट्रको हितमा राष्ट्रिय संकल्प गर्नुपर्ने अवस्था आएको बताए । नेपालमा सबै कुराले अनकूलता रहेकाले मुलुकको गरिबी, बेरोजगारीको समस्या छोटो समयमा समाप्त गर्न सकिने उनको भनाइ छ ।