१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हेलिकोप्टर चढेर गाउँ पुगे लाङटाङका मतदाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:५९:oo

स्थानीय तह निर्वाचनमा मतदानका लागि पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिक भने हेलिकोप्टर चढेर गाउँ आएका छन् । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किए पनि सडकको पहुँच नपुगेका यस क्षेत्रका नागरिक मतदान गर्न हेलिकोप्टर चढेर गाउँ आएका हुन् । काठमाडौं बस्ने तथा देशबाहिर पुगेका नागरिक मतदानका लागि गाउँ फर्केका हुन् । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुन्डुपलगायत क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी हेलिकोप्टर चढेर भोट हाल्न गाउँ फर्किएका हुन् । 

सडकको पहुँच नपुगेका कारण लाङटाङ क्षेत्रका नागरिक यसअघिका निर्वाचनमा पनि हेलिकोप्टर चढेर गाउँ पुग्ने गरेका थिए । लाङटाङ क्षेत्रका नागरिक निर्वाचनको समयमा गाउँ आउने गरेको लामाले बताए । 

पर्यटकीय क्षेत्र लाङटाङ पुग्न काठमाडौंबाट स्याफ्रुबेँसीसम्म गाडी र स्याफ्रुबेँसीबाट पैदल यात्रापछि मात्र पुगिन्छ । काठमाडौंबाट स्याफ्रुसम्म गाडीमा एक दिन र स्याफ्रुबाट डेढदेखि दुई दिनको पैदल यात्रा गरेर लाङटाङ पुगिन्छ । लाङटाङ ‘ट्रेकिङ टुरिजम’का रूपमा समेत चिनिन्छ । गोसाइँकुण्ड गाउँपालिका– ४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र तोकिएको छ । लाङटाङ क्षेत्रमा तीन सय ६३ जना मतदाता रहेको निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेमशंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीका रूपमा नन्दलाल न्यौपाने खटिएका छन् । निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चारजना कर्मचारी खटाइने प्रावधानअनुसार कर्मचारी खटाइएको बताइएको छ । 

ad
ad