१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o५:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विमानस्थलमा सुन तस्करीमा संगठित समूह सक्रिय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o५:५४:oo

पक्राउ परेकाले खुलाए ‘गोरे’ समूहको संलग्नता 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रूपमा लामो समयदेखि सुन तस्करी हुँदै आएको अनुसन्धानले देखाएको छ । १५ वैशाखमा दुई किलो तीन सय ३२ ग्राम सुनसहित पक्राउ परेकामाथि अनुसन्धान गर्दा उनीहरूले विगतमा पनि तस्करी गरेको पुष्टि भएको हो । 

पक्राउ परेका अभियुक्तले गोरे समूहसँग मिलेर आफूहरूले सुन तस्करी गर्दै आएको लिखित बयानसमेत दिएका छन् । ‘आफूहरू गोरे समूहको कारिन्दा मात्र भएको’ बयान पक्राउ परेका पाँचमध्ये दुई अभियुक्तले दिएका हुन् । तर, विमानस्थलस्थित भन्सार कार्यालयले त्यसतर्फ विस्तृत अनुसन्धान गर्न सकेको छैन । 

विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराई भन्छन्–

पक्राउ परेका व्यक्तिले यसमा संलग्न अन्य व्यक्तिको नाम लिएका छन्, त्यसमा हामीले थप बुझ्ने काम गरिरहेका छौँ, उनीहरूले पहिला पनि त्यसरी सुन तस्करी गरेको बताएका छन् ।

दुबईबाट आएको हिमालय एयरको शौचालयमा रहेको डस्टबिनमा लुकाई सो समूहले सफाइ कर्मचारीमार्फत विमानस्थलबाट सुन तस्करी गराउँदै आएको थियो । त्यसरी तस्करी गरेको आरोपमा विमानमा सफाइको जिम्मा पाएको सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिका तीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । ड्युटी सकेर विमानस्थलभित्रबाट निस्कँदै गर्दा चेकजाँच गर्ने क्रममा भीमकुमार माबो र सुमन तामाङको पर्समा सुन भेटिएको थियो ।

पछि उनीहरूका सुपरभाइजर ताराकान्त चौधरीलाई पनि भन्सार र प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि सोधपुछका क्रममा सुन रिसिभ गर्न पुगेका राजेश राई तथा ट्याक्सीचालक हेमबहादुर थापालाई पनि भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका राईले आफूहरूले अन्य व्यक्तिको निर्देशनमा त्यसरी सुन तस्करी गरेको बयान दिएका छन् । राई विगतमा विमानकै सफाइ कर्मचारी हुन् । पछि उनी जागिर छाडेर सुन ओसारपसारमा सक्रिय भएको खुलेको छ । 

‘पक्राउ परेका व्यक्तिले यसमा संलग्न अन्य व्यक्तिको नाम लिएका छन्,’ विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने, ‘त्यसमा हामीले थप बुझ्ने काम गरिरहेका छौँ, उनीहरूले पहिला पनि त्यसरी सुन तस्करी गरेको बताएका छन् ।’ सफाइ कर्मचारीले भने त्यसबारे केही जानकारी नभएको बताएका छन् । 

स्रोतका अनुसार राई र थापाले विमानस्थलबाट पाँच वर्षसम्म सुन तस्करी गर्ने गिरोहका एक नाइके चूडामणि उप्रेती ‘गोरे’ समूहको नाम लिएका छन् । उनीहरूले गोरेकै एक आफन्तको नामसमेत लिएका छन् । तर, ती व्यक्तिलाई बुझ्ने कामसमेत भन्सारले गर्न सकेको छैन । गोरे हाल सुन तस्करीसँगै जोडिएको हत्या मुद्दामा जेलमा छन् । गोरे र पक्राउ परेका अभियुक्तबीच सम्बन्ध भए–नभएकोबारे बुझ्नेसम्म काम भन्सारले नगर्दा अनुसन्धान फितलो हुने देखिएको छ । 

भन्सार कार्यालयले यो घटनाको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । तर, दुबईबाट कसले सुन ल्याएको थियो भन्नेसमेत पत्ता लगाउन सकेको छैन । दुबईबाट आएका यात्रुले सो सुन विमानको शौचालयमा राखेको बताइएको छ । विमानभित्र सिसिक्यामेरा हुने भए पनि उड्डयन सुरक्षासम्बन्धी बाहेकमा सिसिक्यामेरा फुटेज उपलब्ध नहुने जानकारी पाएपछि त्यसतर्फ नलागिएको भन्सारका एक कर्मचारी बताउँछन् । 

भन्सार कार्यालयले यो घटनाको जिल्ला अदालत काठमाडौंमा मुद्दा दायरको तयारी गरेको छ । एक करोडभन्दा धेरै बिगो भएको घटनामा अदालतको कार्यक्षेत्र पर्छ । यस्तो मुद्दामा भन्सारले आरोपी पक्राउ परेको २५ दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । 

तीन वा सोभन्दा धेरैजना मिलेर गरेको यस्ता अपराधमा संगठित अपराध ऐनसमेत आकर्षित हुन्छ । तर, त्यसतर्फ चासो दिइएको छैन । भन्सार प्रमुख भट्टराई संगठित अपराधमा अनुसन्धान गर्न आफूहरूलाई अधिकार नभएको बताउँछन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रूपमा पटक–पटक सुन तस्करी गरेको घटनामा नाइकेसम्म नपुगी भन्सारले अनुसन्धान टुंग्याउन लागेको छ । 

ad
ad