मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १ आइतबार ०९:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुद्ध एयरले १ जेठदेखि  रात्रिकालीन उडान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १ आइतबार ०९:०७:००

भैरहवालाई हब बनाएर प्रादेशिक उडानको तयारी

बुद्ध एयरले १ जेठदेखि तराईका ६ विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । बुद्धले जनकपुर, नेपालगन्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा राति आठ बजेपछि पनि उडान गर्न लागेको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान हुने तराईका विमानस्थल १८ घण्टा खुला गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले रातमा पनि उडान सुरु गरेका हुन् । नियामक निकाय क्यान स्वीकृत उडानतालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको बुद्ध एयरले जनाएको छ । ‘दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुनेछ,’ बुद्धले विज्ञप्तिमार्फत भनेको छ, ‘रात्रिकालीन उडान बिहान–दिउँसोको तुलनामा सहज, सरल र सस्तो पनि हुनेछ ।’ बुद्धले रात्रिकालीन उडान हुने गन्तव्यहरूमा त्यहाँको प्रदेश र स्थानीय सरकारलाई सार्वजनिक यातायातको सुविधाका लागि अनुरोध गरेको छ । 

यात्रुहरूको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्धले लिएको छ । काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको बुद्धले जनाएको छ ।

नयाँ हब भैरहवा
काठमाडौं र पोखराको विमानस्थललाई हब बनाएर उडान गरिरहेको बुद्धले अर्को हब भैरहवालाई बनाउने भएको छ । बुद्धले पोखरालाई पनि सबै प्रदेशसँग सीधा उडानले जोडिसकेको छ । भैरहवा विमानस्थललाई नयाँ हबका रूपमा सबै प्रदेशबाट जोड्न लागेको बुद्ध एयरले जनाएको छ । बुद्धले भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ । 

निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढीमा  क्रमशः उडान भर्ने योजना बुद्धको छ । उडानसँगै पर्यटकका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजमार्फत होलिडे प्याकेजहरू पनि सञ्चालन गरिरहेको छ ।