१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
सुवास भट्ट काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रशासनदेखि शिक्षण संस्थासम्म आजदेखि सातामा दुई दिन बिदा

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:४o:oo

कार्यालय दिनको ‘वर्किङ आवर’ थपियो

सरकारले आजदेखि सातामा दुई दिन बिदा कार्यान्वयन गरेको छ । अब आइतबार र शनिबार सार्वजनिक बिदा हुनेछ । प्रशासनदेखि शैक्षिक संस्थासम्म अब सातामा पाँच दिन मात्रै खुला हुनेछन् । 

इन्धन खपत कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले परीक्षणका रूपमा आइतबारसमेत सार्वजनिक बिदा थप गरिएको हो । देशव्यापी रूपमा सातामा दुई दिन सार्वजनिक बिदा दिइएको यो पहिलोपटक हो ।

गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले १ जेठ (आज) देखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबमोजिम २६ गते राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक बिदासम्बन्धी व्यवस्थाले औपचारिकता पाएको थियो । यही आधारमा गत २८ गते शिक्षा मन्त्रालयले पनि मन्त्रीस्तरबाट शिक्षण संस्थामा समेत सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । 

बिदा थप गरेसँगै सरकारले प्रशासनमा ‘वर्किङ आवर’ (कार्यघन्टा) बढाएको छ भने शिक्षण संस्थामा शुक्रबारको आधा दिन छुट्टी समय बढाउनुका साथै वार्षिक बिदा कट्टा गरेर पठनपाठन अवधि समायोजन गरेको छ ।

अब प्रशासनमा कार्यालय दिनको समय एक घन्टा थप गरिएको छ । शुक्रबारको ३ बजेपछिको बिदालाई पूरा समय कार्यालय समय कायम गरिएको छ । सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० देखि अपराह्न ५:३० सम्म कार्यालय समय तोकिएको छ । 

लामो बिदाका कारण सेवा प्रवाहमा आइपर्ने जटिलतालाई सहज गर्न महत्वपूर्ण र आधारभूत सेवा प्रदान गर्ने कार्यालयमा लगातार दुई दिनभन्दा बढी बिदा नदिने व्यवस्था सरकारले गरेको छ । तर, यो व्यवस्था दसैँ र तिहारका हकमा भने लागू नहुने भनिएको छ ।

त्यस्तै, शिक्षण संस्थाहरूको हकमा विद्यालयहरूमा साबिकबमोजिम नै बिहान १० देखि अपराह्न ४ बजेसम्म पठनपाठन हुनेछ । शुक्रबार १ बजेसम्मको पठनपाठनलाई अन्य दिनझैँ ४ बजेसम्म कायम गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले निर्दिष्ट गरेबमोजिमको पाठ्यघन्टा (क्रेडिट आवर) र कार्यघन्टा (वर्किङ आवर) नघट्ने गरी पठनपाठनका कार्यहरू सञ्चालन गर्न अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य बिदा कट्टा गरेर पूर्ति गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । यसो गर्दा वर्षभरमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक–पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ । यहीअनुसार वार्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्न मन्त्रालयले विद्यालयहरूलाई भनेको छ । 

शिक्षण संस्थाहरूमा पाठ्यघन्टा (क्रेडिट आवर) र कार्यघन्टा (वर्किङ आवर) नघट्ने गरी पठनपाठन कायम गर्न भनिएको छ । तर, प्रशासनका हकमा भने बिदा थप्ने निर्णय मात्र भएको छ । 

बिदा थप भएसँगै यस वर्ष एक सय ३६ दिन सार्वजनिक बिदा परेको छ । तर, आठ दिनको बिदा खप्टिएकाले राष्ट्रियस्तरको सार्वजनिक बिदा एक सय २८ दिन हुन्छ । अघिल्लो वर्ष ९५ दिन मात्रै सार्वजनिक बिदा थियो । संघ सरकारले निर्णय गरेर तोकेकाबाहेक क्षेत्रीय बिदासमेत जोड्दा यो संख्या झन् बढ्छ । प्रदेश सरकारले आ–आफ्नो प्रदेशको धर्म, संस्कृतिसमेतलाई दृष्टिगत गरी वर्षमा अतिरिक्त ६ दिन बिदा दिन सक्ने व्यवस्था छ । प्रदेश सरकारले लागू गरेका यस्ता बिदा संघीय कार्यालयमा समेत लागू हुन्छ ।

०४८ मा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै सातामा दुई दिन बिदा दिने सिफारिसका आधारमा ०५६ मा काठमाडौं उपत्यकामा सातामा दुई दिन बिदा दिइएको थियो । तर, छोटो समयमै निर्णय खारेज गरिएको थियो ।

यसअघि ८ असोज ०७७ मा पर्यटन मन्त्रालयले गठन गरेको अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा कायम गर्दा आर्थिक रूपले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुनेलगायत सिफारिस गरेको थियो । तर, प्रतिवेदन कार्यान्वयन हुन सकेन ।

ad
ad